16th May | 2021 | Sunday | 3:21:54 AM

सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम पुग्नुपर्ने बाध्यता

रमेश विश्वकर्मा   POSTED ON : बैशाख ४, २०७८ (६:०१ PM)

सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम पुग्नुपर्ने बाध्यता

गुल्मी । गुल्मीमा सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम पुग्नुपर्ने बाध्यताले सास्ती पुगेको छ । चुनावमा घर–घरमा भत्ता भनेर नारा लगाएका स्थानीय तहहरुले अहिले भत्ता लिन स्थानीयलाई सदरमुकाम पठाएर सास्ती दिएका छन् ।

जिल्लाको इस्मा गाउँपालिका –१ की जानुका महत एकल महिला हुन् । उनका २ छोरीहरु छन् । छोरीको पढाई खर्च तथा दैनिकीको लागि उनले एकल भत्ताबाट काम चलाइरहेकी छिन् । राज्यले खर्च दिएपनि अहिले सदरमुकाम आउँदा सास्ती पुगेको उनले बताइन् । “पहिले–पहिले गाउँबाटै बुझ्दै आएको रकम सदरमुकाम आउदा–जाँदा सास्ती भएको छ । उनले भनिन्, “केही रकम खर्च सदरमुकाममा नै खर्च हुने गरेको छ ।”

त्यस्तै इस्मा गाउँपालिका – १ कै रामकुमारी सारुले पनि भत्ताले सहज भएको तर सदरमुकाम आउनुपर्ने बाध्यताले सास्ती हुने गरेको प्रतिक्रिया दिइन् । उनले पाउने मासिक २ हजारले नुन, तेल, चामल लगायतका दैनिक जिवनमा आवश्यक खाद्यान्न किन्ने उनी बताउछिन् । अहिले सदरमुकाम आएर खर्च हुने गरेकोले अब असहज हुने उनको पनि प्रतिक्रिया छ । आगामी दिनहरुमा भने बैकिङ्ग सेवा टोल–टोलमै पुर्याउनुपर्ने उनीहरुको माग छ ।

गाउँपालिकाले बैंकबाट भत्ता वितरण गर्न सुरु गरेपछि वडा नम्बर १, २ र ६ का नागरिकलाई सदरमुकाम तम्घासस्थित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र वडा नम्बर ३, ४ र ५ का नागरिकलाई इस्मा मैदानमा रहेको बैंक अफ काठमाडौबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।

नगद वितरण गर्दा अनियमितता

तत्कालिन अवस्थाका गाउँ विकास समिति अर्थात हालका वडा कार्यालयबाट नगद भत्ता वितरण गर्दा अनियमितता हुने भएपछि सरकारले बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरणको अवधारणा ल्याएको थियो । त्यसैलाई कार्यान्वयन गर्दै इस्मा गाउँपालिकाले दुई बैंकसँग सम्झौता गरी भत्ता वितरण गरिरहेको गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख बलाराम खनालले जानकारी दिए ।

तर, अनियमितता भत्ता बुझ्ने नागरिकले नगर्ने भन्दै आलोचना भइरहेको छ ।


नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति गुल्मीका उपाध्यक्ष रेशम कुँवरले भत्ता लिन सदरमुकाम आउनपर्ने प्रक्रिया गलत भएको बताए । “नगद बितरण गर्दा अनियमितता पक्कै भत्ता बुझ्ने नागरिकबाट हुन्न ।” उपाध्यक्ष कुँवरले भने, “जनप्रतिनिधि र कर्मचारीकाको गलत नियतले स्थानीयलाई सास्ती दिन भएन ।”

इस्मा गाउँपालिका उपप्रमुख तथा सामाजिक सुरक्षा भत्ता वितरण अनुगमन समिति संयोजक बिमला खत्रीले अहिले असहज भएको गुनासो आएपनि जोखिम र अनियमितता रोक्न बैक मार्फत वितरण थालिएको बताइन् । उनले चुनावी नारा भएकाले केही समय घरघरमै पुगेर वितरण गरिएको स्मरण गर्दै बैंकलाई पनि गाउँमै गएर वितरण गर्न आग्रह गरिएको बताइन् ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, तम्घास, उदिनढुङ्गा शाखाका प्रमुख सरोज पोखरेलले सम्बन्धित लाभग्राही वा उसले हकवाला तोकेको व्यक्तिबाहेक अरुले भत्ता लैजान नमिल्ने बताए । त्यसका साथै बैंकबाट भत्ता वितरण गर्दा आवश्यक रकम मात्र झिक्न सकिने र बैंकमा रहेको बाँकी रकमको ब्याज पनि प्राप्त हुने भएकोले लाभग्राहीलाई थप फाइदा हुने बताए । आगामी दिनमा बैंकले इस्मा गाउँपालिकाको टोल–टोलमा पुगेर भत्ता वितरण गर्ने पनि उनले जानकारी दिए ।

गाउँपालिकामा विभिन्न शिर्षकमा सामाजिक सुरक्षा भत्ताका कुल लाभग्राही ३ हजार ५३ जना रहेका छन् । जसमध्ये ७० बर्षभन्दा माथिका ज्येष्ठ नागरिक १ हजार ३ सय ५७ जना छन् । उनीहरुले मासिक ३ हजारका दरले एक चौमासिकमा १२ हजार प्राप्त गर्दछन् । दलित ज्येष्ठ नागरिक ३ सय २९ छन्, उनीहरुले मासिक २ हजार प्राप्त गर्ने खनालले बताए । ज्येष्ठ नागरिक एकल महिला ३ सय ३१ छन् । उनीहरुले मासिक २ हजार, ४ सय ११ जना विधवाले मासिक २ हजार, पूर्ण अपाङ्ग ५९ जनाले मासिक ३ हजार, ख वर्गका १ सय ३१ जना अपाङ्गले मासिक १ हजार ६ सय तथा ४ सय ३५ जना दलित बालबालिकाले मासिक ४ सय प्राप्त गर्ने शाखा प्रमुख खनालले जानकारी दिए । यो चौमासिकमा कुल २ करोड ६१ लाख ८३ हजार ९६० रुपैँया खर्च हुने खनालले बताए ।


Views: 80