8th March | 2021 | Monday | 8:57:07 AM

शिक्षा प्रतिकार्य योजना निर्माण सम्बन्धि अभिमुखिकरण

रमेश विश्वकर्मा   POSTED ON : माघ १४, २०७७ (४:२२ PM)

शिक्षा प्रतिकार्य योजना निर्माण सम्बन्धि अभिमुखिकरण

गुल्मी । सिकाई निरन्तरता अभियान प्रबोधिकरण तथा शिक्षा प्रतिकार्य योजना निर्माण सम्बन्धि अभिमुखिकरण गरिएको छ । लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहहरुमा यस्तो अभिमुखिकरण गरिएको हो । युनिसेफ नेपालको आर्थिक सहयोगमा विद्यालय व्यवस्थापन समिति महासंघ, नेपाल शिक्षक महासंघको अगुवाई तथा मानव स्रोत विकास केन्द्र सोनोठिमी, पाठ्यक्रम विकास केन्द्र सानोठिमी र नेपाल शिक्षा समुहको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

यस कार्यक्रमका लागी छनौट भएका नमुना पालिकाहरुमध्ये गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका, कालीगण्डकी गाउँपालिका र धुर्कोट गाउँपालिका तथा अर्घाखाँचीको पाणिनी गाउँपालिका, छत्रदेव गाउँपालिकामा सिकाई निरन्तरता अभियान प्रबोधिकरण तथा शिक्षा प्रतिकार्य योजना निर्माण सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको बताइएको छ ।

स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा शाखा प्रमुख, गाउँ शिक्षा समिति, कार्यपालिका सदस्यहरुलाई अभिमुखिकरण कार्यक्रम मार्फत प्रशिक्षित गरिएको नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष प्रेमनारायण भण्डारीले जानकारी दिनुभयो । उहाँले यस कार्यक्रम अन्तर्गत छनौट भएका प्रत्येक स्थानीय तहहरुलाई म्याचिङफण्डको रुपमा १ लाख सहयोग हुने बताउनु भयो ।

कोभिड–१९ जस्ता महामारीको समयमा वैकल्पिक शिक्षा कसरी प्रदान गर्न सकिन्छ ? भनेर जानकारी गराई शिक्षा प्रतिकार्य योजना निर्माणका लागी स्थानीय तहहरुलाई सहजीकरण गरिदैँ आएको प्रशिक्षक समेत रहेका अध्यक्ष भण्डारीले बताउनु भयो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण बन्दाबन्दीको समयमा लामो समय बिद्यालयमै भौतिक रुपमा उपस्थित भई बिद्यालयमा पठनपाठन सञ्चालन हुन सकेन । यस्तो समयमा वैकल्पिक सिकाई प्रभावकारी हुने भएकाले स्थानीय सरकार, बिद्यार्थी, शिक्षक परिचालन, अभिभावक शिक्षा प्रवर्द्धन जस्ता कार्यक्रमहरुलाई जोड दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा अभ्यास हुँदै आएका ११ वटा वैकल्पिक शिक्षाका विधिहरुलाई प्रयोगका लागी अभिप्रेरित गर्न पनि अभिमुखिकरण गरिएको उहाँले बताउनु भयो ।

विभिन्न प्रकारका वैकल्पिक शिक्षाका विधिहरुलाई अगाडी बढाउन शिक्षा प्रतिकार्य योजना निर्माण गरि शिक्षक, बिद्यार्थी र अभिभावकहरुलाई यसमा संलग्न गराई टेलि सिकाई (सि.यु.जी) को नेट्रोकिङलाई विस्तार गरि कोभिड–१९ जस्ता महामारीको रुपमा पनि सिकाई निरन्तरताका लागी यसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, बालाविकास शिक्षक समेतलाई मनोसामाजिक परामर्श, भर्चुअल ट्रेनिङ सञ्चालन गरिने समेत उहाँले बताउनु भयो ।


Views: 64