5th March | 2021 | Friday | 2:47:23 AM

राष्ट्रिय सडक कि शहरी सडक ! भन्नेमै विवाद भएपछि तानसेनमा सवारी कर उठाउन बन्द

रामचन्द्र रायमाझी   POSTED ON : माघ १४, २०७७ (४:५९ PM)

राष्ट्रिय सडक कि शहरी सडक !  भन्नेमै विवाद भएपछि  तानसेनमा सवारी कर उठाउन बन्द

पाल्पा ।  पाल्पाको तानसेन नगरपालिकाले उठाउदै आएको सवारी कर रोकिएको छ । होलाङ्दी, बसपार्क, अप्पुभिलेज ढुङ्गाखानी सडकमा चल्ने सवारी साधनमा नगर सरकारले उठाउदै आएको कर चौतर्फी विरोधपछि बुधबारदेखि रोकिएको हो । 

अहिले यस सडक राष्ट्रिय सडक कि शहरी सडक भन्नेमै विवाद उत्पन्न भएको छ । नेपाल सरकारको राजपत्रमा प्रकाशित सूचना अनुसार शहरी सडक भनेपछि नगरपालिकाले कर उठाएको थियो तर पछि नेपाल सरकारको निणर्य भन्दै सडक डिभिजन कार्यालयले आफ्नो क्षेत्राधिकारमा पर्ने बताएपछि अहिले यो सडककको क्षेत्राधिकार विवाद बढ्दै गइरहेको छ । शहरी सडकमा स्थानीय सरकारले पूर्वाधार उपयोग कर लिन पाउने भन्दै तानसेन नगरपालिकाले होलाङ्दी, बसपार्क, अप्पुभिलेज ढुंगाखानी सडकमा चल्ने सवारी साधनमा कर उठाएको थियो । तर सडक डिभिजन कार्यालयले भने आफ्नो क्षेत्राधिकार भित्र पर्ने भन्दै नगरपालिका र प्रशासनमा पत्राचार गरेपछि बुधवारदेखि कर संकलन रोकिएको छ ।

 स्थानीय तहले आफ्नो फाइदाको लागि व्यवसायी तथा सवारी धनीहरुलाई मर्का पर्ने गरी पूर्वाधार सडक उपभोग शुल्कको नाममा मनोमानी रुपमा राजमार्ग प्रवेशमा लिइरहेको शुल्क विद्यमान ऐन कानुन विपरीत भएको भन्दै निजी क्षेत्रबाट व्यापक आलोचना समेत हुँदै आएको थियो ।

 सडक डिभिजन कार्यालयले बर्तुङ्ग–होलाङ्दी, बसपार्क,अप्पुभिलेज ढुंगाखानी सडक राष्ट्रिय राजमार्ग (आफ्नो क्षेत्राधिकार भित्र) पर्ने भन्दै नगरपालिका र जिल्ला प्रशासनमा पत्राचार गरेको थियो । सडक डिभिजनको प्राप्त पत्र अनुसार जिल्ला प्रशासन कार्यालय पाल्पाले तानसेन नगरपालिकालाई वर्तुङ्ग–तानसेन, रिडी वामीटक्सार, खर्वाङ्ग राष्ट्रिय राजमार्ग र होलाङ्गदी मोडदेखि धरमपानी हुँदै ढुंगाखानीसम्म सहायक मार्ग भएकाले स्थानीय पूर्वाधार सडक उपभोग शुल्क नउठाउन निर्देशन दिइएको छ । प्रशासनले मंगलबार तानसेन नगरपालिकालाई एक पत्र पठाउदै सार्वजनिक सडक ऐन २०३१ अनुसार राष्ट्रिय र सहायक मार्गको दायाँ सडक भित्र स्थानीय पूर्वाधार सडक उपभोग शुल्क उठाउन नमिल्ने जनाएको छ । सार्वजनिक सडक ऐन २०३१ अनुसारको व्यवस्था अविलम्ब कार्यन्वयन गर्न पत्रमा उल्लेख गरिएको छ । सार्वजनिक सडक ऐन मै राष्ट्रिय र सहायक मार्गको दायाँ सडक भित्र स्थानीय पूर्वाधार सडक उपभोग कर उठाउन नमिल्ने व्यवस्था भएकाले तानसेन सरकारलाई सवारी कर  नउठाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो ‘ कानुनमा उल्लेख भए अनुसार राष्ट्रिय राजमार्ग र सहायक मार्गका सडकहरुबाट स्थानीय सरकारले सवारी कर उठाउन पाउदैनन् ।’ जिल्ला प्रशासनबाट उक्त पत्र प्राप्त भए पछि तानसेन नगर सरकारको मंगलबार बसेको बैंठकले तत्कालका लागि कर नउठाउने निर्णय गरेको छ । कार्यवाहक नगरप्रमुख लक्ष्मीदेवी पाठकको अध्यक्षतामा बसेको बैंठकले तत्कालका लागि कर नउठाउने निणर्य गरेको हो । २०६९ साल भदौ १८ गते प्रकाशित राजपत्रमा नेपाल सरकारले सार्वजनिक सडक ऐन, २०३१ को दफा ३ ले दिएको अधिकारको प्रयोग गरी वर्तुङ्ग, तानसेन, रिडी तम्घास सडकको होलाङ्दी मोडदेखि बसपार्क, गौरीशंकर, अप्पुभिलेज ढुंगाखानी सम्मको बाटोलाई शहरी मार्ग कायम गरेकाले सोही अनुसारको पूर्वाधार कर लिइदै आएको कार्यवाहक प्रमुख पाठकले बताउनुभयो । २०६९ साल भदौ १८ गते को राजपत्रमा वर्तुङ्ग, तानसेन, रिडी तम्घास सडकको बसपार्क, गौरीशंकर, अप्पुभिलेज ढुंगाखानी सम्मको बाटोलाई शहरी राजमार्ग कायम गरेको थियो । तर पछि २०७६÷०२÷०६ को नेपाल सरकारको निणर्यले वर्तुङ्ग, तानसेन, रिडी वामीटक्सार, खर्वाङ्ग सडकको होलाङ्दी मोडदेखि तानसेन बसपार्क सडकलाई राष्ट्रिय राजमार्गको रुपमा कायम गरेपछि अहिले विवाद सिर्जना भएको हो । यस विषयमा अब विवाद बढ्ने र अदालतसम्म जान सक्ने देखिएको नगरपालिकाले जनाएको छ । राजपत्रमा शहरी सडक भनेर प्रकाशित भएकाले सोही अनुसारको स्थानीय पूर्वाधार सडक उपभोग कर लिइएको नगरपालिकाले बताउदै आएको छ भने सडक कार्यालयले भने आफ्नो क्षेत्रअधिकार भित्र रहेकाले स्थानीय सरकारले कर उठान नपाउने बताउँदै आएको छ । 

राष्ट्रिय राजमार्ग वर्तुङ्ग, तानसेन, रिडी वामीटक्सार, खर्वाङ्ग सडक खण्डमै पर्ने भएमा तानसेनका सडक मिचेर बनाएका भौतिक संरचनाहरु नेपाल सरकारको मापदण्ड अनुसार नै भत्काउनुपर्ने हुन्छ । यदि त्यस्तो निणर्य भएमा तानसेनको होलाङ्दी मोडदेखि बसपार्क, गौरीशंकर, अप्पुभिलेज ढुंगाखानी सम्मका सडक आसपासका घरहरु भत्काउनुपर्ने र सडक चौडा पानुपर्ने हुन्छ । यस क्षेत्र होलाङ्दी मोडदेखि बसपार्क, गौरीशंकर, अप्पुभिलेज ढुंगाखानी सम्म शहरी क्षेत्र भएमा तानसेन नगरपालिकाको निणर्य अनुसारको सडक विस्तार हुनेछ ।


Views: 56