17th April | 2021 | Saturday | 11:59:00 PM

बढैयाताल गाउँपालिकामा दोहोरो सुविधा लिँदै जनप्रतिनिधि

दीपककुमार शर्मा   POSTED ON : फाल्गुन ६, २०७७ (९:१७ AM)

बढैयाताल गाउँपालिकामा दोहोरो सुविधा लिँदै जनप्रतिनिधि

बर्दिया । बर्दियामा जनप्रतिनिधिले दोहोरो सुविधा लिएको पाइएको छ । बर्दियाको बढैयाताल गाउँपालिकामा तीनजना जनप्रतिनिधिले दोहोरो सुविधा लिएको पाइएको हो । गाउँपालिकामा कार्यपालिका सदस्यसमेत रहेका कमला गुरुङ, आरती भट्टराई र चन्द्रा विकले दोहोरो सुविधा लिएको खुलेको हो । 

तीनै जना जननिर्वाचित हुन भने दुईजना कार्यपालिकाका सदस्यसमेत रहेका छन् । तिनै जना सामुदायिक स्वास्थ्य स्वयसेविका पनि हुन् । कार्यपालिकाको बैठक होस् वा पालिकाको अन्य कुनै बैठकमा भत्ता बुझ्दै आएका छन् भने सामुदायिक स्वास्थ्य स्वयंसेविकाको रूपमा पनि पाउनुपर्ने सेवा सुविधा पाइरहेको बताइएको छ । 

कमला गुरुङ वडा नम्बर ४ बाट बढैयाताल गाउँपालिकाको न्यायिक समितिका सदस्य हुनुहुन्छ भने आरती भट्टराई वडा नम्बर ७ र चन्द्रा विक वडा नम्बर ३ बाट निर्वाचित वडा सदस्य हुनुहुन्छ । कार्यपालिकाको सदस्यसमेत रहेका तीनैजना गाउँपालिकामा हुने स्वास्थ्य गतिविधि तथा अन्य स्वास्थ्य स्वयंसेविकाले पाउने सेवा सुविधा लिइरहेको पाइए तापनि गाउँपालिका भने कानमा तेल हालेर बसेको छ । 

जनप्रतिनिधि हुनुपूर्व स्वास्थ्य स्वयंसेविका रहेका तीनै जनाले आफू निर्वाचित भए पनि स्वास्थ्यस्वयंसेविका अन्यलाई हस्तान्तरण नगरेको स्थानियवासीको भनाइ छ । वडामा अन्य महिला नभए जस्तो दोहोरो सेवासुविधा आफैँले लिइरहेको स्थानीयले बताएका छन् । निर्वाचनको बेला राजीनामा दिए पनि स्वीकृति नभएको कारण तीन जनाले दोहोरो सुविधा लिइरहेको स्वीकार गर्दै  गाउँपालिकाका उपाध्यक्ष दीपाकुमारी गौतमले यस विषयमा जानकारी भए पनि चाँडै यो दोहोरो सुविधा कटौती गर्ने बताउनुभयो ।


Views: 80