16th May | 2021 | Sunday | 1:35:35 AM

सल्यानको टिमुर खेती देखेर दाङका किसान उत्साहित

विवेक खडका   POSTED ON : बैशाख ३, २०७८ (९:१२ AM)

सल्यानको टिमुर खेती देखेर दाङका किसान उत्साहित

दाङ । दाङका किसानहरूले सल्यान पुगेर टिमुर खेतीको अवलोकन गरेका छन् । पारिवारिक निजी वन संघ नेपालको आयोजनामा तुलसीपुर वडा नम्बर १,३ र ४ का गरी तीन दर्जन बढी किसानहरू सल्यानको बनगाड कुपिण्डे नगरपालिका–९ सेरा पुगेर व्यावसायिक टिमुर खेतीको अध्ययन तथा अवलोकन गरेका छन् । त्यस क्षेत्रमा ७० बढी किसानहरूले व्यावसायिक टिमुर खेती गरेका छन् । टिमुर खेतीबाट वार्षिक तीन÷चार लाख रुपैयाँ आम्दानी गर्दै आएको स्थानीय पेसली बुढाथोकी बताउनुहुन्छ ।

उहाँको आठ जनाको घरपरिवार कृषिमा आत्मनिर्भर छ । वर्षौंदेखि व्यवसायी टिमुर खेतीबाट मनग्य आम्दानी गरी घरखर्च चलाउन सहज भएको उहाँको भनाइ छ । १५ रोपनी जमिनमा लगाएको सात सय टिमुरको विरुवा तथा बोटबाट वार्षिक पाँच क्विन्टल टिमुर उत्पादन हुने र गरेर वार्षिक चार लाख रुपैयाँ आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । गाउँमा सबैभन्दा धेरै आफूहरूले टिमुर खेती गर्दै आएको उहाँको दाबी छ । अन्य किसानहरूले पनि टिमुर खेती गरेता पनि आफूहरूले अलि धेरै खेती गरेको उहाँले बताउनुहुन्छ । टिमुर खेतीबाट खाद्यान्न, दैनिक उपभोग्य सामान तथा छोराछोरीलाई लेख्न पढाउनसमेत सहज भएको उहाँले बताउनुभयो । विगतमा परम्परागत रूपमा टिमुर खेती गर्दै आएकोमा पछिल्लो समय आधुनिक तरिकाले खेती गर्दै आएको उहाँ बताउनुहुन्छ । 

त्यहाँ उत्पादन भएको टिमुर काठमाडौं, नारायणघाट, वीरगन्ज र नेपालगञ्जसम्म बिक्री हुँदै आएको छ । यसरी त्यहाँका किसानहरूले टिमुर खेतीबाट मनग्य आम्दानी गरेको देख्दा दाङका किसानहरू उत्साहित देखिएका छन् । तुलसीपुर–४ का किसान धनसिंह पुनले व्यावसायिक टिमुर खेती देख्दा आफू उत्साहित भएको बताउनुभयो । आफूले पनि टिमुर खेती गर्ने उहाँको भनाइ छ ।

घरमा एक÷दुई बोेट टिमुर भए तापनि व्यावसायिक खेती नगरेको भन्दै उहाँले अबको दिनमा टिमुर खेतीतर्फ चासो दिने बताउनुहुन्छ । भिरालो तथा समतल भुभागमा पनि सहजै विरुवा हुर्काउन सकिने हुँदा मिहिनेत र चासो दिएमा टिमुर उत्पादन गर्न समस्या नहुने उहाँको भनाइ छ । तुलसीपुरको पहाडी क्षेत्र पनि टिमुर खेतीको राम्रो पकेट क्षेत्र मानिन्छ । सोहीअनुसार गत वर्ष वडा नम्बर १, ३ र ४ मा १० हजार बढी टिमुरका विरुवा वितरण गरिएको पारिवारिक निजी वन संघ नेपाल दाङका अध्यक्ष पदम केसीले बताउनुभयो । गएको वर्ष दाङमा टिमुर खेतीको पकेट क्षेत्रको पहिचान गरी तुलसीपुरका तीन वडालाई छनोट गरिएको उहाँले बताउनुभयो । सल्यानको टिमुर खेती देखेर यस क्षेत्रका किसानहरूलाई टिमुर खेतीतर्फ प्रेरित गरी आयआर्जनमुखी बनाउने उद्देश्यले आफूहरूले अवलोकन कार्यक्रमको आयोजना गरेको उहाँको भनाइ छ । टिमुर खेतीलाई किसानहरूले वैज्ञानिक तरिकाले सञ्चालन गर्न सके मनग्य आम्दानी गर्न सकिने थुप्रै सम्भावना रहेको पारिवारिक निजी वन संघका केन्द्रीय सदस्य मेघराज भुसालले बताउनुभयो ।


Views: 32