13th April | 2021 | Tuesday | 6:54:56 PM

दाङका ४० वडा कार्यालय भाडाको भवनमा

विवेक खड्का   POSTED ON : पुष २४, २०७७ (२:१८ PM)

दाङका ४० वडा कार्यालय भाडाको भवनमा

दाङ । मुलुकमा स्थानीय तह आएको तेस्रो बर्ष पूरा भएर चौथो बर्षमा प्रवेश गरेको छ । स्थानीय तह आईसकेपछि जनताहरुले सहज सेवा पाउने तथा विकास निर्माणले तीव्रता पाउने अपेक्षा थियो । स्थानीय तह आईसकेपछि विकास निर्माणले पनि गती लिएको अवस्था छ । तर जनताहरुलाई सहज सेवा दिने स्थानीय तहका वडा कार्यालयहरु भाडाको घरमा बसेर सेवा दिन बाध्य छन् । दाङका दश वटा स्थानीय तहका १०० वटा वडा कार्यालय मध्य ४० वटा वडा कार्यालय अझै पनि भाडाको भवनबाट सेवा दिदै आएका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेका १९ वडामध्य ४ वटा वडा भाडाको भवनमा रहेको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो। १२ नं.वडा कार्यालकाका लागि निर्माण भएको भवनमा हाल मेट्रो कलेज सञ्चालनमा आएको छ । हाल मेट्रो कलेजको भवन निर्माणाधिन अवस्थामा रहेकोले निर्माण कार्य पूरा भए आफ्नै भवनमा सर्ने उनको भनाई छ । भाडामा रहेको भवनमध्य अरु २ वटा वडाको भवन यही आर्थिक बर्षमा सम्पन्न हुने गरी काम भईरहेको छ भने १९ नंं. वडाकार्यालयको भवन अर्को आर्थिक बर्षमा सम्पन्न हुने प्रमुख पाण्डेले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिकामा ३ वटा वडा कार्यालय भाडामा छन् । सार्वजनिक जग्गा खोजेर भवन निर्माण गर्ने भएकाले समयमा नै वडाको आफ्नै भवन बन्न नसकेको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । भवन बन्न बाँकी वडा नं. ३, ११ र १३ को भवन निर्माणको लागि ठेक्का प्रक्रिया सुरु भएको चौधरीको भनाई छ ।

गढवा गाउँपालिकाका ६ वटा वडा कार्यालय भाडाको भवनबाट सेवा सञ्चालन गर्दै आएका छन् । भाडामा भएका वडा कार्यालयको भवन निर्माण भईरहेको र यही आर्थिक बर्षमा सम्पन्न गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष सहजराम अहिरले जानकारी दिनुभयो । राजपुर गाउँपालिका ५ वटा वडा कार्यालय भाडाको भवनमा संचालन भएको गाउँपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिनुभयो ।

लमही नगरपालिका ९ वटा वडामध्य ३ आफ्नै भवनबाट सेवा दिएका छन् । भाडामा भएका वडाहरुमध्य ३ भाडामा छन् भने तीनवटा वडाको भवन आउँदो आर्थिक बर्षमा बनाउने तयारी रहेको प्रमुख कुलप्रसाद केसीले जानकारी दिनुभयो । त्यसैगरी राप्ती गाउँपालिका ९ वटा वडा कार्यालय दुईवटा वडा कार्यालय आफ्नै भवनमा छन् भने सात वटा वडा भाडामा रहेका छन् । भाडामा रहेकामध्य वडा नं. ४ र ९ वडा कार्यालय निर्माणको काम अन्तिम चरणमा रहेको प्रमुख नुमानन्द सुवेदीले जानकारी दिनुभयो । अन्य वडाको काम कही जग्गा व्यवस्थापन मिलाउँदा समस्या भयो भने कुनै वडा विकट भएका कारण सामान ढुवानी गर्न समस्या भएकाले वडा कार्यालय समयमा निर्माण हुन नसकेको सुवेदीले वताउनुभयो ।

त्यस्तै बंगलाचुली गाउँपालिका ८ वटा वडा कार्यालयमध्य ७ वटा आफ्नै भवनमा छन् भने १ वटा भाडामा रहेको छ । एउटा वडा कार्यालय भौगोलीक समस्याका कारण बन्न नसकेको गाउँपालिका प्रमुख भक्तबहादुर वलीले वताउनुभयो । एउटा भुगोलमा वडाकार्यालय बनाउँदा अर्को भुगोलको जनतालाई समस्या हुने भएकाले अन्यौलमा छ उहाँले भन्नुभयोे । दंगीशरण गाउँपालिकाको वडा नं. ६ को वडा कार्यालय मात्रै आफ्नै भवनमा छ भने बाँकी वडाहरु भाडामा रहेको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले जानकारी दिनुभयो । अहिले भाडामा भएका वडा कार्यालयको टेण्डर प्रक्रिया भईसकेकाले यही आर्थिक बर्षमा काम सम्पन्न हुने चौधरीले वताउनुभयो । शान्तिनगर गाउँपालिका ७ वटा वडा कार्यालय मध्य ६ वटा आफ्नै भवनमा छन भने वडा नं. ३ को वडा कार्यालय गाउँपालिकाको भवनमा रहेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले वताउनुभयो । बबई गाउँपालिका७ वटा वडा कार्यालय ५ वटा वडा आफ्नै भवनमा छन् भने वडा नं। १, ३ को वडा कार्यालयको काम सम्पन्न भईसकेको छ यही महिनामा वडा कार्यालय सर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिनुभयो ।

भाडाको भवनबाट सेवा दिन समस्या

भाडाको भवनबाट सेवा प्रवाह गर्दा धेरै समस्या हुने गरेको लमही नगरपालिका वडा नं। ७ का अध्यक्ष मोहन गिरीले जानकारी दिनुभयो । कोठा अभावका कारण एउटै कोठामा सचिव र प्राविधिकलाई राखेको गिरीले वताउनुभयो । उनकाअनुसार जग्गा चलानी कम्प्युटर अप्रेटर तथा अन्य कर्मचारीहरुले एउटै कोठामा बसेर काम गर्दै आएको वताउनुभयो । हामीसंग कुनै कार्यक्रम गर्नको लागि हलकोठा छैन, बाहिर कार्यक्रम गर्नको लागि खुल्ला चौर छैन धेरै समस्याको बीचमा काम चलाउनु परेको छ उहाँले भन्नुभयोे । वडाले बार्षिक रुपमा करसहित एकलाख रुपैयाँ कोठाभाडा तिर्ने गरेको उहाँको भनाई छ । त्यस्तै गढवा गाउँपालिका वडा नं। ५ का वडा अध्यक्ष प्रकाश भण्डारीले भाडामा वडा कार्यालय भएका कारण कोरोना कहरको बेलामा सेवा दिन धेरै नै कठिन रहेको वताउनुभयो । कार्यालयमा सेवा लिन आएका सेवाग्राहीको लागि शौचालयको समस्यादेखि कोरोना जोखिमको समयमा मान्छेहरुको भिडभाड भयो भनेर घरमालिकहरु कराउने गरेको वताउनुभयो ।


Views: 90