15th June | 2021 | Tuesday | 8:59:33 AM

कोरोना युद्धमा होमिएका ‘सेना’

रामचन्द्र रायमाझी   POSTED ON : बैशाख २५, २०७८ (११:०४ AM)

कोरोना युद्धमा होमिएका ‘सेना’

पाल्पा । कुनै समय म पनि संक्रमित हुनसक्छु भन्ने तीतो यथार्थ मनमा बोकेर संक्रमितको सेवामा होमिनु पक्कै सहज छैन । तर महामारीले विश्व नै आतंकित बनेको यो समयमा दिनरात नभनी  पाल्पाका केही युवाहरु संक्रमितहरुको सेवामा खटिएका छन् । यहाँ यि युवाहरुका लागि यो समय बाध्यकारी अवस्था मात्रै होइन, चुनौतीसँगै अवसर पनि हो । आफ्नो पेशाप्रतिको उत्तरदायित्व बोध गराउने समयका रूपमा पनि यो समयलाई लिन सकिन्छ ।
विश्वका सबै मानिस कोरोना भाइरससँग सुरक्षित रहन घरभित्रै बसिरहेको बेला यहाँका केही युवाहरु भने घरबाट बाहिर निस्किएर कोरोना युद्धमा होमिएका छन् । संन्दीप कंडेल,बिष्णु केसी र सुरज खाती जस्ता हजारौ चिकित्सक, विषेशज्ञ, नर्स तथा प्रयोगशालामा खट्नेहरु देश भर छन् । लाखौ लाख स्वाथ्यकर्मी र नर्सहरुसंगै तानसेनमा कार्यरत यी युवाहरु यहाँका केही प्रतिनिधी पात्र बनेका छन् । तानसेनको धोवीधारामा स्थापना भएको पिसिआर परीक्षण प्रयोगशालामा उनीहरु कार्यरत छन् ।  विहानको झिस्मीसेसँगै रातीको अवेरसम्म उनीहरु ल्यावमै व्यस्त देखिन्छन्् । उनीहरुलाई खाना पकाउँने र खान पनि फुर्सद हुँदैन् ।  विहान आँखा मिच्दै स्वाव संकलन गर्ने यी युवालाई साँझ रिपोर्ट तयार गर्न भ्याई नभ्याई हुन्छ । दिन वितेकै थाहा हँुदैन उनीहरुलाई । उनीहरुको दैनिकी व्यक्तिगत जीवनका लागि भन्दा पनि जोखिम मोलेर सेवा नै धर्म हो, भन्ने भावनाबाट प्रेरित भएको भान हुन्छ ।   
सिमित साधन र स्रोतलाई झेलेर,छिटो, छरितो सेवा दिदाको आनन्द नै बेग्लै आउँने अनुभव सुनाउनुहुन्छ पिसिआर प्रयोगशाला पाल्पाका प्रमुख मेडिकल टेक्नोलोजिस्ट सन्दीप कंडेल । उहाँ भन्नुहुन्छ ‘हामीले धेरै सुविधा पाएर काम गर्ने मौका पाएका थियौ, तर यो काम केवल पैसाका लागि मात्र भन्दा पनि सेवाको भावनासँग जोडिएका कारण काम गरि रहेका छौ, पाल्पा अस्पतालले सञ्चालन गरेको यो प्रयोगशाला पाल्पाको गहना हो, हामीले यसलाई राम्रो बनाउँनुपर्छ भन्ने सोंचले काम गरेका हौ ।’ अस्पताल व्यवस्थापन समिति,प्रशासन र यहाँ सेवा लिन आउँने हरेक सेवाग्राहीको माया र ममताले काम गर्ने उर्जा थपेको  कंडेलको भनाई छ । अर्का मेडिकल ल्याव टेक्निसियन विष्णु केसी भन्नुहन्छ, ‘देशलाई संकट परेको बेला हामी आधापेट खाएर पनि सेवा गर्न तयार भएका हौं,हाम्रा अनुकन समस्याहरु बुझ्ने मान्छेहरु भने अत्यान्तै कम छन् ।’ ‘महामारीको यो युद्धमा हामी नागरिकहरुको सुरक्षाका लागि दिनरात नभनि सेवामा समर्पित हुने छौं’ अर्का मेडिकल ल्याव टेक्निसियन सुरज खातीको भनाई छ । कोरोना महामारीका बेला मान्छे एक–अर्कालाई छुन पनि डराइरहेका छन् । महामारीबाट जोगिन यो समय घरभित्र बस्ने हो भने कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिसम्म पुग्न पनि सक्दैन । तर यो छुट स्वास्थ्य क्षेत्रमा रहेका यि स्वास्थ्यकर्मीहरूलाई छैन । स्वास्थ्यकर्मी पनि आफ्नो सुरक्षाको ख्याल गर्दै घरभित्र बस्ने हो भने अवस्था कस्तो होला ? कल्पनासमेत गर्न सकिँदैन । त्यसैले यो महामारीका मुख्य योद्धा भनेकै स्वास्थ्य क्षेत्रमा खटिएका स्वास्थयकर्मी नै हुन् ।


जोखिम मोलेर संक्रमितको सेवामा
पाल्पा कोरोना ‘हब’का रुपमा यति बेला परिचित छ । संक्रमण र मृत्युदर बढ्दो छ । अक्सिजन, आईसीयूलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री पर्याप्त छैन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ल्लामा निषेधाज्ञा जारी छ । सार्वजनिक गाडीहरु सञ्चालन हुन सकेका छैन । जिल्लामा सञ्चालित एम्बुलेन्सहरु पनि पर्याप्त मात्रमा छैनन् । जसले गर्दा कोरोना संक्रमितहरु अस्पतालसम्म पुग्नको लागि सहज छैन । यस्तो अवस्थामा जिल्लाका एक युवा व्यवसायीले भने आफ्नो ज्यान जोखिममा राखेर संक्रमितहरुलाई निजी गाडीमा राखेर अस्पताल पु¥याउने गरेका छन् ।
पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा  युवा व्यवसायी, समाजसेवी यादवसिंह कार्कीले आफ्नै गाडीमा कोरोना संक्रमित बिरामीलाई सेवा दिइरहनु भएको छ । कार्की पाल्पा जिल्ला र आसापासका क्षेत्रमा कोभिड संक्रमणले विरामी परेकाहरुलाई अस्पतालसम्म लैजाने र ल्याउँने कार्यमा सक्रिय भएर लाग्नु भएको छ । उहाँले संक्रमणम भएका कतिपयले एम्वुलेन्स र यातायातका साधन नपाएर दुख पाइरहेको अवस्थामा आफैले अस्पताल पु¥याउने र ल्याउने गर्नु भएको छ । निषेधाज्ञाको यो बीचमा अहिले उहाँले लुम्विनी मेडिकल कलेज , पाल्पा मिसन अस्पताल र बुटवलका विभिन्न अस्पतालहरुमा विरामी लैजाने र ल्याउने गरेको बताउनुहुन्छ ।  
कार्कीले कोही पनि नागरिक विरामी परेर समस्यामा भए आफुलाई सम्पर्क गर्न समेत सामाजिक सञ्जालमार्फत आग्रह गर्दै आउनुभएको छ । सेवा नै धर्म हो भन्ने भावले प्रेरित हुनुभएका कार्कीले कोही पनि बिरामी अस्पताल पुग्न नसक्ने अवस्था भएमा आफु संक्रमण रोगको प्रवाह नगरी सेवामा खटिने बताउदै आउनुभएको छ । उहाँको यो कार्यप्रति सबैतिरबाट प्रसंशा गरिएको छ । कार्कीले यो संकटका बेला देखाएको सहयोग र सद्भाव स्थानीय, प्रदेश र संघीय सरकारका लागि भने चुनौती विषय बनेको  छ ।


Views: 80