17th April | 2021 | Saturday | 10:35:58 PM

ओलीले जनताको सपनामाथि कुठाराघात गरेर श्री ३ बन्ने सपना देखे–प्रचण्ड

सुदीप भण्डारी   POSTED ON : माघ १५, २०७७ (७:२८ PM)

ओलीले जनताको सपनामाथि कुठाराघात गरेर श्री ३ बन्ने सपना देखे–प्रचण्ड

बुटवल । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी ओलीको निरंकुशता चुट्कीको भरमा अन्त हुने दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभा विघटन विरुद्ध विहीबार बुटवलमा भएको विरोध सभामा बोल्दै उहाँले ओली प्रवृतिको अन्त सुरु भइसकेको उल्लेख गर्नुभयो ।

सभामा बोल्दै नेकपाका अध्यक्ष प्रचण्डले ओलीले जनताको सपनामाथि कुठाराघात गरेर लोकतन्त्रको हत्या गरी श्री ३ बन्ने सपना देखेको भन्दै सपना पुरा नहुने उल्लेख गर्नुभयो । ‘अढाइसय वर्ष पुराना शाही राजतन्त्रलाई लात्ताले हिर्काएर, श्रीपेच खोसेर जंगल फर्काउन सकेको छ ।’ प्रचण्डले भन्नुभयो ‘अब केपी ओलीको निरंकुशता चुट्कीको भरमा अन्त हुने छ । केही महिना भित्र केपी ओलीको स्वेच्छाचारीताको अन्त हुने छ।’ आफैले प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाएपनि ओली सामन्ती निरंकशुताको एजेन्ट बनेको टिप्पणी गर्नुभयो । 

सवोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्नेमा आफूले विश्वास गरेको प्रचण्डले बताउनुभयो । घुमौरो भाषामा अदालतले पुनस्थापना नगरे आन्दोलनले पुनस्थापना गर्ने उल्लेख गर्नुभयो । ‘अदालतले संसद पुनस्थापना गर्ने छ । म त्यो विश्वास गर्न चाहान्छु ।’ उहाँले भन्नुभयो ‘तर सबै भन्दा ठूलो अदालत जनताको अदालत हो। तपाईहरुको फैसला हो ।’ पार्टी एकता र बामपन्थी गठबन्धनले देशमा स्थायीत्वको सुरुवात हुने भन्ने लागेको तर तीन वर्ष नवित्दै केपी ओलीले संसद विघटन गरेर जनता माथि कुठाराघात गरेको उहाँको आरोप छ । 

प्रचण्ड पछि बोल्नुभएको सो समुहका अर्का अध्यक्ष माधवकुमार नेपालले इतिहासमा धेरै तानाशाह हुत्तीएको भन्दै अब केपी ओलीलाई पनि हुत्याउने क्रम सुरु भएको बताउनुभयो । उहाँले निर्वाचन आयोगको पछिल्लो निर्णयले नै केपी ओली विरुद्ध आएको टिप्पणी गर्नुभयो । ‘जो इतिहासको विकासको बाधक बन्छ त्यसलाई इतिहासले हुत्याएर फालिदिन्छ । अब केपी ओलीलाई इतिहासले हुत्याउने क्रम सुरु भएको छ ।’ उहाँले भन्नुभयो ‘निर्वाचन आयोगले ४ सय ४१ केन्द्रीय सदस्यलाई मात्र चिन्छौ अरुलाई चिन्दैनौ भनेको छ ।’ नेपालले ४ सय ४१ बहुमतले आफूलाई अध्यक्ष बनाएको बताउनुभयो । उहाँले निर्वाचन आयोगको निर्णयसँगै केपी ओलीले थपेका सदस्यको पनि बेहाल भएको उल्लेख गर्नुभयो । 

कार्यक्रममा नेकपा प्रचण्ड माधब समुहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले केपी ओली कम्युनिष्ट खोल ओढेको राष्टघाति भएको आरोप लगाउनुभयो । नेता वर्षमान पुनले जनयुद्ध र जनआन्दोलनले नै प्रधानमन्त्री बनाएको भन्दै अहिले त्यही जनयुद्ध र जनआन्दोलनलाई अपमान गरेको आरोप लगाउनुभयो । 

नेता घनश्याम भुसालले प्रधानमन्त्री ओली इतिहासका राणा र राजाको प्रेतको रुपमा प्रकट भएको टिप्पणी गर्नुभयो । बुटवलको अस्पताललाईनमा आयोजित सभामा नेताहरु चक्रपाणी खनाल, ओनसरी घर्ति, बामदेब क्षेत्री लगायतका नेताहरुले संसद विघटन गर्ने ओलीको कदमलाई असफल पारेरै छाड्ने बताउनु भयो ।

 विरोध सभा अघि बुटवलको विभिन्न स्थापनबाट र्याली निकालिएको थियो । 


Views: 83