17th April | 2021 | Saturday | 11:28:29 PM

कम्युनिष्ट कार्यकतालाई कांग्रेस नेता भण्डारीको आग्रह–नेताले सर्प पाल्न थाले, सरकार चलेन कम्युनिष्ट रसिद छोड्नुहोस्

रमेश विश्वकर्मा   POSTED ON : फाल्गुन ३, २०७७ (६:५९ PM)

कम्युनिष्ट कार्यकतालाई कांग्रेस नेता भण्डारीको आग्रह–नेताले सर्प पाल्न थाले, सरकार चलेन कम्युनिष्ट रसिद छोड्नुहोस्

गुल्मी । नेपाली काँग्रेसका केन्दीय सदस्य डा.चन्द्र भण्डारीले कम्युनिष्टको रसिद छोड्न आग्रह गर्नुभएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक संसद विघटन विरुद्ध नेपाली काँग्रेस गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको विरोध प्रदर्शन सभालाई सम्बोधन गर्दै नेता भण्डारीले कांग्रेस कमजोर हुँदा हरेक नेपाली कमजोर हुने भन्दै कम्युनिष्टको रसिद च्यात्न आग्रह गर्नुभयो ।

नेता भण्डारीले कम्युनिस्टहरू समाज, संस्कृति र विकास विरोध भएको आरोप लगाउँदै भन्नुभयो,‘हाम्रो देश संस्कृतिले भरिपूर्ण मूलुक हो । तर कम्युनिस्टहरु विकास, सस्कृति र समाज विरोधि भए ।’ नेता भण्डारीले काँग्रेसको नेतृत्वमा बनेको संविधान रक्षाका लागि आफुहरु सक्षम रहेको बताउनुभयो । संविधानको रक्षाका लागि काँग्रेस नेतृत्वमा जानु आवश्यक रहेको उल्लेख गर्नुभयो । संसद विघटन गरि प्रधानमन्त्रीले जनताको अभिमतको अपमान गरेको आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘जनाताले कम्युनिष्टको सरकार पाए । तर कोरोनासँग जुद्धा आईशोलेशन, भेन्टीलेटर पाएनन् । कृषकले मल र बीउ पाएनन् ।’ 

नेतृत्वमा रहेका कम्युनिस्ट नेताले कार्यकर्ताहरुलाई सर्प जसरी पालेको आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘तिम्रा नेताले सर्प पाल्न थाले । सरकार चलेन, समाज चलेन । द्वन्द्व मात्र भयो ।’ नेकपाका शिर्ष नेताहरुको पछिल्लो एक अर्काप्रतिको आरोप–प्रत्यारोपप्रति लक्ष्यित गर्दै नेता भण्डारीले शब्द पनि नभएका नेतालाई दिएको भोट फिर्ता लिन आग्रह गर्नुभयो ।

भण्डारीले अब संविधानको रक्षा र मूलुकको सम्वृद्धि काँग्रेसबाट मात्र सम्भव भएको दाबी गर्नुभयो । उहाँले कम्युनिष्ट नेताहरु अहिले मूर्ख घोडामा चडेकाले त्यो घोडाबाट तल झर्न आग्रह गर्नुभयो । नेता भण्डारीले प्रतिकारात्मक रुपमा उदाहरण प्रस्तुत गर्दै भन्नुभयो, ‘हाम्रो जिल्ला जस्तो छ । देशको अवस्था पनि त्यस्तै छ ।’ 

गुल्मी जिल्लाले चार वटा मन्त्री पाउँदा पनि एउटा सडक बन्न नसकेको आरोप लगाउनुभयो । सिद्धबाबाको सडकबाट बर्षेनी भइरहेको सडक दुर्घटनाप्रति लक्षित गर्दै भन्नुभयो, ‘ सिद्धबाबाले पार्टी चिन्दैन । चार–चार वटा मन्त्री हुँदा सडकमा पैसा ल्याउन सकेनन् । गुल्मी पछी पर्दैछ ।’ 

नेपाली काँग्रेसका गुल्मीका पूर्व पार्टी सभापति चन्द्र केसीले मुलुक गम्भीर संकटमा फसेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपाली जनताले बुझेनन् । आफुलाई सुधारौँ । नेपालको संविधान खतरामा छ । बचाउने जिम्मा काँग्रेसको काँधमा छ ।’ संसद विघटन लोकतन्त्र र जनता माथि भएको प्रहार भएको बताउँदै संविधान अहिले भेन्टलेटरमा रहेको भन्नुभयो । संसद विघटन नेपाली जनताले विजय बनाएर पठाएको हुर्मत भएको बताउँदै कम्युनिष्ट शासन नेपालको लागि अभिसाप सिद्व भइसकेको आरोप लगाउनुभयो ।

नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक संसद विघटन गरि संविधानको हत्या गरेको आरोप लगाउनु भयो । प्रभानमन्त्रीले गरेको संसद विघटनका कारण अहिलेको व्यवस्थाप्रति नै प्रश्न उठेको बताउनुभयो । अहिले हत्या हिंसाका घटनाहरु बढिरहेको उल्लेख गर्दै वर्तमान सरकारले शान्ति सुरक्षा दिन नसकेको उहाँको आरोप थियो ।

विरोध सभालाई उपसभापति बिष्णु प्रसाद बलाल, सचिव खिलध्वज पन्थी, अर्का सचिव विष्णु कुमारी सापकोटा, क्षेत्रिय सभापति भगतसिंङ खड्का, प्रदेश सभापति पूर्ण केसी, नेपाल शिक्षक संघका अध्यक्ष प्रेमनारायण भण्डारी दलित संघका अध्यक्ष लुम बहादुर श्रीपाली लगायतले सम्बोधन गर्दै असंवैधानिक संसद विघटनको विरोध जनाउनु भएको थियो ।


Views: 106