16th May | 2021 | Sunday | 6:55:22 PM

१५ बर्षदेखि अन्यौलमा बेपत्ताका परिवार

विवेक खड्का   POSTED ON : चैत्र २९, २०७७ (३:२८ PM)

१५ बर्षदेखि अन्यौलमा बेपत्ताका परिवार

दाङ । सशस्त्र द्धन्द्धको समयमा बेपत्ता पारिएका व्यक्तिको राज्यले छिटो भन्दा छिटो पत्ता लगाउनु पर्ने बेपत्ता परिवारका आफन्तले माग गरेका छन । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको आयोजनामा भएको बेपत्ता पीडित तथा सरोकारवाला निकायहरुसगंको अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले शान्ति सम्झौताको १५ वर्ष बितिसक्दा पनि राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्ति बारे यथार्थ सूचना नपाउँदा अन्यौंलमा बाँच्नु परेको गुनासो गरेका हुन ।

तुलसीपुरकी तिलाकुमारी भण्डारीले २०६५ सालदेखि आफ्ना २ जना छोराहरु बेपत्ता भएको र अहिलेसम्म पत्ता नलाग्दा आफु अन्यौंलमा बाच्नु परेको बताउनुभयो । ‘कमाउने छोराहरु बेपत्ता भएदेखि मेरो बिचल्ली भएको छ,’ भण्डारीले भन्नुभयो,–‘राज्यले पनि अहिलेसम्म तथ्य सार्वजनिक गरेको छैन । मेरा छोराहरुको कि सास चाहियो,कि लास चाहियो ।’उहाँले बेपत्ता पारिएका छोराहरु पत्ता नलाग्दा मानसिक,सामाजिक संगै आर्थिक पीडा पनि भोग्नुपरेको बताउनुभयो । तुलसीपुरका प्रताप परीयार पनि वर्षौ पहिलेदेखि बेपत्ता भएको र अहिलेसम्म पत्ता नलागेको श्रीमती मिना नेपालीले गुनासो गर्नुभयो । ‘यत्तिका वर्ष भयो, कुनै अत्तोपत्तो छैन,न लास छ,न सास छ,’ नेपालीले भन्नुभयो,–‘म जस्तै धेरै व्यक्तिले सशस्त्र द्वन्दमा आफन्त गुमाएका र बेपत्ता परिवारको पहिचान तथा छानविन गर्न जरुरी छ ।’

दाङमा १ सय ४१ वटा उजुरी

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आयोगका सचिव कृष्णजिवी घिमिरेले २०५२ सालदेखि ०६५ साल मंसिर ५ गतेसम्म बेपत्ता पारिएका सयौँ व्यक्तीहरुको पहिचानका लागि आयोगले पीडित र पीडकको यकिन गर्दै पिडित परिवारलाई परिचयपत्र वितरण अभियान सुरु गरेको बताउनुभयो ।

उहाँले यो अभियान मेचीको बर्दियाबाट सुरु गरिएको बताउनुभयो । उहाँले हालसम्म आयोगमा ३ हजार २ सय २३ वटा उजुरी परेको जानकारी दिनुभयो । त्यस्तै अनुसन्धानमा फेला पारेका बेपत्ता व्यक्ति २ हजार ३ सय १९ वटा उजुरी आयोगबाट निर्णय भई तामेलिमा राखिएको जानकारी दिनुभयो ।

उहाँले लुम्बिनी प्रदेश ८ सय ७७ वटा उजुरी दर्ता भएको जानकारी दिनुभयो । सबैभन्दा धेरै बर्दिया जिल्लामा २ सय ८८ वटा उजुरी परेका उहाँले बताउनुभयो । त्यस्तै दाङमा १ सय ४१, रोल्पामा १ सय ४०, बाँकेमा १ सय २५, रुपन्देहीमा २९, गुल्मीमा २६, पाल्पामा २४, कपिलबस्तुमा २४, अर्घाखाँचीमा २३, प्यूठानमा २३, रुकुम पुर्वीमा १७, नवलपरासी पश्चिममा १७ गरि ८ सय ७७ वटा उजुरी परेका छन ।

लुम्बिनी प्रदेशमा अहिले ४८ वटा उजुरी तामेलीमा राखिएको उहाँले जनकारी दिनुभयो । दोहोरो उजुरी २४, सत्य निरुपण पठाइएको उजुरी ८४ र जम्मा लगत कट्टा उजुरी १ सय ५६ वटा हरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । दाङमा अहिले १ सय ४१ उजुरी मध्ये २ वटा तामेलिमा राखिएको उहाँले बताउनुभयो । त्यस्तै दोहोरो काटिएको उजुरी ४, सत्य निरुपण पठाइएको उजुरी ३ गरि जम्मा लगत कट्टा उजुरी ९ वटा रहेको जानकारी दिइएको छ । त्यस्तै बिस्तृत छानविन गर्ने भनेर आयोगले निर्णय गरेको उजुरी संख्या १ सय ३२ वटा रहेको आयोगका सचिव घिमिरेले जानकारी दिनुभयो ।

बेपत्ता पारिएका व्यक्तिहरुको छानविन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१,बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग नियमावली २०७२, बेपत्ता पारिएका व्यक्तिको छानविन निर्देशिका २०७३ लगाएतका कानुन तथा नियमावलीहरु बनेपनि कार्यान्वयन पक्ष फितलो हुदाँ काम गर्न तथा पीडितले न्याय पाउन नसकेको उहाँको भनाई छ । आयोगमा दरबन्दी बमोजिम कर्मचारी पुर्ती हुन नसक्नु, छानविन सम्बन्धि कार्यको लागि सम्बन्धित स्थानीय तहसम्म पहुँचको लागि जटिलता हुनु, ब्यक्ति बेपत्ता पार्ने सम्बन्धि कानुनको अभाव,कानुनी हैसियतको समस्या,बेपत्ता व्यक्तिको सम्पत्ति हस्तान्तरण सम्बन्धी कानुनी जटिलता लगाएतका समस्या तथा चुनौतीहरुले गर्दा बेपत्ता व्यक्तिको छानविनमा समस्या देखिएको उहाँले बताउनुभयो ।


Views: 86