17th April | 2021 | Saturday | 11:53:01 PM

विकासको नाममा लुटपाट मच्चाउँदै स्थानीय तह, अख्तियारमा रहेको मुद्दालाई लत्याउँदै निर्माण कम्पनीलाई भुक्तानी

दीपककुमार शर्मा   POSTED ON : माघ २८, २०७७ (९:४९ AM)

विकासको नाममा लुटपाट मच्चाउँदै स्थानीय तह, अख्तियारमा रहेको मुद्दालाई लत्याउँदै निर्माण कम्पनीलाई भुक्तानी

बर्दिया । करिब दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनबाट आफैँले चुनेका जनप्रतिनिधिले गाउँको विकासमा छलाङ मार्ने अपेक्षा गरिएको थियो तर त्यो अपेक्षालाई जनप्रतिनिधिले आफ्नो फाइदा र कमिसनको खेलमा जनताप्रति उत्तरदायित्वभन्दा पनि कमाउने नीति अवलम्बन गर्दा त्यसको सिकार सर्वसाधारण नागरिक भएका छन् । पछिल्लो पटक यस्ता उदाहरण बर्दियाको बारबर्दिया नगरपालिकामा देखिएको छ । 

वडामा हुने सामान्य विकास निर्माणका लागि गठन गरिने उपभोक्ता समितिमा अन्य वडाका मानिसलाई राखि गरिने विकासले कस्तो संरचना खडा होला आफैँ अनुमान गर्न सकिन्छ, त्यति मात्र होइन नगरपालिकाले निर्माण गरेको कालो पत्रे सडक मर्मतपश्चात् हस्तान्तरण भएको दुई महिना नपुग्दै उप्किन थालेको छ । 

बारबर्दिया नगरपालिका–९ सतखलुवा तालदेखि बैदी आउने चोकसम्म निर्माण गरेको कालोपत्रे निर्माण सम्पन्न भई हस्तान्तरण गरेको दुई महिना नपुग्दै पिच गरेको भाग विभिन्न ठाउँमा उप्किएको छ । स्थानियले बाटो निर्माण गर्दा कमसल सामानको प्रयोग भएको र कालोपत्रे गर्दा अपनाउनुपर्ने सामान्य मापदण्डको पालना पनि नगरेको भन्दै नगरपालिकामा जानकारी गराए पनि कुनै सुनुवाइ नभएपछि अख्तियारमा उजुरी हालिएको थियो । अनुगमनमा आएको अख्तियारको टोलीले कालोपत्रे नगर्दै ग्रावेलमा माटोको अत्यधिक प्रयोग भएको भन्दै तत्कालका लागी काम रोक्न नगरापालिका र निर्माण कम्पनी ब्याक बक कन्स्ट्रक्सन बर्दियालाई आग्रह गरेको थियो । तर, अख्तियारको आग्रहलाई लत्याउँदै निर्माण कार्य सम्पन्न गरिएको कालो पत्रे हाल आएर दुई महिना नपुग्दै उप्किएको स्थानीय ६५ वर्षीय बालकृष्ण चौधरीले बताउनुभयो । 

सगुन मार्ग कालोपत्रे नामकरण गरी निर्माण गरिएको सो बाटोमा अहिले ट्रिपर, ट्रक र वसलगायतका ठूला गाडी चलेका छैनन् अहिले सो मार्गमा अटो, टयाक्टर तथा मोटरसाइकल मात्र सञ्चालनमा छन् । ठूला गाडी चलेको खण्डमा यो कालो पत्रे नरहने स्थानीयको भनाइ छ । अहिले अटो तथा मोटरसाइकलसम्म मात्र संचालनमा रहेका बेला त यस्तो हालत छ भने ठूला गाडी चलेको खण्डमा के हुने हो यसै भन्न नसकिने स्थानीयको गुनासो छ । 

एक करोड ९३ लाख ९९ हजार ९९९ रुपैयाँको लागत रहेको सो कालो पत्रे निर्माण कार्यमा कमसल सामान प्रयोग गरिएको आरोप स्थानीयले लगाउँदै आएका छन् । उनीहरूले पटक–पटक सम्बन्धित ठेकेदार तथा नगरपालिकालाई आग्रह गर्दा पनि बेवास्ता गर्नु विकासको नाममा कमाउने धन्दामा लागेको प्रष्ट देखिएको बताएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दियाको बैदी चोकदेखि साढे तीन किलो मिटर उत्तरतर्फ रहेको सतखलुवा सिमसार तालसम्म रहेको बाटोमध्ये हाल सिमसारको भवनको गेटदेखि दक्षिणतर्फ १६ सय ६० मिटर कालोपत्रे गरिएको स्थानमा कमसल सामान प्रयोग गरी निर्माण गरिएका कारण अहिले कालोपत्रे आफैँ उक्किन थालेको हो । 

जनप्रतिनिधिको यस्तो हर्कतले सास्ती भोगेका स्थानीय नागरिकलाई अहिले आफ्नै घर अगाडिको बाटो देख्दा लोकतान्त्रिक गणतन्त्रको खिल्ली उडिरहेको महसुस गरिरहेका छन् । 

विषय यत्तिकैमा सीमित रहँदैन अन्य टोलका मानिसलाई सो गाउँको उपभोक्ता समिति गठन गरी आफूअनुकूल काम गर्न लगाउने र त्यसबाट आएको कमिसनले बारबर्दियाका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनियरको गोजी भर्ने काम भैरहेको स्थानीयहरूले बताएका छन् । गलत भएको छ भन्दा उल्टै आफूहरूलाई धम्की दिने गरेको स्थानीय सुरेस आचार्यले बताउनुभयो । 

यता, बारबर्दिया नगरपालिकाले आफ्नै स्रोत साधनबाट निर्माण गरेका विकास निर्माणका अधिकाँस कार्य गुणस्तरहीन भएको देखिएको छ । नगरपालिकाले हालसम्म तीन वटा स्थानमा कालोपत्रे निर्माण कार्य सम्पन्न गरेको छ । जसअन्तर्गत शहीद मार्ग जयनगरमा ६ सय मिटर, औरीको शहीद मार्ग ९५४ मिटर र सगुन मार्गमा १६ सय १५ मिटर बाटोमा कालो पत्रे गरिएको हो । यीमध्ये नगरपालिकाको कार्यालय अगाडि रहेको शहीद मार्ग होस् वा अन्य कुनै मार्गमा गरिएको कालोपत्रे गुणस्तरीय बन्न सकिरहेको छैन । ग्रावेल गर्दा नै माटोको अध्यधिक प्रयोग गरिएका कारण निर्माण गरिएका सबै कालोपत्रे अहिले हेर्न लाएक छैनन् । 

सगुन मार्गमा निर्माण गरिएको १६ सय १५ मिटर लम्बाइ रहेको कालो पत्रे निर्माण कार्यमा गुणस्तरीय नभएको तथा कालो पत्रे गरिएको बाटो विभिन्न स्थानमा उप्किएका कारण कालो पत्रे गर्ने जिम्मा पाएको ब्याक बक कन्स्ट्रक्सन बर्दियालाई भने बारबर्दिया नगरपालिकाले भुक्तानी गरिसकेको छ । जन गुनासो व्यापक बढेपछि र अख्तियारले पुन ताकेता गरेपछि नगरपालिकाले बाध्य भएर कालोपत्रे निर्माण कम्पनी ब्याक बक कन्स्ट्रक्सनलाई गएको मंसिर महिनामा पत्रकाटी कालोपत्रे उप्किएको स्थानमा पुनः निर्माण गर्न माग गरेको बारबर्दिया नगरपालिकाका योजना शाखाका अधिकृत गोविन्द पुरीले बताउनुभयो । 


Views: 172