16th May | 2021 | Sunday | 2:20:05 AM

बिग्रँदो प्राकृतिक सन्तुलन मछ्ली भन्दा माझी धेरै.....

विवेक खड्का   POSTED ON : चैत्र ३१, २०७७ (५:२२ PM)

बिग्रँदो प्राकृतिक सन्तुलन मछ्ली भन्दा माझी धेरै.....

दाङ । चैतको अन्तिम साता शनिवार दाङस्थित ग्वारखोलाको उत्तरी सिरान सुंगुखोला दोभान नजिकै ठुलो संख्याको भिड थियो । वालवालिका, युवायुवती, अधवैसे देखि बृद्धबृद्धाहरुसम्मको भिड खोलामा माछा राख्ने कोर्को भिरेर खोलामा डुवुल्की मारिरहेका देखिनथे । मध्यान्न खोलामा देखिएको भिड उनीहरुकालागी आशावादी र हेर्नेहरुकालागी रोचक पनि थियो । कस्तो रोचक भने एउटा स्थानमा थुनिएको दुवालोमा माछामार्न करीव एक सयको संख्यामा माछामार्न तल्लिन थिए । सवैका कोर्कामा गन्दा माछामार्नेको संख्याजति पनि माछा फेला परेनन् । हरेक बर्ष प्राय चैत बैसाख महिनादेखि बाढि आएकावेला समेत सो खोलामा माछा मार्नेको भिड हुने उनीहरुले बताए । खासमा माछामार्ने भएकाले उनीहरुलाइ माझि संबोधन गरिएको हो । खासमा अधिकांश मगर समुदाय र केहि वाहुन क्षेत्री समेत थिए । उनीहरु तुलसीपुर उपमहानगरपालिका—१९ स्याला पानी गाउंका थिए ।

 ‘हामी त सधै यस्तैगरी पुरै गाउंले आउंछौं, माछामार्न’, ‘माछामार्न सुगुरखोला दोभान आइपुगेकि रणमती घर्तिले भन्नुभयो । तर उहाँका कोर्कामा एक भुरा पनि थिएनन् । उनीहरुले त्रिपालले खोला थुनेर चिउरीको पिना माछाको वीखका रुपमा खोलामा हालेका थिए । ताकि पिनाले लठिएका माछा समाउन सजिलो होस भनेर । ‘माछा भएपो विख लाग्नु, माछानै नभएपछि केगर्नु’ बर्षौ देखि माछामार्न आउने गरेका एक जना वयोबृद्ध अभिभावकले हिमालयटाइम्सलाई भने । उनका अनुसार अचेल खोलामा माछामात्रै घटेका छैनन्, चेपाहा, गंगटा लगायतका जलचरहरु पनि हराउंदै गएका छन् । युवायुवतीहरुको भिड माछामार्नुसंगै टिकटक बनाउन पनि खप्पिस देखिन्थ्यो । लाग्थ्यो, सुगुरखोलामा मछली मेलाको आयोजना भैरहेको छ । कसैले कोर्का, कसैले झुल, कसैले जाली त कसैले छिटुवा बोकेका थिए, माछा बल्झाउनकालागी तर उनीहरु एक छाक माछा पु¥याउनेमा आशावादी भने थिएनन् । ‘खानुको मजा भन्दा माछा मार्नुको मजा भिन्नै हुन्छ नी, त्यसैले त चार भुरालाइपनि दिनभरी विताइन्छ’—त्यहि हुलका एक युवाले भने । उनले आफ्नो नाम भन्न भने अस्वीकार गरे । पहिले पहिले सुगुर खोला दोभानमा माझिहरु दिनहु जाल लिएर माछामारीरहेका भेटिन्थे ।

बादि समुदायहरुले माछामारेरै दैनिक खर्चको जोहो गर्नेगर्थे, तर अचेल खोलामा माछाको संख्या निकै कम भएको माझिहरुले बताएका छन् । असला, कतला, चरिंगा लगायत धेरै प्रजातिका ठुला माछाहरु ग्वारखोलामा हराएका छन् । खोलाका ठाउंठाउंमा ढडिया देखिन्थे, तर अचेल त पानीनै देख्न मस्कील भएको छ’—रोल्पा जिल्लाको दक्षिणि सिमाना रुम्टिगढि गाउपालिका मेलटाकुराका स्थानियबासी दिल वहादुर पुनले भन्नुभयो । पुनले घोडामा लादेर रुण्टिगढिबाट सिमिको दाल, भागो बेच्न दाङ झर्दैगर्दा ग्वारखोलाका दर्जनौं स्थानमा ढडिया देख्ने गरेको स्मरण गरे । त्यत्तिकै स्थानमा सिलमा माछा उनेका माझिहरुले माछाको मोलतोल समेत गरीरहेका भेटिन्थे, तर यो देख्न छाडेको बर्षौ भएको दिलवहादुरको अभिव्यक्ति थियो । हो ग्वारखोलाको आधा भन्दा बढि वहाव त रोल्पा दिल्लामै छ । सिर करीव करीव होलेरी नजिक छ । त्यसैले होलेरीमा बर्षात व्यापक भयो भने ग्वारखोलाले घोराही—तुलसीपुरकै यातायात सेवा विच्छेद गराइदिन्थ्यो । हो ग्वारखोला सुक्दै आएको छ । घोराही—तुलसीपुर सडक खण्डको ग्वारखोला पुल नजिक कमिलाले खोला पारगर्ने अवस्था छ । अर्थात पानी रित्तै । त्यसभन्दा करीव दुइ किमि माथि मात्र पानी देख्न सकिन्छ । कुनैवेला ग्वारखोलाले कम्तिमा ६ महिना आवतजावत गर्न छेक्थ्यो । त्यसैले राजमार्ग उत्तरपट्टिका केहि स्थानमा झोलुंगे पुलहरु अझैपनि चालु अवस्थामा छन् । पुल बनाउन असम्भव एउटा स्थानमा त अझैपनि तुइनको अवशेष बांकि छ । जलवायु परीवर्तनको असरका कारण खोलानालामा जलचरहरुको उपस्थीति हराउंदै गएको वातावरणवीदहरुले बताएका छन् । ‘हाम्रो माछामारेरै दैनिक रोजीरोटिको व्यवस्था हुन्थ्यो, तर अचेल केहि बर्षदेखि त दिनभर बल्झाएको माछाले आफैलाइ एक छाक पनि पुग्दैन’—बर्षौदेखि ग्वारखोलामा माछा मार्दै आएका गर्जन वादिले भन्नुभयो । 

खोलामा पानीको मात्रानै कम कम हुंदै जांदा जलचर हराएर जैविकि विविधतानै धरापमा परेको छ । जसले गर्दा पर्यावरणमा समेत नकारात्मक प्रभाव देखिंदै आएको पनि वातावरणबीदहरुको बुझाइ छ । पानी संस्लेशणको अवस्था अत्यन्तै कमजोर छ । बर्षातमा परेको पानी संस्लेशणगरी जमिनमुनीको पानीलाइ सन्तुलनमा राख्ने प्रक्रियानै कमजोर भएको बताइएको छ । पानी सन्चित गर्ने मुख्य आधार भनेको चुनढुंगाको पहाड हो । तर अनियन्त्रित रुपमा चुनढुंगा उत्खनन्मा राज्यले उदार निति लिएर धमाधम लाइसेन्स दिइरहंदा प्राकृतिक सन्तुलनमा नकारात्मक प्रभाव परीरहेको छ । यसकै कारण यो बर्षको हिउदभरी एक दिन पनि बर्षात भएको छैन । चुनढुंगा मात्र होइन, पछिल्लो समयमा सडक निर्माणका नाममा धेरै क्षेत्रमा वन विनास समेत भएको छ । अझ पछिल्लो समयमा स्थानिय पालिकाहरुले आफ्नै सवयत्त अधिकार प्रयोग गरी वनसंग अनुमति नलिएरै मनोमानी वन क्षेत्रमा स्काभेटर लगाएर सडक बनाउंदै छन् । वातावरणिय प्रभाव मुल्यांकन प्रतिवेदन विनै भएका विकाश निर्माणका कारण पनि वातावरणिय सन्तुलन विग्रंदै गएको पर्यावरणविदहरुले बताएका छन् । जसले भुःक्षयसंगै अतिबृष्टि र अनाबृष्टिको समेत अवस्था सृजना भएको छ । अतिबृष्टि र अनाबृष्टि दुवै पर्यावरणिय सन्तुलनकालागी नितान्त घातक हुने पनि विज्ञहरुको भनाइ रहेको छ ।


Views: 70