कोभिड थर्ड वेभ सामनाको पूर्व तयारीमा बेलझुण्डी अस्पताल

विवेक खड्का   POSTED ON : श्रावण २०, २०७८ (३:४६ PM)

कोभिड थर्ड वेभ सामनाको पूर्व तयारीमा बेलझुण्डी अस्पताल

दाङ । कोरोना भाइरसको संक्रमण फेरि उक्लिँदै गर्दा प्रदेश सरकारको मातहतको अस्थायी कोरोना विशेष अस्पताल बेलझुण्डीले थर्ड वेभको सामना गर्न अधिकतम तयारी गरेको बताएको छ ।

कोरोना भाइरसको संक्रमणको दोस्रो लहरमा बिरामीलाई आवश्यक सेवा उपलव्ध गराउन निकै समस्या व्यहोरेको सो अस्पताल अहिले भने आवश्यक तयारीको अवस्थामा रहेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताउनुभयो । आवश्यक स्वास्थ्यकर्मीहरु, अक्सिजन, विशेषज्ञ चिकित्सक लगायत अधिकतम तयारीमा अस्पताल व्यवस्थापन जुटेको पनि उहाँको दावी छ ।

‘अब अक्सिजन नपाएर कुनै पनि बिरामीले ज्यान गुमाउनुपर्ने छैन, बेडको अभावमा वरण्डामा उपचार गर्ने अवस्था पनि हुने छैन’, अस्पतालका व्यवस्थापक वलीले भन्नुभयो । यसअघि दोस्रो लहर सम्म नेपालगञ्जबाट अक्सिजन ल्याएर बिरामीहरुलाई उपलब्ध गराउँदै आएको कोरोना विशेष अस्पतालले अब घोराहीको झिङ्नीमा सञ्चालनमा आएको अक्सिजन प्लान्ट, प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको अक्सिजन प्लान्टबाट समेत सहजरुपमा अक्सिजन आपूर्ति गर्ने तयारी गरेको छ ।

‘मैले सुनेको छु, सम्भवतः एक महिनामा सोनापुर सिमेन्ट दूधरासमा पनि अक्सिजन प्लान्ट रन हुँदैछ, त्यहाँ उत्पादन हुने अक्सिजनले बेलझुण्डी कोरोना अस्पतालको आवश्यकता मात्र नभएर समग्र राप्ती अञ्चलभरी पुग्ने अनुमान गरेका छौं’, अस्पताल व्यवस्थापक वलीले भन्नुभयो । सो अस्पतालमा कोरोना भाइरसको पहिलो वेभमा २५ वटा मात्र अक्सिजन सिलिण्डरबाट काम चलाइएको थियो भने दोस्रो वेभमा २ सय २२ सिलिण्डरसम्म प्रयोग भएका थिए ।

हाल प्रदेश सरकारबाट समेत प्राप्त सिलिण्डर गरी बेलझुण्डी कोरोना विशेष अस्पतालमा ३ सय २५ अक्सिजन सिलिण्डर रहेका छन् । ‘अस्पतालमा अक्सिजन पाइँदैन कि भनेर अब घरमै सिलिण्डर लगेर लुकाउनुपर्ने अवस्था रहँदैन, करिब एक हजार सिलिण्डर अक्सिजन दाङ जिल्लाकै विभिन्न स्थानका अक्सिजन प्लान्टमा रिफिल गर्न सकिने छ’, व्यवस्थापक वलीले भन्नुभयोे ।

सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै बेलझुण्डी अस्पतालले अस्पतालमा बिरामीको बेड क्षमता समेत बढाउने बताएको छ । अहिले अस्पतालमा ८ जना मात्रै संक्रमितहरुको उपचार भइरहेको भए पनि अस्पतालमा कोरोना भाइरसको दोस्रो लहर उच्च विन्दुमा पुगेका बेला ७७ जनासम्म बिरामीको बेलझुण्डीमै दैनिक उपचार भएको थियो । ‘हामीले अब बेड संख्या बढाएर १ सय पु¥याउँदैछौं’, व्यवस्थापक वलीले भन्नुभयोे– ‘यसमा आइसियु र एनआइसियु बेड पनि थपिने छन् ।

अस्पतालमा हाल ४ वटा भेण्टिलेटर र केही एचडियु बेड पनि रहेका छन् । प्रदेश सरकारले सो अस्पतालमा बेड संख्या एक सय पु¥याउन निर्देशन दिएसँगै अहिले अस्पताल व्यवस्थापनले बेड संख्या बढाउने कसरतमा लागेको छ । ‘हाल सञ्चालनमा रहेका २५ वटा जनरल बेडलाई बढाएर ६० पु¥याइने छ, १५ वटा आइसियु बेडलाई बढाएर २५ पुराइनेछ’, अस्पतालका व्यवस्थापक वली भन्नुहुन्छ– ‘बालबालिकाहरुमा पनि हुनसक्ने संक्रमणलाई उपचार गर्नका लागि १० वटा एनआइसियु बेडसमेत सञ्चालनको तयारी भइरहेको छ ।

कोरोना भाइरसको संक्रमणको तेस्रो लहरमा बालबालिकाहरु बढी प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रादेशिक अस्पताल तुलसीपुरमा बालबालिकाहरुको उपचारका लागि एनआइसियु सेवा सञ्चालनको तयारी पनि बेलझुण्डी कोरोना विशेष अस्पतालले गरेको छ । प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको निर्माणाधीन योगा हलमा रहेका दशवटा कोठालाई समेत आवश्यक परेको अवस्थामा एनआइसियु तथा आइसोलेसन वार्डका रुपमा पनि प्रयोग गर्ने गरी तयारी भइरहेको पनि बताइएको छ ।

त्यसैगरी चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारी पनि तयारी अवस्थामा रहेको अस्पतालले जनाएको छ । बिरामीको अभावमा हाल केही स्वास्थ्यकर्मीहरु विदामा रहे पनि आवश्यक परेका बेला काममा आउन सक्ने गरी अतिरिक्ति चिकित्सकहरु पनि सम्पर्कमा रहेका छन् । प्रदेश सरकारले कोरोना विशेष अस्पतालमा १ सय ७७ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको भए पनि हाल अस्पतालमा ८ जना मात्र बिरामी रहेकाले स्वास्थ्यकर्मी र कर्मचारीहरु पनि विदामा रहेका छन् ।

हाल सो अस्पतालमा ३ जना फिजिसियन, ७ जना मेडिकल अफिसर, १७ जना स्टाफ नर्स, ३ जना हेल्थ असिस्टेन्ट, ३ जना अहेव, ३ जना ल्याव टेक्निसियन तथा १७ जना सरसफाईकर्मीहरु कार्यरत रहेका छन् । अघिल्लो पटकको कोरोना भाइरसको संक्रमणको समयमा सो अस्पतालमा अक्सिजनकै अभावका कारण केही संक्रमितले ज्यान गुमाउन समेत विवश हुनुपरेको थियो भने दर्जन बढी बिरामीहरुलाई हेलिकप्टर चार्टर गरेर पनि राजधानीलगायत चितवन र पोखराका सुविधासम्पन्न अस्पतालमा उपचारका लागि लगिएको थियो ।

धेरै संक्रमितहरुले अस्पतालको त्यो अवस्था देखेपछि घरमै आइसोलेसनमा बसेर उपचार गरी निकोसमेत भएका थिए । त्यसैगरी अस्पतालमा आउने बिरामीका कुरुवा तथा बिरामीका लागि खाना तथा खाजाका लागि चमेना घरको समेत व्यवस्थापन भएको अस्पतालले जनाएको छ ।

नजिकका बिरामीहरुले घरबाटै पनि खाना लिएर बिरामीलाई खुवाउन सक्ने भए पनि टाढाका बिरामीहरुका लागि अस्पताल परिसरकै क्यान्टिनबाट खाजा, खाना र आवश्यकताअनुसारका पोसिलो खाना उपलब्ध हुने पनि अस्पताल व्यवस्थापनले जनाएको छ । ‘सकेसम्म बिरामीलाई रिफर नगर्ने गरी अस्पतालको अझै स्तरबृद्धि हुन आवश्यक छ, यसमा यहाँका स्थानीय पालिकाहरु, प्रदेश सरकार र संघीय सरकारको पनि निरन्तर सहयोगको अपेक्षा गर्दछौं’, अस्पताल व्यवस्थापक वलीले भन्नुभयो ।

प्रतिष्ठानमा अक्सिजन उत्पादन सुरु

यसैविच घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन उत्पादन सुरु भएको छ । प्रतिष्ठानले भर्खरै अक्सिजन प्लान्ट जडानको काम सम्पन्न गरिसकेपछि सोमवारदेखि विधिवत्रुपमा अक्सिजन उत्पादन सुरु भएको घोषणा गरिएको छ । अब दैनिकरुपमा करिब १ सय सिलिण्डर अक्सिजन सो प्लान्टबाट उत्पादन हुनेछ । प्रतिष्ठानले अहिले सिलिण्डरका अतिरिक्त प्रतिष्ठानको आइसियु र अन्य बिरामी भर्ना कक्षमा सोझै पाइपलाइन जडान गरी अक्सिजन वितरणको व्यवस्थापन गरेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. संगीता भण्डारीले मेसिनको स्वीच अन गरेर अक्सिजन उत्पादनको शुभारम्भ गनुृभएको छ । यससँगै अक्सिजन प्लान्ट जडान गरिएको भवनमा पूर्व निर्देशक डा. सागर पन्थीले रिवन काटेपछि प्रतिष्ठानका प्रमुख सल्लाहकार नारायणप्रसाद भुसाल र प्रतिष्ठानका निर्देशक डा. प्रभा सिंह बस्नेतले अक्सिजन प्लान्टको शिलालेख अनावरण गनृभएको थियो  ।

‘अब हाम्रो आइसियु सेवा सहजरुपमा निरन्तर चलिरहने छ, अक्सिजन प्लान्टको निर्माणसँगै कोभिडका बिरामीहरुलाई पनि अक्सिजनको अभाव हुने छैन’, अक्सिजन प्लान्टको शुभारम्भ गर्दै प्रतिष्ठानका उपकुलपति प्रा.डा. भण्डारीले भन्नुभयो । शल्यक्रियापछिको आइसियु सेवा, दीर्घरोगी तथा दुर्घटनालगायत सबै गम्भीर बिरामीहरुका लागि अब प्रतिष्ठानमा अक्सिजन आपूर्ति सहज हुनेछ । प्रतिष्ठानलाई आवश्यक नभएको अक्सिजन सिलिण्डरमा भरेर अन्य स्वास्थ्य संस्थामा पनि लैजान सकिने बताइएको छ ।

प्रतिष्ठानका अनुसार यो प्लान्टसँगै केही दिनपछि अर्को अक्सिजन प्लान्ट पनि थप हुने बताइएको छ । ‘प्लान्ट खरिदका लागि बजेट प्राप्तिसँगै टेण्डर प्रक्रियासमेत अगाडि बढिसकेको छ, अर्को महिनासम्ममा थप २ सय सिलिण्डर दैनिकरुपमा भर्न सकिनेगरी अर्को अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याउने छौं’, उपकुलपति भण्डारीले भनिन् । अक्सिजनको नियमित आपूर्तिको व्यवस्थापनसँगै अब आइसियु सेवा पनि पूर्णरुपमा रन भएको पनि बताइएको छ ।

यदि तेस्रो वेभ पनि थप संक्रामकरुपमा फैलियो भने पनि अब प्रतिष्ठानले कोभिडका बिरामीलाई अन्त रिफर गर्नुपर्ने अवस्थाको अन्त भएको पनि जनाएको छ । कम्तीमा एक सय कोभिड संक्रमितहरुको उपचार गर्न सक्ने गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले तयारी गरेको पनि सो अवसरमा जानकारी दिइएको छ । संघीय सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बजेट उपलब्ध गराएसँगै यो अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो । दोस्रो लहरको कोरोना संक्रमणको समयमा प्रतिष्ठानले अक्सिजन अभावकै कारण देखाउँदै बिरामीहरुलाई अन्य अस्पतालमा समेत रिफर गरेको थियो । तर अब यो समस्या टरेको छ ।

रेक्टर र रजिष्टारको पदभार

यसैबीच सोमवारै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष (रेक्टर) र रजिष्टारले पनि पदभार गरेका छन् । नवनियुक्त शिक्षाध्यक्ष बसन्त लामिछाने र रजिष्टार प्रकाश थापालाइ प्रतिष्ठानका उपकुलपति प्रा.डा. संगीता भण्डारीले पद र गोपनियताको सपथ खुवाउनुभएको छ ।

शिक्षाध्यक्ष लामिछाने यसअघि नै प्रतिष्ठानमा डिनका रुपमा कार्यरत हुनुहुन्थ्यो भने नवनियुक्त रजिष्टार थापा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रशासन र फाइनान्स शाखामा विशेष जिम्मेवारी निर्वाह गरिसकेका व्यक्तित्व हुनुहुन्छ । पदभार ग्रहण गरेसँगै शिक्षाध्यक्ष लामिछानेले यही बर्ष प्रतिष्ठानले कम्तीमा तीन वटा शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने उद्घोष गनुृभयो । ‘मैले ममाभन्दा पनि हामीमा विश्वास गर्दछु, तपाईहरुको व्याक सपोर्टले मात्र प्रतिष्ठानको अग्रउन्नति हुनेमा हामीहरु धेरै आशावादी छौं’, पदभार ग्रहण गर्दै शिक्षाध्यक्ष लामिछानेले भन्नुभयोे ।

त्यसैगरी नवनियुक्त रजिष्टार प्रकाश थापाले आफूलाई प्रतिष्ठानमा ल्याउन विशेष भूमिका निर्वाह गर्ने तात्कालीन शिक्षामन्त्री तथा प्रतिष्ठानका सहकुलपति कृष्णगोपाल श्रेष्ठलाई विशेष धन्यवाद दिँदै आफू प्रतिष्ठानको विकासमा सदैव निष्पक्ष एवं निष्ठावान भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सो अवसरमा प्रतिष्ठानका प्रमुख सल्लाहकार नारायण भुसालले प्रतिष्ठानलाई सबैभन्दा पहिले उपयुक्त स्थानमा जग्गा प्राप्ति रहेको बताउँदै आफ्नो टिम त्यसैमा लागिरहेको बताउनुभयो ।


Top