अर्घाखाँचीमा फेरी निषेधाज्ञा थप, असार ७ गते सम्म लागु हुने

श्याम घिमिरे   POSTED ON : जेठ ३१, २०७८ (७:२१ PM)

अर्घाखाँचीमा फेरी निषेधाज्ञा थप, असार ७ गते सम्म लागु हुने

अर्घाखाँची । अर्घाखाँचीमा पाँचौ पटक निषेधाज्ञा जारी गरिएको छ । यही जेठ २० गते राति देखि जेठ ३१ गते मध्यरातसम्मलाई चौथोे पटक जारी गरिएको निषेधाज्ञाको अवधि सकिनैलाग्दा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले असार ७ गते मध्यरातसम्मका लागि पुनः १ हप्ता निषेधाज्ञा थप गरेको हो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र अर्घाखाँचीको सोमवार सन्धिखर्कमा बसेको  बैठकले केहि परिमार्जन सहित निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो । 

गत वैशाख २० गतेदेखि ३१ गतेसम्मका लागि जिल्लामा पहिलो पटक निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता जेठ १, १० र २१ गते क्रमशः दोस्रो,तेस्रो र चौथो पटक निषेधाज्ञा जारी गरिएको थियो । जिल्लामा कोभिड–१९ संक्रमणको दर घट्दै गए पनि जोखिम कायमै  रहेकोले निषेधाज्ञाको अवधि थप गरिएको प्रजिअ पौडेलले  बताउनुभयो । 

यसअघि खाद्यान्न तथा किराना पसल र अत्यावश्यक सामग्रीका पसलहरु बिहान ६ बजे देखि ९ बजेसम्म खुल्दै आएकोमा असार १ गतेदेखि भने होटल, रेष्टुरेण्ट, पार्टीप्यालेस,व्युटीपार्लर र शैलुनबाहेकका अन्य पसलहरु बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म खुलागर्ने निर्णय गरिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।  विद्यालय, कलेज र सार्वजनिक सवारी सधानहरु भने पूर्णरुपमा बन्द रहनेछन् ।  

आदेशको उल्लंघन गर्ने उपर कोभिड – १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश,२०७८,को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कडा कारबाही हुने बताईएको छ ।

जिल्लामा सोमवार साँझसम्म २३ सय ६४ जनामा  कोरोना संक्रमण  देखिएकोमा ६२ जनाको ज्यान गइसकेको छ । यस्तै २ हजार १० जना कोरोना संक्रमणमुक्त भएका छन । अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा २९२ जना सक्रिय संक्रमित आईसोलेशनामा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । 


Views: 94

Top