16th May | 2021 | Sunday | 1:29:59 AM

घोराहीमा फोहोर मोहर बन्दै, ग्यास उत्पादनको अन्तिम तयारी, नगल्ने फोहोर किन्न सुरु

विवेक खड्का   POSTED ON : बैशाख ४, २०७८ (९:५६ AM)

घोराहीमा फोहोर मोहर बन्दै, ग्यास उत्पादनको अन्तिम तयारी, नगल्ने फोहोर किन्न सुरु

दाङ । दाङको घोराही उपमहानगरपालिकाले फोहोरलाई मोहरमा बदल्न थालेको छ । जसका लागि गल्नेबाट ग्यास र मल बनाउने तयारी अन्तिम चरणमा पु¥याएको छ भने नगल्ने फोहोर खरीद गर्ने अभियान सुरु गरेको छ । घोराही उपमहानगरपालिका १६ करौटीडाँडाको गरुवागाउँमा खाना पकाउने ग्यास उत्पादनको तयारी थालिएको छ ।

२०७५ साल मंसिर ५ गते त्रिपक्षीय सम्झौता गरि आगामी असार मसान्तसम्म ग्यास उत्पादन गर्ने गरि काम तिब्ररुपमा अघि बढेको हो । घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा केन्द्र र नेपाल ऊर्जा विकास कम्पनीबीचको त्रिपक्षीय सहकार्यमा फोहोरबाट ग्यास उत्पादन गर्न भौतिक पूर्वाधार निर्माण पछि अहिले मेसिन जडानको काम समेत सकिएको बायो ग्यास उत्पादन परियोजनका प्रशासन अधिकृत शारदा शर्माले जानकारी दिनुभयो ।

अहिले ग्यास प्लान्टको ९० प्रतिशत काम सकिएको र आगामी असार मसान्तसम्म पाईपलाइनमार्फत ग्यास बितरण गरिने उहाँको भनाइ छ । करिब एक हजार ६ सय घरमा पाईपलाईन मार्फत खाना पकाउने ग्यास वितरण गर्ने योजनाका साथ टोल विकास संस्था मार्फत स्थानीयहरूले फारम भर्ने काम गरिरहेका छन् ।

उक्त ग्यास उद्योग क्षेत्रका बस्ती र नारायणपुर बजार क्षेत्रमा बितरण गर्ने गरी तयारी थालिएको अधिकृत शर्माले बताउनुभयो । घर–घरमा पाईपमार्फत ग्यास जोड्ने र मिटर चलेअनुसार रकम घरधनीले बुझाउने व्यवस्था गरिएको उहाँको भनाइ छ । प्लान्ट सञ्चालनका लागि दैनिक ३० मेट्रिक टन गल्ने फोहोर आवश्यक पर्नेछ । प्लान्ट स्थापनाका लागि घोराही उपमहानगरपालिकाले झण्डै तीन बिघा जमिन २० वर्षका लागि उपलब्ध गराएको छ । पाइप लाइनबाहेक २० करोड रुपैयाँमा बनाउने गरी आयोजना सञ्चालन गरिएको हो । जसमा चार करोड रुपैयाँ वैकल्पिक ऊर्जा विकासमार्फत विश्व बैंकको अनुदान रहेको छ भने बाँकी रकम नेपाल ऊर्जा विकास कम्पनीको रहेको छ । 

ग्यास उत्पादन भइसकेपछि दैनिक सात हजार चार सय किलो प्रांगारिक मलसमेत उत्पादन गर्ने लक्ष्य लिइएको छ । उक्त मललाई प्याकेजिङ गरेर बिक्री गर्ने योजना रहेको छ । सम्झौताअनुसार २० वर्षपछि चालु अवस्थामै प्लान्ट घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता भएको सिनियर डिभिजनल इञ्जिनियर युवराज पौडेलले जानकारी दिनुभयो । त्यसैगरी, प्लान्टले कम्पनीको कुल नाफाको एक प्रतिशत रकम उपमहानगरपालिकालाई बुझाउनेसमेत सहमति भएको उहाँको भनाइ छ ।

फोहोर दिनुस्, पैसा लिनुस्

घोराही उपमहानगरपालिकाले पूर्ण सरसफाइयुक्त नगर बनाउन नगल्ने फोहोरलाई खरिद गर्न थालेको छ । नयाँ बर्ष २०७८ को शुभारम्भ सँगै उपमहानगरले नगल्ने फोहोरलाई मोहरमा बदल्ने अभियानको थालनी गरेको हो ।

योसँगै उपमहानगरले गल्नेबाट ग्यास र नगल्ने फोहोरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउने कार्यक्रमको सुरुवात गरेको हो । उपमहानगरपालिकाले प्लाष्टिक, गत्ता, कपडा लगायतका फोहोर खरिद गर्न थालेको छ । उपमहानगरको सरसफाइ व्यवस्थापन शाखाले बुधबार नयाँ बसपार्कमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले नगल्ने फोहोर खरिद गर्ने अभियानको सुरुवात गर्नुभएको हो । पानीको बोतल प्रतिकिलो १० रुपैयाँ, सुर्तीजन्य वस्तुका खोल दुई रुपैयाँ, कपडाका टुक्रा पाँच रुपैयाँ र गत्ता तथा कार्टुनलाई १० देखि २० रुपैयाँसम्म प्रतिकिलो खरिद गर्ने निणर्य भएको उपमहानगरले जनाएको छ । कार्यक्रममा नगर प्रमुख चौधरीले गल्ने र नगल्ने फोहोरलाई पैसामा बदल्ने र पूणसरसफाइयुक्त नगर बनाउने योजना रहेको बताउनुभयो ।


Views: 64