17th April | 2021 | Saturday | 10:43:01 PM

राप्ती पुलको शिलालेख किन र कस्ले गर्यो तोडफोड ?

विवेक खड्का   POSTED ON : फाल्गुन १०, २०७७ (४:०९ PM)

राप्ती पुलको शिलालेख किन र कस्ले गर्यो तोडफोड ?

दाङ । दाङको सिसहनिया–महादेवा जोड्ने राप्ती पुलको शिलालेख तोडफोड भएको छ । उक्त पुल माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बिधिवत रुपमा उद्घाटन गर्नुभएको थियो । शिलालेख कस्ले र किन तोडफोड गरेको हो ? भन्ने कुरा खुलि सकेको छैन । स्रोतका अनुसार पुलको सम्पूर्ण भाग गढवा गाउँपालिका वडा नं. २ महदेवाको मौजामा पर्छ । तर शिलालेखमा सिसहनिया लेखिएको थियो । सिसहनिया राप्ती गाउँपालिका अन्तरगत पर्छ । आफ्नो मौजामा पर्ने भएपनि आफ्नो ठाउँको नाम छुटाएको भन्दै कतिपय स्थानीय रुष्ट थिए । जस्ले शिलालेखको नाम सच्याउन स्थानीय जनप्रतिनिधि मार्फत दबाव दिँदै आएका थिए । गढवा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भक्त चौधरीले नाम सच्याउन निर्माण कम्पनीलाई बारम्बार आग्रह गरेको भएपनि कुनै सुनुवाई नभएको वताउनुभयो  ।त्यही कारण शिलालेख तोडिएको हुनसक्ने चौधरीले अनुमान गर्नुभयो । पुल निर्माण कम्पनिका सुपरभाईजर लक्ष्मण ढकालले पुल उद्घाटन र शिलालेख तयार पार्दा आफुहरुको कुनै भूमिका नरहने हुँदा केही गर्न नसक्ने वताउनुभयो । ‘उद्घाटन र शिलालेख सरकारको काम हो, यसमा हाम्रो कुनै भुमिका हुँदैन,’ ढकालले भन्नुभयोे ‘हाम्रो काम भनेको निर्माण गर्ने हो, निर्माण र उद्घाटन फरक कुरा हो ।’

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले कसले तोडेको भन्ने बारेमा अनुसन्धान भइरहेको बताउनुभयो । शिलालेखमा नाम फरक पारेका कारण तोडिएको हुनसक्ने हल्ला सुनेपनि एकिन हुन नसकेको प्रतिक्रिया दिनुभयो । माघ १२ गते पुल उद्घाटन कार्यक्रममा सुरक्षाको कारण देखाउँदै स्थानीयलाई प्रबेश निषेध गरिएको थियो । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने सो पुल ८ सय ६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको छ ।यो. नेपालकै दोस्रो लामो पुल हो ।


Views: 65