13th April | 2021 | Tuesday | 6:38:44 PM

पाल्पाको ऐतिहासिक दरबार संग्रहालयमा सानु राजाको शालिक

रामचन्द्र रायमाझी   POSTED ON : फाल्गुन ६, २०७७ (२:५६ PM)

पाल्पाको ऐतिहासिक दरबार संग्रहालयमा सानु राजाको शालिक

पाल्पा । पाल्पाको ऐतिहासिक दरबार संग्रहालयमा सानु राजा (जनरल प्रताप शमशेर राणा) को अर्धकतको शालिक निर्माण गरिएको छ । विसं १९८३ मा सानु राजाले निर्माण गरेको दरबार २०६२ माघ १८ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएको थियो । १० वर्षे द्वन्द्वकालीन समयमा ध्वस्त भएको उक्त दरबार पुनर्निर्माण भएपछि उनको सम्झनामा शालिक निर्माण गरिएको हो । 

शालिकको एक औपचारिक कार्यक्रमका बीच अनावरण गरिएको छ । शालिकको लुम्बिनी प्रदेशका वन वातावरण तथा उद्योग पर्यटनमन्त्री लीला गिरीले अनावरण गर्नु भएको छ । दरबार निर्माणकर्ता राणाको सम्झनामा सर्वसाधारण तथा पर्यटकहरुको जानकारीको लागि प्रदेश सरकारले प्रताप शमशेरको शालिक निर्माण गरेको हो । शालिक अनावरण गर्दै पर्यटनमन्त्री गिरीले ऐतिहासिक पाल्पा दरबार संग्रहालय प्रदेशकै एकमात्र संग्रहालय भएकाले यसको विस्तार र विकासमा प्रदेश सरकारले विशेष प्राथमिकताका साथ हेरेको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘अहिले संग्रहालयमा लुम्बिनी प्रदेशको पहिचान झल्कने प्रमुख जाती मगर र थारुको भेषभुषा, खानपान रहनसहनमा आधारित वस्तु तथा सामग्रीहरुको व्यवस्थापन भए पनि अन्य ऐतिहासिक तथा कलात्मक सामग्रीहरु जुटाउने काममा प्रदेश सरकार लागि परेको छ ।’ दरबार संग्रहालयको गुरुयोजना अनुसार प्रदेश सरकारले बजेट विनियोजन गरी काम गर्दै जाने, संग्रहालय प्रवेश गर्ने स्थलममा आर्कषक गेट निर्माण गर्ने, उत्तरतर्फको मुल ढोकामा मर्मत सम्भारको लागि पुरातत्व विभागसँग सहकार्य गर्ने लगायत कामहरु भइरहेको मन्त्री गिरीले बताउनुभयो । दरबार निर्माणकर्ता प्रताप शमशेरको योगदानलाई सबैले स्मरण गरुन्, ईतिहास बारे सबैलाई जानकारी होस् भन्ने उद्देश्यले शालिक अनावरण गरिएको उहाँको भनाई छ । 

हाल पाल्पा दरबार संग्रहालयमा लुम्बिनी प्रदेशका प्रमुख धार्मिक स्थानहरुको फोटो र जानकारी, नेपाल अंग्रेज जितगढी युद्वका सामग्रीहरु, पाल्पा जिल्लाबाट संकलन गरिएका पुराना सामग्रीहरु राखिएका छन् । संग्रहालयको पहिलो तलामा मगरी तथा थारु विषयका सामग्रीहरु, दोस्रो तलामा नेपाली सेना गोरखदल गणले निर्माण गरेका पृथ्वीनारायण शाहदेखि हालसम्मका सैनिक सम्बन्धी ऐतिहासिक तथा पुरातत्व महत्वका जानकारी राखिएको छ । आगामी दिनमा संग्रहालयमा सेनकालीन संस्कृति, जातीय संस्कृति र परम्परागत कला कौशलहरु राखिने छ । कार्यक्रममा डिभिजन वन कार्यालय पाल्पाका  जनरल प्रतापशमशेर १९८२ सालमा पाल्पा आएर १९८९ साल माघ २८ गतेसम्म तैनाथवाला भएर बसेका थिए । ७ रोपनी १४ आना क्षेत्रफलमा रहेको पाल्पा दरबार संग्रहालयमा ५८ कोठा २ बुर्जा छन् । क्षतिग्रस्त हुनुभन्दा अगाडि पाल्पा दरबारमा जिल्ला मालपोत, जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, सरकारी वकिलको कार्यालय, जिल्ला अनुसन्धान, नेपाल स्काउट, ग्रामीण खानेपानी र प्रमुख जिल्ला अधिकारीको निवासका रूपमा प्रयोग हुँदै आएको थियो । 


Views: 58