17th April | 2021 | Saturday | 11:48:12 PM

तानसेनमा सडकका श्रमिकलाई सम्मान

रामचन्द्र रायमाझी   POSTED ON : माघ २७, २०७७ (६:३६ PM)

तानसेनमा सडकका श्रमिकलाई सम्मान

पाल्पा ।  प्रायःजसो तानसेनका सडकहरुमा हातमा नाम्लो र बोरा लिएर व्यापारीहरुको सामान ओसार–पोसार गर्ने काममै व्यस्त देखिने बगनासकाली गाउँपालिका घोरबन्दका दिपेन कुमाल सोमबार एक औपचारिक कार्यक्रममा देखिनुहुन्थ्यो  । उहाँ कुनै कामका लागि त्यहाँ जानु भएको भने होइन । कुमाल कार्यक्रम भएकै मञ्च अघिको एक कुर्चीमा देखिनुहन्थ्यो । सधैँ नाम्लो नछुट्ने उहाँको टाउकोमा नयाँ ढाका टोपी र गलामा ढाकाकै खादा देखिन्थ्यो । सदाको दिन भन्दा उहाँको अनुहारमा अलि खुसीको बहार देख्न सकिन्थ्यो । उहाँ मात्रा होइन त्यहाँ अन्य ३० जना श्रमिक महिला र पुरुषहरु पनि कुर्चीमा बसेर भाषण सुनिरहेका थिए । दैनिकजसो सडकमा कामको खोजी गर्दै हिड्ने उनीहरु एकाएक विशेष पाउनका रुपमा कार्यक्रममा उपस्थित हुन पाउँदा निकै हर्षित देखिन्थे । सधैँ झुद्रे झाम्रे भएर सडकमा भारी बोकेर हिड्ने श्रमिकहरु एकाएक कार्यक्रमस्थलमा ढाका टोपी, खादामा सजिएको देख्दा विशाल बजारवासीहरु चकित थिए । यो दृष्य हो सोमबार तानसेनको विशाल बजारमा सुशील कोईराला सोसलिष्ट युथ सर्कल पाल्पाले आयोजना गरेको श्रमिक सम्मान कार्यक्रमको ।

सर्कलले पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता स्व.सुशिल कोइरालाको स्मरणमा तानसेनमा ज्याला मजदुरी गर्दै आएका श्रमिक तथा मजदुरहरुलाई सम्मान ग¥यो । पसिना बगाएर परिवार पाल्न सहर पसेका तिनै श्रमिक, मजदुरहरुले गर्दै आएको कामको उच्च सम्मान गर्दै सर्कलले उनीहरुलाई सम्मान गरेको हो । विकास निर्माणका योजना सम्पन्न भएपछि नेता, समन्वयकर्ता र चन्दादातालाई सम्मान गरिने प्रचलन रहे पनि दैनिक मजदुरी गरी जीविकोपार्जन गर्ने श्रमिकहरुलाई कसैले पनि सम्मान नगरेको अवस्थामा सर्कलले भने उनीहरुलाई सम्मान गरेर प्रशंसनिय काम गरेको नेपाली काँग्रेसका जिल्ला सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले बताउनुभयो । उहाँले वर्तमान कम्युनिष्ट सरकारले श्रमिक, मजदुरहरुको पक्षमा कुनै काम गर्न नसकेको धारणा व्यक्त गर्नुभयो । सभापति रानाले गरिब मजदुर, श्रमजीवी पक्षको हितमा काम गर्न नेकपाले दुई तिहाई नजिक मत पाएपनि आफै भागवण्डा, पद सत्ताको लागि मात्र काम गर्दै जनतालाई सडकमै राखेको आरोप लगाउनुभयो । नेपाली काँग्रेसकै नेतृत्वमा बनेको लोकतान्त्रिक संविधानलाई सही बाटोमा ल्याउने काम पनि नेपाली काँग्रेसको भएको सभापती रानाले बताउनुभयो । गरिब निमुखा श्रमजीवीहरुलाई नेपाली काँग्रेसले नै माथि उठाउने, उनीहरुको हकहितको विषयमा काम गर्ने उहाँले बताउनुभयो । रानाले श्रमिकहरुलाई खादा, ढाका टोपी, माक्स तथा खाना खाजाको प्याकेट वितरण गर्नुभएको थियो ।

सुशिल कोइराला मजदुर पृष्ठभूमीबाटै राजनेता भएकाले उनले गरिब, श्रमिक, मजदुरहरुको उत्थानका लागि अगाडि सारेका मुद्दाहरु काँग्रेसले साकार पार्नुपर्ने सर्कलाका जिल्ला सभापति  सर्कलका जिल्ला सभापति युवराज चन्द ठकुरीले बताउनुभयो । सर्कलले श्रमिकहरुलाई सम्मानसँगै एक छाक निःशुल्क भोजन समेत गराएको थियो ।

तस्वीर  : सम्मानित श्रमिकहरुसँग सामुहिक तस्वीर खिचाउदै लुम्बिनी प्रदेशका सांसद विरबहादुर रानासँगै सर्कलका सभापति युवराज चन्द ठकुरी । 


Views: 262