13th April | 2021 | Tuesday | 6:44:58 PM

सरकारी अस्पताल बन्यो रिफर केन्द्र

रामचन्द्र रायमाझी   POSTED ON : फाल्गुन ५, २०७७ (१:४० PM)

सरकारी अस्पताल बन्यो रिफर केन्द्र

पाल्पा । तानसेन ६ का  प्रदिप न्यौपाने स्वास्थ्य बिमा कार्ड लिएर उपचारका लागि  फागुन १ गते लुम्बिनी मेडिकल कलेज प्रभास पुग्नुभयो । बिमा कार्ड साथमा लिएर उहाँ टिकटका लागि लाईन बस्नुभयो । लाइन बसेको एक घण्टापछि उहाँको बल्ल पालो आयो ।  पालो त आयो तर उहाँले टिकट  भने पाउनुभएनन् । काउण्टरका कर्मचारीले टिकटका लागि सरकारी अस्पतालको रिफर लेटर नभई टिकट नपाईने बताएपछि उहाँ निरास भएर पाल्पा अस्पताल पुग्नुभयो । रिफर लेटरका लागि सरकारी अस्पताल पुग्नुभएको उहाँ त्यहाँ पनि  लाइनमा बस्नु प¥यो । लामो समय लाइन बसेर उहाँ रिफर लेटर लिन सफल त हुनु भयो तर सोही दिन लुम्बिनी मेडिकल कलेजमा पुगेर उपचार गराउन सक्नु भएनन् । अस्पतालको ओपीडि सेवा बन्द भइसकेकाले उहाँ त्यस दिन उपचारै नगरि फर्कनु भयो ।  

न्यौपाने जस्तै ठूलो सख्यामा पाल्पा अस्पतालमा रिफर कार्ड बनाउनेहरुको भिड लाग्ने गरेको छ ।  तिनाउ गाउँपालिकाकी शान्ती थापा पनि सरकारी संस्थाबाट रिफर कार्ड बनाउनै समस्या भएको बताउँनुहुन्छ । रिफर कार्ड नै बनाउदा १ दिन लाग्दछ । अर्को दिन मात्र उपचार गर्नु पर्ने भयो । सरकारले नै अप्ठारो बनाएको उहाँले आफनो अनुभव सुनाउनुभयो ।  

बगनासकाली गाउँपालिका वराङदीकी कृष्णकला घिमिरेले आफ्नो स्वास्थ्य परीक्षण गराउन तीन दिनको समय खर्चिनु प¥यो । नेपाल सरकारले स्वास्थ्य बिमा गरेकाहरूका लागि पहिलो स्वास्थ्य परिक्षण केन्द्र जिल्ला अस्पाताललाई निर्धारण गरेपछि थप झन्झट उत्पन्न भएको हो ।

स्वास्थ्य बीमा गरेपछि एक लाखसम्मको औषधी उपचारमा सहुलियत हुन्छ भनेर गरियो । स्वास्थ्य उपचारको पहिलो चरणमा तानसेनस्थित सरकारी अस्पातालमा परियो जहाँ आवश्यक सेवा सुविधा नै छैन । आफूलाई पायक पर्ने अस्पतालमा स्वास्थ्य परीक्षण गर्न नपाउनु भनेको त राम्रो होइन ? पीडित घिमिरेले भन्नुभयो । उहाँले भन्नुभयो ‘सरकारले आफ्नो लगानी भएको स्वास्थ्य संस्थालाई पहिलो स्वास्थ्य परिक्षण केन्द्र बनाउनु राम्रो हो,तर औषधी प्रयोगशाला एक्सरे जस्ता विषयमा सुविधा हुन प¥यो नि ? जिल्ला अस्पतालमा लाइन गएका बखत एक्सरे हुँदैन ? विशेषज्ञ सेवा छैन किन जाने त्यहाँ ?’ घिमिरेले भने जस्तै जिल्ला अस्पतालमा गुणस्तरी सेवा नहुँदा अहिले धेरै विरामीहरु रिफर लिएरअन्यत्र ठूला अस्पताल जाने गरेका छन् । जसले गर्दा सरकारी अस्पताल अहिले विरामीको उपचार नभई रिफर केन्द्र बन्न पुगेको छ । दैनिक जसो जिल्ला अस्पाताल रिफर लिन जानेहरुले नै भिड हुने गरेको छ ।

 नेपाल सरकारले आमजनताको आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ गर्ने गरी लागु गरेको स्वास्थ्य बिमा कार्यक्रम रिफर कै कारण झन्झटीलो बनेको छ ।  सरकारले फागुनको १ गतेबाट लागु हुने गरी सरकारी स्वास्थ्य संस्थाको रिफर अनिवार्य गराएका लुम्बिनी मेडिकल कलेज , मिसन अस्पतालबाट सेवा लिएका बिरामीहरुलाई रिफर अनिवार्य गराउदा झन्झट भएको हो ।

स्वास्थ्य उपचारमा सबैको सहज र समान पहँुचका लागि स्वास्थ्य बिमा कार्यक्रम लागु गरिए पनि वर्तमान सरकारले आम जनतालाई स्वास्थ्य बिमा कार्यक्रम प्रति वितृष्णा उत्पन्न गराउन रिफर कार्ड अनिवाय गराएको सरोकारवालाहरुको भनाइ रहेको छ । सरकारी अस्पताल उपचार केन्द्र भन्दा पनि रिफर केन्द्र भएको अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डे नै बताउनुहुन्छ । अस्पतालको दैनिक काम समेत प्रभावित भएको उहाँले बताउनुभयो । रामपुर अस्पतालका प्रमुख डाक्टर विजय परियार पनि दैनिक सेवामा रिफर कार्डले अप्ठारो बनाएको बताउनुहुन्छ । ‘अस्पतालमा आवश्यक जनशक्ति छैनन् । एक जना त्यसैको लागि व्यस्त हुन परेको छ’ उहाँले भन्नुभयो ।  

जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख विश्व न्यौपानेले सरकारले स्वास्थ्य बिमा गरेकाहरुलाई रिफर कार्ड अनिवार्य बनाउँदा आम जनतालाई दुःख भएको बताउनुभयो । स्वास्थ्य बिमा जिल्लाको रामपुर अस्पताल , प्राथमिक स्वास्थ्य केन्द्र ताहुँ , खस्यौली,पाल्पा अस्पताल युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा लागु गरे पनि स्वास्थ्य बिमा गरेकाहरुको छनौट र रोजाईमा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज पर्ने गरेका छन् ।

‘सरकारी स्वास्थ्य संस्थामा सेवा सुविधा राम्रो भएको भए निजी संस्थामा उपचारको लागि कोही  जादैनन् थिए’ नागरिक समाजका अगुवा पुष्कर राज रेग्मीले भन्नुभयो । सरकारको त्यसतर्फ कहिल्यै ध्यान नदिएको उहाँको गुनासो छ ।  सरकारले तानसेन स्थित पाल्पा अस्पताललाई झण्डै ४० वर्ष अगाडि १५ शैयाको अस्पतालमा रूपान्तरित ग¥यो  । प्राथमिक स्वास्थ्य केन्द्रबाट सरकारी अस्पतालमा रूपान्तरित भएपनि विशेषज्ञ सेवा, प्रयोगशाला एक्सरे, आवश्यक औषधी र दरबन्दी अनुरूपका कर्मचारी हालसम्म पर्याप्त नभएकाले सरकारी स्वास्थ्य सेवाप्रति आम जनमानसमा नकारात्मक सन्देश गएको अस्पतालमा कार्यरत एक प्राविधिकले आफ्नो नाम उल्लेख नगरी दिने शर्तमा बताए ।


Views: 76