17th April | 2021 | Saturday | 11:05:52 PM

एक साताको फरकमा दुई केबलकारको शिलान्यास– रुपन्देहीलाई नमूना जिल्ला बनाउने प्रतिवद्धता

सुदीप भण्डारी   POSTED ON : फाल्गुन ९, २०७७ (५:५४ PM)

एक साताको फरकमा दुई केबलकारको शिलान्यास– रुपन्देहीलाई नमूना जिल्ला बनाउने प्रतिवद्धता

बुटवल । नुवाकोट केबलकारको निर्माण कार्य सुरु भएको छ । बुटवलको फूलबारी नजिक देउराली डाँडाबाट पाल्पाको नुवाकोट गढी पुग्ने सिद्धार्थ केबलकारको  आइतबार शिलान्यास भएको हो । केबलकारको शिलान्यास गर्दे अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीलाई विकासका हिसाबले मुलुककै नमूना जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

उहाँले तीब्र विकासले रुपन्देही जिल्ला देशकै विकासको अग्रणी रोलमोडलको भूमिकामा रहेको दाबी गर्नुभयो । मन्त्री पौडेलले विकास हेर्न र सिक्न रुपन्देही जानुपर्छ भन्नेगरि जिल्लाको विकास भएको दावी गर्दै रुपन्देही मुलुककै लागि बिकास सिक्ने पाठशाला बनेको बताउनुभयो । 

कार्यक्रममा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले रुपन्देहीमा निर्माण थालिएका आयोजनाबाटै यहाँको आर्थिक विकासको ढोका खुल्ने बताउनुभयो । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र तिनाउँ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले शिलान्यास गरिएका दुवै केबलकारको निर्माणसंगै रुपन्देही र पाल्पाको विकासले गति लिने बताउनुभयो । 

ऐतिहासीक तथा धार्मिक स्थल नुवाकोट गढीमा जान सिद्धार्थ केबलकार प्रालीले केबलकार सञ्चालनको प्रक्रिया अघि बढाएको हो।  प्रालीले यस अघि नै सरकारबाट बन क्षेत्र उपयोग गर्ने स्वीकृती लिएर केही काम अगाडि बढाइसकेको छ । अबको १८ महिना भित्र केबलकार सञ्चालनमा ल्याउने योजना रहेको सिद्धार्थ केबलकार प्रालीका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिनुभयो ।  २ किलोमिटर लम्बाइको केबलकार निर्माण गर्न ८० करोडको लागत अनुमान गरिएको उहाँले बताउनुभयो । सिद्धार्थ केबलकार प्रालीले २०६८ सालमा केबलकार निर्माणको अभियान अगाडि बढाएको थियो । केबलकार सञ्चालनको लागि २०७५ साल साउनमा ३ दसमलव ९८ हेक्टर र २०७६ फागुनमा २ दसमलब ११८ हेक्टर बन क्षेत्र ३० वर्षको लागि प्रालीलाई भोगचलान गर्न मन्त्रीपरिषद बैठकले स्वीकृती दिएको थियो।  

शुरुआतमा दैनिक ५ हजार यात्रु बोक्ने क्षमता रहेको सो केबुलकारको अधिकतम क्षमता दैनिक १० हजार यात्रु बोक्ने रहेको छ ।  

सिद्धार्थसँगै बुटवलमा यसै हप्ता दुइ वटा केबलकारको निर्माण सुरु भएको छ ।  

यस अघि गत फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्विनी केबलकार शिलान्यास गरेका थिए। लुम्बिनी केबलकारले बुटवलदेखि पाल्पाको वसन्तपुर डाँडा जोड्ने छ । केबलकार सञ्चालनले लुम्बिनी आउने पर्यटकहरुको खर्च र भ्रमण अवधि बढाउन सघाउ पुर्याउने अपेक्षा गरिएको छ ।  

 


Views: 73