16th May | 2021 | Sunday | 7:01:02 PM

पाल्पामा सडक अतिक्रमित संरचना भत्काउन सुरु

रामचन्द्र रायमाझी   POSTED ON : चैत्र २६, २०७७ (७:११ PM)

पाल्पामा सडक अतिक्रमित संरचना भत्काउन सुरु

पाल्पा । पाल्पामा सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सडकमा अतिक्रमण गरिए बनाइएका संरचनाहरु भत्काउन थालिएको छ । डिभिजन सडक कार्यालय पाल्पाले सडक सिमा अतिक्रमण गरी बनाएका स्थायी तथा अस्थायी संरचनाहरु भत्काउन सुरु गरेको हो ।

 डिभिजन कार्यालयले विगतमा कार्यालय सञ्चालन गरेको आफ्नै भवन भत्काएर अतिक्रमित संरचना भत्काउन कार्यको सुरुवात गरेको छ । पहिलो दिन कार्यालयले बर्तुङ्गदेखी राईडाँडासम्मका भौतिक संरचना हटाएको छ । सडक विभागको स्वीकृतिबिनै राजमार्ग (सिद्धार्थ राजमार्ग) तथा सहायक मार्ग (तानसेन–रिडी सडकखण्ड) मा बनाइएका संरचनाले सडक आवागमनमा बाधा पुगेको भन्दै तत्काल त्यस्ता संरचना हटाउन सडक कार्यालयले घरधनीहरुलाई आग्रह गर्दै आएको थियो । पटक–पटक सूचना जारी गर्दा समेत घरधनीहरुले अतिक्रमित संरचना नहटाएपछी सडक कार्यालयले डोजरको प्रयोग गरी स्थायी तथा अस्थायी भौतिक संरचना हटाउन थालेको जनाएको छ ।

पहिलो चरणमा सिद्धार्थ राजमार्गको राम्दीदेखी चिडियाखोला सम्मका अतिक्रमित भौतिक संरचना हटाउने र दोस्रो चरणामा तानसेन–तम्घास सडक खण्डका अतिक्रमित हटाउने गरी कार्य अगाडि बढेको डिभिजन सडक कार्यालयका ईञ्जिनियर राम पियारी चौधरीले बताउनुभयो । सडकसँग जोडिने प्रवेशमार्ग, घरटहरा, होर्डिङ्बोर्ड, आइल्याण्ड, शालिक, यात्रु प्रतिक्षालय, देवालय, मठ मन्दिर, पेट्रोल÷डिजेल पम्प, ग्यास फिलिङ् स्टेसन तथा डम्पिङ्ग गरिएका निर्माण सामग्री समेत हटाउन सडक डिभिजन कार्यालयले यस अघि नै सूचना जारी गरेको थियो । 

सडक कार्यालयले पहिलो चरणमा सडक ऐन २०३१ अनुसार सडक सिमा अतिक्रमण गरिएका अस्थायी तथा स्थायी भौतिक संरचना हटाउने सार्वजनिक सूचना जारी ग¥यो, दोस्रो चरणमा सडक सिमा भित्र अतिक्रम भएका संरचना आफै हटाउन ७ दिने सार्वजनिक सूचना जारी ग¥यो, तेस्रो पटक घरधनी स्वयमले सडक सिमा भित्र बनाएका संरचना नहटाए कार्यालयले आफै भत्काउने सो संरचना भत्काउने र क्षतीपुर्ति भराउने सार्वजनिक सूचना जारी गरेको थियो । सोही अनुसार कसैले पनि अतिक्रम गरेका भौतिक संरचना आफै नहटाएपछी कार्यालयले डोजर लगाएर संरचना भत्काउन शुरु गरिएको जनाएको छ । डिभिजन सडक कार्यालयले सिद्धार्थ राजमार्गको पाल्पा चिडियाखोला देखी राम्दीसम्म सडक सिमा अतिक्रमण गरी बनाएका ७ सय घरमा हटाउने गरी रातो चिन्ह लगाएको थियो । सिद्धार्थ राजमार्गको बुटवल देखी पोखरासम्म दुई लेनको पूर्ण डेडिकेटेट सडक निर्माण गर्ने डिपिआर तयार भएकाले सोही अनुसार अतिक्रमित सडक क्षेत्र खाली गर्न डिभिजन सडक कार्यालय सक्रिय भएर लागेको छ । सिद्धार्थ राजमार्गको दाँया बाँया २५–२५ मिटर र तानसेन–रिडी सडकखण्डको सडकदेखि १५–१५ मिटर सडकको क्षेत्राधिकार पर्ने बताइएको छ ।


Views: 48