13th April | 2021 | Tuesday | 7:18:29 PM

नगर प्रमुखको कार्यकक्षमा गोलभेंडा फालेर विरोध

प्रकाश न्यौपाने   POSTED ON : फाल्गुन ६, २०७७ (९:१५ AM)

नगर प्रमुखको कार्यकक्षमा गोलभेंडा फालेर विरोध

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा किसानले नगर प्रमुखको कार्यकक्षमा गोलभेंडा फालेर विरोध जनाएका छन् । नेपाली बजारमा भारतीय गोलभेंडा खुल्लमखुला बजारमा भित्रिएको र स्थानीय तहले किसानको समस्या समाधान गर्नेतर्फ योजना नल्याएको भन्दै नगरपालिकाको कार्यालय अगाडि, नगर प्रमुखको कार्यकक्ष र सडकमा गरी करिब तीन हजार केजी गोलभेंडा किसानले फ्याँकेर विरोध जनाएका हुन् । 

नगर प्रमुखलाई आफ्नो समस्याबारेमा जानकारी गराउन खोज्दा नगर प्रमुख धीरज शर्मा बस्यालले समय नदिएको भन्दै किसानहरूले उहाँको कार्यकक्षमा समेत गोलभेंडा फ्याँकेर विरोध जनाएको स्थानीय कृषक सन्तबहादुर चौधरीले बताउनुभयो  । ‘कमिसन आउने र आफ्ना कार्यकर्तालाई काम दिने योजनामा मात्र बढी जोड दिने, किसानको फसलले मूल्य नपाएको नदेख्ने जनप्रतिनिधि के काम ?’ चौधरीले भन्नुभयो, ‘किसानलाई समय नदिने नगर प्रमुखको विरोधमा कार्यकक्षमा गोलभेंडा फ्याँकेर विरोध जनाएका हौं ।’

यता, बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले भने बजारीकरणका लागि नगरपालिकाले पहल गर्न सक्ने अवस्था रहँदा रहँदै पनि बिना जानकारी किसानहरूमाथि राजनीति गरेको बताउनुभयो । उहाँले किसानहरूको आन्दोलनमा वडाध्यक्ष स्वयंले प्रत्यक्षरूपमा आन्दोलनको अगुवाई गर्नु जायज नभएको समेत बताउनुभएको छ ।

विरोधपछि किसानहरूले नौ सदस्य वार्ता टोली गठन गरेर नगर उपप्रमुख मायादेवी पौडेललाई नामावली बुझाएका छन् ।


Views: 146