17th April | 2021 | Saturday | 11:16:00 PM

आर्थिक अभावमा १२ वर्षदेखि साङ्लोमा बाँधिएका छन् फूलराम

दीपककुमार शर्मा   POSTED ON : फाल्गुन ३, २०७७ (९:२९ AM)

आर्थिक अभावमा १२ वर्षदेखि साङ्लोमा बाँधिएका छन् फूलराम

बर्दिया । दिनरात हजारौं सवारीसाधनहरूको ओहोरदोहोर हुने पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दियाको बासगढी नगरपालिकाको कार्यालयदेखि करिब तीन किलोमिटरको दूरीमा ७७ वर्षीय आइतबारी थारूको घर रहेको छ । त्यो घरको गोठमा गाईभैँसीसँगै एकजना ४१ वर्षीय पुरुष पनि साङ्लोले बाँधिएको अवस्थामा छन् । अहिलेको २१ शताब्दीको युगमा पनि यो कुरा पत्याउन कठिन हुन्छ तर वास्तविकता हो बासगढी नगरपालिका–४ सनखरिया गाउँमा आइतबारी थारूको दैनिकी आफ्नो कान्छो छोरालाई साङ्लोले बाँधिएको अनुहार हेर्दैमा बित्ने गर्दछ । घरसँगै जोडिएको गोठमा दक्षिणतर्फ काठले सामान्य बार लगाइएको छ भने उत्तरतर्फ माटोको पर्खाल छ । पूर्व र पश्चिम भाग खुल्ला रहेको छ । त्यही गोठमा भँसीसँगै साङ्लोले खुट्टा बाँधिएको अवस्थामा फूलराम थारू हुनुहुन्छ ।  

हेर्दा भर्खरको जस्तो देखिने फूलराम थारूलाई साङ्लोले बाँध्नुपर्ने बाध्यता रहेको बुबा आइतवारी बताउनुहुन्छ । खुल्ला राख्न सकिँदैन मानिसहरूलाई लखेट्ने र पिट्न जाने गरेका कारण यसरी बाध्य भएर गोठमा बाँधेर राख्नुपरेको उहाँको भनाइ छ । आफ्नो सन्तानलाई यसरी बाँधेर राख्न रहर नभए पनि आफ्नो बाध्यता भएको उहाँको दुःखेसो छ । 

२० वर्ष उमेरको हाराहारीमा विवाह गर्नुभएका फूलरामलाई केही समयपछि यस्तो समस्या देखिएको थियो । ‘गाउँमै भूतप्रेत लागेको होला भनेर झारफुक गरियो तर सञ्चो भएन, नजिकै स्वास्थ्य चौकीमा लगिएको थियो, त्यहाँबाट पनि ठीक भएन । अस्पताल लान खोजिएको हो, आर्थिक अवस्था कमजोर हुँदा लान सकिएको छैन’ बुबा आइतवारी भन्नुहुन्छ । 

खुल्ला गोठमा गाईवस्तुसँगै बाँधिनुभएका फूलराम चिसो, गर्मी, वर्षा जे भए पनि सहँदै आउनुभएको छ । ‘साङ्लोले बाँधिएको स्थानमै दिसा–पिसाब गनुपर्ने बाँध्यता छ । हातका नङ पनि लामा भएका छन्, कपाल र दारी झयाम्म आएको छ, नजिक जान समस्या छ’ आमा पार्वती थारू गुनासो गर्नुहुन्छ । आइतवारी थारूका सात छोरी र दुईवटा छोरा छन् यस्तो अवस्थामा रहेका उहाँका कान्छा छोरा हुन् । यस घरमा अहिलेसम्म नगरप्रमुख शालिकराम अधिकारीको नजर पर्न सकेको छैन, त्यसो त उपप्रमुख सुुष्मा चौधरीको पनि नजर परेको छैन । अन्य जनप्रतिधिहरूको त झन कुरै छोडौं । नगर प्रमुख शालिकराम अधिकारीले आफूलाई सो विषयमा थाहा नभएको र आफूकहाँ सो समस्या कसैले पनि नल्याएको हँुदा आफू यस विषयमा अनभिज्ञ रहेको प्रतिक्रिया दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले मानसिक समस्या देखिएका यस्ता व्यक्तिलाई साङ्लोले बाँधेर राख्नुभन्दा स्थानीय प्रशासन र नगरपालिकाले उपचारका लागि पहल गर्न सक्ने बताउनुभयो । यता, नगरपालिकाको कार्यालय नजिकै रहेको आइतबारीको घरसम्म पुग्न नसकेको स्थानीय सरकारले केही गर्ला भन्ने आशा थारूको छैन । आर्थिक अवस्था कमजोर भएका कारण राम्रोसँग उपचार गराउन नसकेका आइतबारीले आशा भने अझै मार्नुभएको छैन । कसैले सहयोग गरिदिएमा आफू मर्ने बेलामा छोरो ठीक भएको हेर्ने चाहना रहेको वृद्ध दम्पतीको आशा छ ।


Views: 124