15th June | 2021 | Tuesday | 10:24:57 AM

पाल्पा कोरोनाको ‘हटस्पट’ बन्यो, एकै दिन चार संक्रमितको मृत्यु

रामचन्द्र रायमाझी   POSTED ON : बैशाख २४, २०७८ (६:५९ PM)

पाल्पा कोरोनाको ‘हटस्पट’ बन्यो, एकै दिन चार संक्रमितको मृत्यु

पाल्पा  ।  पछिल्लो समय पाल्पामा कोरोना संक्रमण भुसको आगो सरह फैलिरहेको छ । केही सातायता औसतमा एक सय भन्दा माथि संक्रमित थपिने क्रम जारी छ । 

गत बुधबारमात्र  १ सय ५० जनामा पिसीआर परीक्षण गरिएकोमा १ सय ४८ जनामा  कोरोना पुष्टि भएको थियो । त्यस्तै विहिबार १ सय २५ जनामा संक्रमण पुष्टि भयो ।  शुक्रबार पनि  ९८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ९३ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका २१ जना सहित ६९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

स्वास्थ्य कार्यालयका अनुसार रामपुरका २,रैनादेवी छहराका ३२,रम्भाका ७, तिनाउका २, रिब्दीकोटका ४, निस्दीका १ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या २ हजार ७ सय ७७ पुगेको छ । जसमा ८ सय ५८ जना महिला र एक हजार ९ सय १९ जना पुरुष रहेका छन् । यस्तै शुक्रबार गरिएको एन्टिजेन परीक्षणमा २९ जना नयाँ संक्रमित देखिएका छन् । १३ महिला र १६ पुरुष गरी २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । एन्टिजेन परीक्षणमा तानसेनका १५, बगनासकालीका ९, रम्भा १,पूर्वखोला र माथागढीका २÷२ जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म २ सय १७ जनामा संक्रमण देखिएको छ ।

एकै दिन चार संक्रमितको मृत्यु

पाल्पामा एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको तानसेन नगरपालिका–१, का ८० वर्षीया महिलाको उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको छ ।  मृतक महिलाको बिहीबार दिउँसो निधन भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस्तै लुम्विनी मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित भारतीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । ती पुरुष पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको सर्देवास्थित सिजी कम्पनीमा कार्यरत थिए । कोरोना संक्रमित भई लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा ती पुरुषको बिहीबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । उता तिनाउ गाउँपालिकास्थित एक विद्यालयमा कार्यरत शिक्षकको समेत कोरोनाका कारण मृत्यु भएको छ ।मृत्यु हुनेमा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–११, का ३० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । ती पुरुष एक विद्यालयका प्रधानाध्यापक समेत रहनुभएको स्रोतले जनाएको छ । कोरोना संक्रमित ती पुरुषको बिहीबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस्तै स्याङ्जा स्थायी घर भई हाल पाल्पाको माथागढी गाउँपाािलका–३, सराईमा डेरा गरी बस्ने २५ वर्षीया महिलाको समेत कोरोनाका कारण मृत्यु भएको छ ।  बुधबार बेलुका लुम्विनी मेडिकल कलेजबाट डेरामा फर्किएकी ती महिलाको बिहीबार बिहान अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बताइएको छ ।

जिल्लामा दिनहुँ संक्रमण र मृत्यु हुनेको दर तीव्र गतिमा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जिल्ला सहित पाल्पालाई यस अघि नै संक्रमणको उच्च जोखिमको सूचीमा राखेको छ । १० स्थानीय तहमध्ये तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, माथागढी गाउँपालिका बढी प्रभावित देखिएका छन् । अन्य तहमा पनि कोरोना भने फैलिएकै अवस्था छ । स्थानीय सरकार र नागरिक दुवैका कमजोरीले जिल्लामा संक्रमणको उच्च जोखिम रहेको सरोकारवालाहरु बताउँछन् । कोरोनाको पहिलो चरणको सुरुवातमा एक ÷दुई जनामा कोरोना संक्रमण देखिएपछि एकाएक आत्तिएको पाल्पा अहिले शान्त छ । दिनहुँ संक्रमित देखिँदा समेत पनि स्थानीय निकायले केही गरेका छैनन् । कुनै समय भने अताल्लिएर आफ्नो क्षेत्रमा शिल गर्दै आएका थिए । अहिले केही छैन । संक्रमित थपिने थपियोस् । मर्ने मरोस् । कसैलाई मतलब छैन । संक्रिय संक्रमित २ सय नाघेपछि स्थानीय प्रशासनले गत वैशाख १७ गते राती १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । त्यो बाहेक संक्रमण नियन्त्रणका उपायहरु भने अवलम्वन गरिएको छैन । यसअघि हटस्पट बन्ने खतरा भएका जिल्लाहरुमा संक्रमित घट्दै गइरहेका छन् । तर पाल्पामा भने बढ्दै गइरहेका छन् । संक्रमितको दैनिक विवरणलाई हेर्दा पनि यहाँको स्थिति भयावह हुन सक्ने निश्चित छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा १९ जनाले कोरोना जितेका छन् । शुक्रबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ९ जना महिला र १० जना पुरुषले कोरोना जितेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ७, रामपुर नगरपालिकाका ३,माथागढी गाउँपालिकका ३, रैनादेवी छहरा गाउँपालिकाका ३, बगनासकाली गाउँपालिकाका २, तिनाउ गाउँपालिकाका १ जना संक्रमितले कोरोना जितेको जनाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या दुई हजार एक सय १४ पुगेको छ । कोरोनाका कारण अहिलेसम्म ४६ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ८ सय ३४ पुगेको छ । अहिलेसम्म जिल्लामा ७ सय ७३ जना होम आइसोलेसनमा रहेका छन् भने ६१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


Views: 58