17th April | 2021 | Saturday | 1:51:40 AM

बगनासकाली गाउँ सरकारद्वारा कृषि व्यवसाय प्रवद्र्धन ऐन पारित

रामचन्द्र रायमाझी   POSTED ON : माघ १, २०७७ (९:१९ PM)

बगनासकाली गाउँ सरकारद्वारा कृषि व्यवसाय प्रवद्र्धन ऐन पारित

पाल्पा ।  पाल्पाको बगनासकाली गाउँ सरकारले कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७७ पारित गरेको छ । गाउँसरकारले आठौं गाउँसभा तथा हिउँदे अधिवेशनबाट कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रस्तुती ऐन पास गरेको हो । प्रस्तावित ऐन दफावार छलफल पछि सभाले पास गरेको  गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश घिमिरेले जानकारी दिनुभयो ।

गाउँसभाले ऐनसँगै छ कार्यविधि, एक निर्देशिका र एक मापदण्ड समेत अनुमोद गरेको छ । सभाले कार्यपालिकाबाट पारित ६ वटा कार्यविधि,एक निर्देशिका र एक मापदण्ड गाउँसभाबाट अनुमोदन गरेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले  बताउनजुभयो । अनुमोदित कार्यविधि अन्तर्गत जलश्रोत उपयोग तथा मुहान दर्ता सम्बन्धी कार्यविधि २०७७, संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि २०७७, शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा कार्यक्रम सञ्चालन कार्यविधि २०७७ रहेका छन् । यस्तैगरी पशु विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७७, कृषि तथा पशुपंक्षी फर्म दर्ता कार्यविधि २०७७ र स्वास्थ्य कार्यक्रम सञ्चालन तथा कार्यान्वयन कार्यविधि २०७७ रहेका छन् । यस्तै कृषि समुह गठन तथा व्यवस्थापन निर्देशिका २०७७ र लैंगिक हिंसा निवारण कोष सञ्चालन मापदण्ड २०७७ गाउँसभाबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार कार्यपालिकाबाट पारित कार्यविधि र पालिकामा आवश्यक ऐनहरू पारित गरिएको हो । घिमिरेले भने ‘पारित भएका ऐन र अनुमोदित कार्यविधि, निर्देशिका, मापदण्डले काम गर्न सहज हुनेछ ।’ सभामा समसामयिक विषयमा छलफल, चालु आर्थिक वर्षमा विभिन्न शाखाबाट भएका कामहरूको संक्षिप्त समीक्षा समेत भएको थियो । सभामा उठेका जिज्ञासाको जवाफ दिदै गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले जनप्रतिनिधिबाट पारित ऐन, कार्यविधि कार्यान्वयनमा कर्मचारीको सहयोग अनिवार्य हुने बताउनुभयो । उहाँले गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिबिच नङ र मासुको जस्तै सम्बन्ध भएको बताउँदै जनताका समस्या समाधान गर्ने पाटोमा केन्द्रीत हुन कर्मचारीलाई आग्रह समेत गर्नुभयो । 


Views: 94