समितिको लापरवाहीले दूषित पानी पिउन बाध्य तानसेनका जनता

रामचन्द्र रायमाझी   POSTED ON : श्रावण २०, २०७८ (९:४६ AM)

समितिको लापरवाहीले दूषित पानी पिउन बाध्य तानसेनका जनता

पाल्पा । तानसेनको खानेपानी वितरणको जिम्मा पाएको तानसेन खानेपानी उपभोक्ता समितिको लापरवाहीको कारण तानसेनका उपभोक्ताहरु दूषित पानी  पिउन बाध्य भएका छन् । समितिले  बेवास्ताका कारण यहाँका उपभोक्ताहरु विगत दुई महिनादेखि हिलो, धमिलो, कालो लेदो सहितको पानी पिउँन बाध्य भएका हुन् ।

 निरन्तर धारामा धमिलो लेदोसहितको पानी आउँदा समेत समितिले समस्याको पहिचान नगरि पानी वितरण गरिरहेको छ ।  सरकारी स्वामित्वमा रहेको तानसेनको खानेपानी व्यवस्थापन केही वर्ष पहिले उपभोक्ता समितिमा हस्तान्तरण भएको थियो तर उपभोक्ता समितिका पदाधिकारीहरुको चरम लापरवाहीका कारण तानसेनका खानेपानी उपभोक्ताहरु हैरानी भएका छन् । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका तानसेनवासीहरु कालीगण्डकीको पानी आएपछि उत्साहित बने पनि दूषित पानी आउन थालेपछि भने उपभोक्ता चिन्तित बनेका छन् । नगरवासीले तानसेन खानेपानी उपभोक्ता समितिले वितरण गर्ने खानेपानी पिउन योग्य नभएको भन्दै गुनासो गर्दै आइरहेका छन् । उनीहरुले उपभोक्ता समितिको चरम लापरवाहीका कारण दुई महिना यता धारामा हिलो, धमिलो सहितको पानी वितरण भइरहेको बताएका छन् । तानसेन भगवती टोलमा बस्दै आएकी शर्मिला थापाले धारामा धमिलो पानी आउन थालेपछि सबैले पानी छानेर उमालेर पिउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘फोहोर पानीका कारण रोग लाग्ने डरले दिनहुँ पानी उमालेर पिउने गरेका छौं ।’ यस्तै तानसेन मखनटोलमा कोठा भाडामा बस्दै आउनुभएकी गीता सारुले पनि धारामा फोहोर पानी आउन थालेपछि खानेपानीको समस्या भएको बताउनुभयो । उहाँले समितिको लापरवाहीले धारामा फोहोर पानी आएको आरोप लगाउनुभयो । समस्याबारे जानकार रहँदा रहँदै पनि खानेपानीप्रति उपभोक्ता समितिले बेवास्ता गरेको तानसेनवासीले आरोप लगाएका छन् । उपभोक्ता समितिले तानसेनको खानेपानी समस्या समाधान गर्न कालीगण्डकी लिफ्ट खानेपानी आयोजना सञ्चालन गरेको छ । समितिले गत जेठ ९ गतेदेखि कालीगण्डकीको पानी तानसेनका टोल–टोलमा वितरण गरे पनि फोहोर सहितको पानी आएपछि उपभोक्ताहरु हैरानी भएका छन् ।

तानसेन खानेपानी उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष तथा प्रदेश सांसद डा. पुरनमान बज्राचार्यले भने खानेपानी धमिलो र लेदो आएको स्वीकारे पनि पानी परीक्षण गरिएकाले खानायोग्य भने रहेको बताउनुभयो । बर्खाको समय भएकाले पानीको मुहानबाटै फोहोर पानी आएको उहाँले बताउनुभयो । कालीगण्डकीको पानी मुहानमा पस्न गएकाले पानी धमिलो, लेदो आउने गरेको डा. बज्राचार्यको भनाई छ । यस विषयमा उपभोक्ता समितिले लापरवाही गरेको भने भन्न नमिल्ने उहाँले बताउनुभयो । डा. बज्राचार्यका अनुसार भुल्के र सिस्नेको पानी पनि लिफ्टिङ कालीगण्डकीकै पानीमा मिसाइएको छ । यहाँ भुल्केको पानीमा पनि सडक निर्माण गर्दा पाइपमा फोहोर पसेकाले धमिलो आउने गरेको छ । पटक–पटक ट्याङकी सफा गर्दै आए पनि मुहानबाटै पानी फोहोर आएका कारण समस्या उत्पन्न भएको समितिका कार्यवाहक अध्यक्ष बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी तानसेनवासीलाई स्वच्छ पानी उपलब्ध गराउने कार्यमा गम्भीर बनेका छौं , छिट्टै कालीगण्डकी मुहानमा मर्मतको काम गरिने छ, त्यो समयसम्म कालीगण्डकीको पानी वितरण बन्द गरी भुल्के र सिस्नेको पानी वितरण गरिने छ ।’ यि दुई स्थानको पानी वितरण गरे पनि तानसेन उपभोक्तालाई भने पुग्ने देखिदैन । यसको तत्काल दीर्घकालीन समाधान खोजिनुपर्ने तानसेनवासीको माग छ । महिनौंसम्म धारामा पानी नआउने, कहिले अनियमित वितरण, कहिले फोहोर र धमिलो पानी यस्तै समस्या सदरमुकामवासीले विगतदेखि नै भोग्दै आएका छन् ।

 समितिमा समस्यै समस्या 

राजनीतिक भागबण्डाको आधारमा बनाइएको उपभोक्ता समितिमा काँग्रेसबाट चकोरमान शाक्य अध्यक्ष बन्नुभएको थियो ।  गत वर्ष उहाँको निधन भएपछि तानसेन खानेपानी उपभोक्ता समिति नेतृत्व विहिन भएको छ । का.वा. अध्यक्षमा एमालेबाट उपाध्यक्ष बन्नुभएका प्रदेश सांसद पुरनमान बज्राचार्य रहनुभएको छ । यस्तै सचिवमा माओवादीका केशव पौडेल र कोषाध्यक्षमा राप्रपाका भीमसेन कार्की रहनुभएको छ । दलीय भागबण्डाको आधारमा अन्य सदस्यहरु समेत रहेका छन् तर उपभोक्ता समितिले उपभोक्ताको हित विपरित काम गर्ने गरेको भन्दै तानसेनमा बेलाबेलामा समिति विरुद्ध उपभोक्ताहरु सडकमा समेत आउने गरेका छन्,।  कहिले महिनौं सम्म धारामा पानी नआउने, कहिले अनियमित वितरण, कहिले फोहोर र धमिलो पानी, कहिले के यस्तै समस्याका बीच तानसेनको खानेपानी समिति गुज्रिरहेको छ । लिफ्टिङ्ग गरेर खानेपानी ल्याउने तानसेनमा विद्युत महशुल बढी आउने भएकोले घाटा लाग्ने गरेको समितिको भनाई छ तर बैज्ञानिक खानेपानी व्यवस्थापनमा भने समितिको ध्यान जान सकेको छैन । 

तानसेनमा खानेपानी समस्याको समाधानका लागि लामो समयपछि कालीगण्डकी लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आएको छ तर त्यसयता तानसेनको खानेपानी धारामा हिलाम्य, लेदो, सेतो फिंज, कालो लेदो, रातो जस्ता रंगी विरंगी पानी खान उपभोक्ता बाध्य भएका छन् । केही उपभोक्ताले आजित भएर सामाजिक संजालमा फोटो हाल्दै विरोध त गरेका छन् तर त्यसको सुनुवाई कहि कतैबाट भएको छैन । कहिले १५ दिन त कहिले एकहप्तामा धारामा पानि आउँछ तानसेनका एक उपभोक्ताले भन्नुभयो, तर धमिलो पानीले गर्दा रोगको जोखिम बढाएको छ । धमिलो लेदो पानीले झाडापखला लगायतका संक्रमण फैलिन सक्ने भएपनि उपभोक्ता समितिले त्यसको व्यवस्थापनमा भने ध्यान दिन सकेको छैन । उपभोक्ता समितिको चरम लापरवाहीको कारण तानसेनमा खानेपानी समस्या समाधान हुन सकेको छैन । तानसेनमा धारा वितरणमा समेत लामो समयदेखि समस्या रहेको छ, माग अनुसार धारा वितरण नहुने, पहुँचको आधारमा धारा वितरण हुने गर्दा तानसेनको खानेपानीको समस्या समाधान हुन नसकेको हो ।


Top