17th April | 2021 | Saturday | 10:17:55 PM

बैशाखमा चुनाव असम्भव, सत्ता लम्ब्याउने प्रधानमन्त्रीको कुटिल चाल : महामन्त्री कोइराला

विवेक खड्का   POSTED ON : फाल्गुन ३, २०७७ (५:२८ PM)

बैशाखमा चुनाव असम्भव, सत्ता लम्ब्याउने प्रधानमन्त्रीको कुटिल चाल : महामन्त्री कोइराला

दाङ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वैशाख १७ र २७ गते निर्वाचन ‘असम्भव’ रहेको बताउनुभएको छ ।

चुनाव  हुन्छ कि भन्ने सम्भावना कांग्रेसका कोहि कसैले पनि गर्न नहुने उहाको भनाई छ । संसद बिघटनको बिरोधमा कांग्रेस दाङले सोमबार घोराहीमा गरेको बिरोधसभालाई सम्बोधन गर्दै कोइराला भन्नुभयो ‘वैशाखमा चुनाव हुन्न, यसमा सबै ढुक्क भए हुन्छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्री पद लम्ब्याउनका लागि चुनावको कुटिल चाल चलेको भन्दै कोइरालाले यसमा अरु कुनै सत्यता नभएको बताउनु भयो  ।

‘प्रधानमन्त्रीले आफ्नो पद लम्ब्याउनका लागि चुनावको मिति नाटकीय शैलीमा घोषणा गरेका हुन्,’ कोइरालाले भन्नुभयो ‘चुनाव चिन्हमा देखिएको नेकपाको बिबादले पनि चुनाव तत्कालै हुने सम्भावना छैन ।’ नेकपाको माधव कुमार नेपाल र पुष्पकमल दाहालले सूर्य चिन्ह प्राप्त गरेको खण्डमा प्रधानमन्त्री ओलीले मुद्धा हाल्ने र यो प्रकृया लम्बिने उहाको भनाई छ ।

बैशाखमा निर्वाचन सम्भवै नरहेको बताउनुुभएका कोइरालाले संसद पुनरस्थापना मात्रै कांग्रेसको एकल अजेण्डा रहेको बताउनु भयो। संविधानको हत्या गर्नेगरि प्रधानमन्त्रीले बिघटन गरेको संसदको पुनरस्थापना भए मात्रै संविधानको अस्तित्व जोगिने भन्दै उहाले भन्नुभयो ‘आज कांग्रेस सडकमा छ, संविधानको रक्षाका लागि ।’ यसैगरि उले कांग्रेस संसद पुनरस्थापनाका सवालमा एकल रुपमा आन्दोलनमा रहेको भन्दै यो मुद्धामा कसैसंग पनि सहकार्य नगर्ने बताउनुभयो ।

‘कांग्रेस बिचार र सिद्धान्तमा अरु पार्टी भन्दा उँचो पार्टी हो,यसर्थ कांग्रेसले जनहितका पक्षमा आँफै सहि निर्णय गरेर अघि बढ्छ,’ उहाँले भन्नुभयो ‘कोहिकसै संग सहकार्य गरेर कांग्रेस अगाडी बढ्नु जरुरी छैन, र सहकार्य गर्दैन पनि ।’ उहाले वर्तमान सरकार अहिले सम्म निरिह बनेको भन्दै वर्तमान सरकारबाट समृद्धिको आश गर्नु दिवास्वप्न हुने समेत बताउनुभयो । साथै उहाँले मुलुकको हितका निम्ति कांग्रेसलाई माथि उकास्नु पर्ने बताउनु भयो ।



Views: 120