16th May | 2021 | Sunday | 6:12:03 PM

नेपाल पत्रकार महासंघ पाल्पाको नेतृत्वमा राना

रामचन्द्र रायमाझी   POSTED ON : चैत्र २६, २०७७ (४:११ PM)

नेपाल पत्रकार महासंघ पाल्पाको नेतृत्वमा राना

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पाको अध्यक्षमा रेखिराम राना निर्वाचित हुनुभएको छ ।   बुधबार तानसेनमा भएको महासंघको अधिवेशनले रानाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । लोकतान्त्रिक एवं प्रगतिशील गठबन्धनका राना प्रतिद्वन्दी प्रेस चौतारी नेपालका कमल तिमिल्सिनालाई हराउँदै अध्यक्षमा निर्वाचित हुनुभएको हो । 

 राना खसेको कूल मतमा ५९ मत ल्याएर विजयी  हुनुभयो भने उहाँका प्रतिद्वन्दी कमल तिमिल्सिनाले २६ मत ल्याएको निर्वाचन समितिका सदस्य भरत प्रसाद आचार्यले जानकारी दिनुभयो । त्यस्तै स्वतन्त्रबाट अध्यक्षको उम्मेदवारी दिनुभएका स्वतन्त्र पत्रकार संघका जीवलाल सुवेदीले भने ४ मत मात्र प्राप्त गर्नुभएको छ । त्यस्तै सचिवमा प्रेस चौतारी नेपालका यज्ञमूर्ति तिमिल्सिना विजयी हुनुभयो । उहाँले प्रतिद्वन्दी प्रेस चौतारीका कृष्ण कार्कीलाई १ मतको अन्तरले हराउँदै विजयी सुनिश्चित गर्नुभएको हो । सचिवमा तिमिल्सिना र कार्की बिच निकै कडा प्रतिस्पर्धा भएको थियो । विजयी हुनुभएका तिमिल्सिनाले ४२ मत ल्याउनुभएको थियो भने कार्कीले ४१ मत ल्याएर उपविजेता हुनुभयो । स्वतन्त्रबाट सचिवको उम्मेदवारी दिनुभएका भोजराज भट्टराईले भने ४ मत प्राप्त गर्नुभयो । त्यस्तै सह–सचिवका लागि भएको निर्वाचनमा प्रेस चौतारीकी रिमा सोमै विजयी हुनुभएको छ । उहाँ प्रतिद्वन्दी नारायण न्यौपानेलाई ६ मतको अन्तरले हराउँदै विजयी हुनुभएको हो । विजयी सोमैले ४७ मत ल्याउनुभयो भने न्यौपाने ४१ मत प्राप्त गरेर उपविजेता हुनुभयो  । त्यस्तै चार सदस्यका लागि भएको निर्वाचनमा कृष्ण पोखरेलले अध्याधिक मत ल्याएर विजयी  हुनुभएको छ । उहाँले खसेको ९२ मतमा ७५ मत ल्याउन सफल हुनुभयो । त्यस्तै अरु सदस्यहरुमा भुवन रायमाझी, दुर्गेश मल्ल र सुनिल कार्की विजयी  हुनुभयो ।

राष्ट्रिय परिषद् सदस्यको निर्वाचनमा भगवान भण्डारी र देव पचाभैया निर्वाचित हुनुभयो । महासंघमा ९९ जना सदस्य मतदाता मध्यबाट ९२ मत खसेको निर्वाचन समितिले जनाएको छ । यस अघि उपाध्यक्षमा नेपाल प्रेस युनियनका सभापति भरत शर्मा, महिला उपाध्यक्षमा प्रेस चौतारीका सिर्जना घिमिरे निर्विरोध निर्वाचित भइसक्नुभएको थियो । कोषाध्यक्षमा नेपाल प्रेस युनियनका मुक्तिप्रसाद न्यौपाने, समावेशी सह–सचिवमा कृष्ण दर्नाल, दलित सदस्यमा विजय बौडेल, अल्पसंख्याकमा रन बहादुर कुमाल, समावेशीमा अनिल लिगल पनि निर्विरोध निर्वाचित हुनुभएको थियो । त्यस्तै प्रदेश परिषद् सदस्यमा नरभुपाल(मिलन) वि.क. र सुकुम नेपाली र राष्ट्रिय परिषद् सदस्यमा उम्मेदवारी दिनुभएकी गीता ज्ञवाली पनि र्निविरोध निर्वाचित हुनुभयो ।



Views: 52