११ लाख १८ हजार बराबरको अवैध सामान बरामद

दीपक घिमिरे   POSTED ON : श्रावण २१, २०७८ (१०:२५ AM)

११ लाख १८ हजार बराबरको अवैध सामान बरामद

भैरहवा । रुपन्देही प्रहरीले ११ लाख १८ हजार बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र कार्यालय मातहत विभिन्न प्रहरी इकाईहरुले मंगलबार अवैध सामान फेला पारी स्थानीयहरुको रोहवरमा बरामद गरेका हुन् ।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट टोलीले विभिन्न कम्पनीका मोबाइल सेट ३७ पिस, ईयरफोन १७५ पिस, ब्लुतुथ ५ पिस र मोबाइलको व्याट्री–१०० पिस गरी जम्मा ८ लाख २० हजार रहेको अवैध मोबाइल समेतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बरामद गरिएका सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले लु ६ प ३०२५, लु ५ प ५०८८ र युपी ५३ ए ६९१६ नम्बरको मोटरसाइकलमा रोहिणी गाउँपालिका–४ छिपागढका १८ वर्षिय मुबारक मुसलमान, सोही स्थानका १९ वर्षिय नजरे आलम र १९ वर्षिय अनिल बानियाले ल्याउँदै गरेको अवस्थामा १५० पिस ब्रोईलर कुखुरा बरामद गरेको छ ।

बरामद गरिएको कुखुरा आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय बेलहिया तथा मोटरसाइकल र व्यक्ति भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

मोटरसाइकलसहित १ लाख ८० हजार र नियन्त्रणमा लिइएका ३ जनालाई जनही २५ हजार गरी ७५ हजार जरिवाना गरिएको डीएसपी थापाले जानकारी दिए ।

त्यस्तै इलाका प्रहरी कार्यालय मझगावा रुपन्देही मातहत प्रहरी चौकी शिवपुर गोनाहाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको कुर्ता सुरुवाल २९ थान, तन्ना २ पिस, पर्दा ५ थान गरी ३३ हजार बराबरको अवैध सामान बरामद गरेको हो ।

त्यस्तै इलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीबाट खटिएको प्रहरी टोलीले .१० हजार बराबरको चिनी ४ बोरा बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।


Top