13th April | 2021 | Tuesday | 6:51:58 PM

गुल्मी काँग्रेसद्वारा १२ वटै स्थानीय तहमा विरोधसभा गर्न जिल्लाबाट प्रतिनिधि

रमेश विश्वकर्मा   POSTED ON : माघ २, २०७७ (२:०२ PM)

गुल्मी काँग्रेसद्वारा १२ वटै स्थानीय तहमा विरोधसभा गर्न जिल्लाबाट प्रतिनिधि

गुल्मी । नेपाली काँग्रेस गुल्मीले स्थानीय तहमा विरोध प्रदर्शन सहित विरोध सभा गर्ने भएको छ । नेपाली काँग्रेसको केन्द्रीय परिपत्र अनुसार शनिबार (माघ ३ गते) जिल्लाका १२ वटै स्थानीय तहमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमको विरुद्धमा विरोध प्रदर्शन सहित विरोध सभा गर्न लागिएको सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिनु भयो । उहाँले वर्तमान प्रधानमन्त्री ओलीको सम्पूर्ण ज्यादतीका विरुद्धमा पार्टी केन्द्रीय समितिले आव्हान गरेको विरोध कार्यक्रममा पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु, भातृ तथा शुभेच्छुक संस्थाका सम्पूर्णलाई आ–आफ्नो स्थानीय तहमा सहभागिता हुन् आग्रह गर्नुभयो ।

कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट बजारमा, मालिका गाउँपालिकाको अर्खाबाङ्ग ठूलीचौर बजारमा, इस्मा गाँउपालिकाको दोबाटामा, रेसुंगा नगरपालिकाको सदरमुकाम तम्घासमा, सत्यवती गाँउपालिकाको जोहाङ्ग खैरेनी बजारमा, मुसिकोट नगरपालिकाको वामीटक्सार बजारमा विरोध प्रदर्शन सहित विरोध सभा हुने भएको छ । त्यस्तै छत्रकोट गाँउपालिकाको पल्लीकोटमा, धुर्कोट गाँउपालिकाको बर्बोटमा, चन्द्रकोट गाउँपालिकाको शान्तीपुर बजारमा, गुल्मीदरबार गाउँपालिकाको जुभुङ्गमा, मदाने गाउँपालिकाको पूर्कोटदह बजारमा र रूरूक्षेत्र गाँउपालिकाको बलेटक्सार बजारमा विरोध प्रदर्शन सहित विरोध सभा हुने भएको गुल्मी काँग्रेसले जनाएको छ । 

गुल्मी काँग्रेसले विरोध कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहमा प्रतिनिधि समेत खटाएको सचिव खिलध्वज पन्थीले बताउनु भयो । उहाँले कालीगण्डकी गाउँपालिकामा पार्टीका जिल्ला उपसभापति विष्णुप्रसाद बलाल र मालिका गाउँपालिकामा स्वयम् आफु खटिएको बताउनुभयो । त्यस्तै इस्मा गाँउपालिकामा पार्टी सचिव विष्णु कुमारी सापकोटा, रेसुंगा नगरपालिकामा पार्टीका कोषाध्यक्ष हरि बहादुर केसी, सत्यवती गाँउपालिकामा जिल्ला सहसचिव गोपाल प्रसाद पाण्डेयलाई खटाईएको छ । 

मुसिकोट नगरपालिकामा पार्टीका जिल्ला सदस्य एवम् केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य छन्दबहादुर पहराई, छत्रकोट गाँउपालिकामा पार्टीका जिल्ला सदस्य एवम् नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय उपाध्यक्ष श्रीप्रसाद भलामी, धुर्कोट गाँउपालिकामा महाधिवेशन प्रतिनिधी डा.दामोदर भुसाल, चन्द्रकोट गाउँपालिकामा नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. २ का क्षेत्रीय सभापति भगतसिंह खड्कालाई गुल्मी काँग्रेसले प्रतिनिधिको रुपमा खटाएको छ । त्यस्तै गुल्मीदरबार गाउँपालिका पार्टीका जिल्ला सदस्य अनन्तराम पौडेल, रूरूक्षेत्र गाँउपालिकामा पार्टीका जिल्ला सदस्य थम्मन बहादुर केसी र मदाने गाउँपालिकामा महासमिति सदस्य एवम् शिक्षक संघ गुल्मीका अध्यक्ष प्रेमनारायण भण्डारीलाई प्रतिनिधिको रुपमा खटाईएको छ ।


Views: 101