13th April | 2021 | Tuesday | 7:31:25 PM

सवारी कारबाहीमा २६ लाख बढी राजस्व संकलन

रमेश विश्वकर्मा   POSTED ON : माघ २४, २०७७ (९:५५ AM)

सवारी कारबाहीमा २६ लाख बढी राजस्व संकलन

गुल्मी । गुल्मीमा भएको सवारी कारबाहीमा २६ लाख बढी राजस्व संकलन भएको छ । पछिल्लो ६ महिनामा जिल्लामा सवारी कारबाहीबाट २६ लाख २१ हजार पाँच सय राजस्व संकलन भएको हो । ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गरी सवारीसाधन चलाउने विभिन्न सवारीसाधनहरूबाट जरिवानस्वरूप उक्त रकम संकलन गरेको जनाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा तीन हजार ९५० वटा सवारीसाधन कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक जगन्नाथ पाण्डेयले बताउनुभयो । उहाँका अनुसार साउन महिनामा ४५० वटा सवारी कारबाहीबाट दुई लाख ७२ हजार पाँच सय राजस्व संकलन भएको छ । त्यस्तै भदौ महिनामा ४५० वटा सवारी कारबाहीमा दुई लाख ७९ हजार नौ सय राजस्व संकलन भएको छ ।

असोज महिनामा ६ सय सवारी कारबाहीमा चार लाख २३ हजार पाँच सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । त्यस्तै, कात्तिक महिनामा ७५० वटा सवारी कारबाहीमा पाँच लाख १२ हजार, मंसिर महिनामा आठ सय सवारी कारवाहीमा सबै भन्दा धेरै पाँच लाख ७० हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । यस्तै पुस महिनामा नौ सय सवारी कारबाहीमा पाँच लाख ६४ हजार पाँच सय राजस्व संकलन भएको हो ।


Views: 79