17th April | 2021 | Saturday | 11:44:03 PM

गाउँहरु नै मिलेर राष्ट्रिय वन सखाप

विवेक खड्का   POSTED ON : फाल्गुन १०, २०७७ (५:२८ PM)

गाउँहरु नै मिलेर राष्ट्रिय वन सखाप

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ स्थित कटकुँईया स्थित एउटा राष्ट्रिय वन स्थानीय केही गाउँहरु मिलेर काटेर सखाप पारेका छन् ।

सालका रुखहरुले भरिएको स्थानीय गुह्य डाँडा गाउँलेले मिलेर रुख काटेपछि हाल उजाड बनेको छ । साना, ठूला सबै रुखहरु काटेर त्यो ठाउँ आफुहरुले भोगचलन गर्दै आएको देखाउन एक दूई दिन भित्रमै ती सालका रुखहरु काटेर उजाड बनाइएको स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा बताए । ‘डाँडाको सोझै प्रति जग्गा भएका व्यक्तिहरु मिलेर गुह्य डाँडोमा भएका सालका रुखहरु काटेर सखाप पारेका छन्,’ एक स्थानीयले भने ‘उनीहरुले आफुले भोग चलन गरेको देखाउन र फारम भरेर जग्गाको पूर्जा प्राप्त गर्न राष्ट्रि वन मासेका हुन ।’

राष्ट्रिय वन अन्तरगत रहेको उक्त डाँडोमा रहेका २ सय ४८ सालका बुटाहरु कटकुँईया गाउँका केही ब्यक्तिहरु मिलेर दुई दिनमै काटेर सखाप पारेको तुलसीपुर सब डिभिजन कार्यालयका सहायक वन अधिकृत विनोद साहले जानकारी वताउनुभयो ।

भुमिहिन, दलित, सुकुम्बासी तथा अब्यवस्थित बसोबास गरिरहेका ब्यक्तिहरुलाई पूर्जा वितरण गर्न सरकारले लगत संकलन गरिरहँदा वन मासेर जग्गा प्राप्त गर्ने लालचका कारण गाउँका झन्डै १२ ÷१३ जना मानिसहरु मिलेर ती रुखहरु काटेर नाङ्गो पारेको साहले वताउनुभयो । सालका रुखहरु काटेपछि त्यहाँ डोजर लगाएर डाँडो सम्याउन प्रयास समेत गरिएको छ ।एक स्थानीयले भने ‘राष्ट्रिय वन फडानी गर्न वडा सदस्य चित्रबहादुर डाँगीका घर परिवारको पनि मिलेमतो छ ।’नेपाली काँग्रेसबाट निर्वाचित वडा सदस्य चित्रबहादुर डाँगीले भने त्यो कुरा नकारर्नु भयोे । आफु वडा कार्यालयलका लागि बिहान सबेरै घरबाट निस्कने र राति अबेर मात्रै घर पुग्ने भएको हुँदा आफुले ती रुखहरु काटेको नदेखेको उहाँले प्रतिक्रिया दिनुभयो । यद्यपी उहाँको घर र उक्त डाँडो आमने सामने छन् । गुह्य डाँडाको उत्तर तर्फ महालक्ष्मी सामुदायिक वन र पश्चिममा अश्वारा सामुदायिक वन रहेको छ ।

यसैबीच सहायक वन अधिकृत विनोद साहले हाल सोधपुछ गर्दा स्थानीय कसैले पनि काट्नेहरुको नाम दिन नचाहेको र आफुहरुले नदेखेको भन्ने जस्ता प्रक्रिया दिने गरेको जानकारी दिनुभयो । तर, वनले रुख काटिएको घटनाबारे अनुसन्धान कार्य जारी जारी राखेको भन्दै दोषीलाई कारबाही हुने चेतावनी दिनुभयो ।

स्रोतका अनुसार जग्गा प्राप्तिको लालचले रुखहरु काट्ने सबै व्यक्तिहरुको नाम लिष्ट वनका अधिकारीहरुले संकलन गरिसकेका छन् । तर सहायक वन अधिकृत साहले कसैको पनि नाम थाहाँ नभएको प्रतिक्रिया दिनुभयो ।डाँडो नै उजाड हुने गरि रुखहरु काटिएको हल्ला ब्याप्त बनेपछि डिभिजन वनका कर्मचारी, तुलसीपुर वडा नं. ८ का वडाध्यक्ष सहितको टोली फागुन ४ गते घटनास्थल पुगेर अवलोकन गरेको थियो ।

त्यसयता वनका अधिकारीहरु त्यहाँ निरन्तर गइ स्थानीय संग सोधपुछ र अनुसन्धान गर्ने काम भइरहेको सहायक वन अधिकृत साहले बताउनुभयो । साहले काटेका सालका रुखहरु संकलन गरेर कार्यालयमा ल्याउने जानकारी दिनुभयो । उनले छलफल गरि घटनाका दोषीहरु सार्वजनिक गर्ने जानकारी दिनुभयो । दोषी सबैलाई बिगो अनुसार कानुनी कारवाही हुने उहाँले जानकारी दिनुभयो ।


Views: 53