17th April | 2021 | Saturday | 10:51:24 PM

तुलसीपुर–१३ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

विवेक खड्का   POSTED ON : माघ १८, २०७७ (५:४१ PM)

तुलसीपुर–१३ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

दाङ ।  दाङको तुलसीपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बाट उक्त कार्यक्रम सुरु भएको हो । 

कार्यक्रमको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गर्नुभएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ र १४ अकमी जोड्ने सडक स्तरोन्नतीको काम सुरु भएको छ । वडा नं. १३ वाट एकसय २५ जनाको नाम सूचिकृत भएपनि पहिलो दिन ८६ जना काममा आएका छन् । अहिले ८ मिटर रहेको उक्त सडकलाई १२ मिटर बनाउने गरि काम भइरहेको छ । सोही सडक रोल्पाबाट विजौरी हुँदै सिमलसोता जोडने सडक हो । जुन सडक राजमार्ग जोड्ने दाङको बैकल्पिक मार्गका रुपमा लिइएको छ ।

यो संगै अब तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा यो कार्यक्रम सुरु हुने उपमहानगरपालिका प्रमुख पाण्डेले वताउनुभयो । उहाँका अनुसार यस आर्थिक बर्ष २०७७/०७८ मा तुलसीपुुरबाट ५ सय ४ जनाले रोजगारी पाउने भएका छन् । उनीहरुलाई एकसय दिनको रोजगार प्रदान गर्न लागिएको प्रमुख पाण्डेले वताउनुभयो । “यस बर्ष तुलसीपुरमा करिब २२ सयले रोजगारकालागि फाराम भर्नुभएको थियो”, उहाँले भन्नुभयोे “ ति मध्ये न्यून आय भएका, अत्यनत गरीब परिवार छनोट गरेर पाँचसय ४ जना छनोट गरिएको छ ।”उनीहरुलाई एकसय दिन रोजगार प्रदान गरिने तुलसीपुर उपमहानगरपालिकाका रोजगार संयोजक किरण गौतमले वताउनुभयो । उहाँका अनुसार यस पटक उनीहरुको पारिश्रमिक सिधै बैंक खातामा राखिने भएको छ । यस बर्ष संघीय सरकारबाट प्रधानमन्त्री रोजगारकालागि तुलसीपुरमा २ करोड ५२ लाख रुपैँया आएको छ ।


Views: 102