11th April | 2021 | Sunday | 6:38:56 PM

पाल्पामा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने तयारी

रामचन्द्र रायमाझी   POSTED ON : फाल्गुन २१, २०७७ (८:२१ AM)

पाल्पामा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने तयारी

पाल्पा । पाल्पामा सडक विभागको स्वीकृति प्राप्त नगरी बनाइएका संरचनाहरू हटाउन तयारी थालिएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सडक विभागको स्वीकृतिबिनै सडक अतिक्रमण गरी राजमार्ग तथा सहायक मार्गमा बनाइएका संरचनाले सडक आवागमनमा बाधा पुगेको भन्दै त्यस्ता संरचना हटाउन अन्तिम तयारी थालेको हो । 

सिद्धार्थ राजमार्गको दोभानदेखि राम्दीसम्म करिब ७०० सय घर तथा टहरा हटाउनका लागि सडक डिभिजन कार्यालयले अन्तिम तयारी गरेको छ । यसअघि सडकको क्षेत्राधिकारभित्र परेका संरचना हटाउनका लागि सडक कार्यालयले रेखाङ्कनको कार्य गरिसकेको छ । गत माघ २० गते डिभिजन सडक कार्यालयले सूचना निकालेर व्यक्ति आफैँलाई सडकका संरचना हटाउन एक साताको सूचना प्रकाशित गरेको थियो । तर एक सातापछि पनि कुनै पनि व्यक्तिले सडक मिचेर बनाएका संचना नहटाएपछि सडक कार्यालय आफैँ यस्ता संचना हटाउने तयारी गरेको हो । 

डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी शिव खत्रीले सडकको क्षेत्राधिकारभित्र परेका संरचना हटाउन पटक–पटक गरिएको निर्देशन अटेर गरिएको बताउनुभयो । सडकको दाया–बायाँ २५÷२५ मिटरभित्रका घर, टहरा, मठ मन्दिर तथा भौतिक संरचना हटाउन सूचित गरेपनि मानिसले आफैँ हटाउन आनाकानी गरेको उहाँले बताउनुभयो । फागुन १३ गते पनि सूचना निकालेर व्यक्ति आफैलाई संरचना हटाउन भनेका छौँ तर अटेर गरे उक्त संरचना हटाउने उहाँले बताउनुभयो । जसले सडक मिचेर संरचना बनाएको हो, उसैबाट संरचना हटाएको खर्च उसुलउपर गरिने उहाँको भनाइ छ । 

डिभिजन सडक कार्यालयले सडकको दायाँ र बायाँ २५÷२५ मिटरभित्र परेका घर, संरचना, टहरा, मठमन्दिरमा चिन्ह लगाइसकेको छ । अब उक्त चिन्ह लगाएका संरचना हटाउने अन्तिम तयारी भईरहेको कार्यालयले जनाएको छ । सडका कार्यालयले सार्वजनिक सडक ऐन २०३१ को दफा १९ अनुसार कुनै पनि व्यक्तिले बनाएका संरचना हटाउन लाग्ने शुल्क सम्बन्धित व्यक्तिबाटै असुल गर्नुपर्ने प्रावधान छ । सडक डिभिजन कार्यालयले पुन एक साताको म्याद राखेर सूचना जारी गरेको हो । राजमार्गभित्रका करिब सात सय घर तथा टहरा हटाउँदा कयौँ मानिस सडकमा पुग्ने अवस्था आउने अनुमान गरिएको छ । अतिक्रमण गरी सडक छेउमा बनाइएका दोभान, केराबारी, चर्चरे, प्रभास, बर्तुङ्, आर्यभाङ्ज्याङ् र राम्दी क्षेत्रका सयौँ घरहरू फालिनेछन् ।


Views: 31