मलाई मुख्यमन्त्री कार्यालयमा पाँच दिनसम्म बन्धक बनाइयो : सांसद वली

दीपक घिमिरे   POSTED ON : श्रावण २२, २०७८ (५:५१ AM)

मलाई मुख्यमन्त्री कार्यालयमा पाँच दिनसम्म बन्धक बनाइयो : सांसद वली

भैरहवा । लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री (वली)ले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखेको आरोप लगाउनुभएको छ । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै सांसद वलीले मुख्यमन्त्रीको निर्देशन र प्रमुख सचेतक भूमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा आफूलाई पाँच दिनसम्म बन्धक बनाएर राखिएको बताउनुभएको हो । उहाँले साउन १५ गतेदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा राखेको र एमालेमा फर्किए भनेर जबरजस्ती हस्ताक्षर गराएर साउन १९ मा विज्ञप्ति जारी गराएको बताउनुभयो । 

वलीले मुख्यमन्त्री पोखरेलले मन्त्री बन्ने प्रलोभन देखाएको भन्दै भन्नुभयो, ‘पहिला गल्ती भयो, अब त्यस्तो हुँदैन । एमालेमा आउनुहोस्, मन्त्री बन्नुहोस्’, उहाँले भन्नुभयो, ‘मैले निरन्तर इन्कार गरिरहेँ । साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्कनै नदिई दबाब दिइरहृयो ।’ मुख्यमन्त्री निवासमै जबरजस्ती विज्ञप्तिमा हस्ताक्षर गर्न लगाएको उहाँले बताउनुभयो । थप केही माइन्युटमा आफूलाई हस्ताक्षर गराएको भन्दै उहाँले भन्नुभयो, ‘दलको बैठकको गराउनुभयो कि जिल्ला कमिटीको गराउनुभयो थाहा छैन ।’

त्यसपछि पनि आफूलाई बाहिर आउन नदिएको भन्दै उहाँले भन्नुभयो, ‘अब घर जान दिन्छन् र बाहिर गएर खण्डन गर्छु भन्ने सोचेको थिएँ तर अझ कडाइकासाथ साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै राखियो ।’ आफूलाई मुख्यमन्त्री निवासमा सांसद सरस्वती गौतमसँगै राखेको उहाँले बताउनुभयो । 

आफू वैशाख १९ गते नै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको जानकारी गराएको उल्लेख गर्दै भन्नुभयो, ‘म माओवादी केन्द्र कै सांसद हो, माओवादीमै रहन्छु ।’ उहाँले साउन १५ गते नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल र नेता मानबहादुर राउत तुलसीपुरस्थित आफ्नो निवासमा पुगेर एमालेमा आउन दबाब दिएको बताउनुभयो । उनीहरूले पटक–पटक दबाब दिँदा पनि एमालेमा आउन इन्कार गरेपनि अस्पताल जान लागेको मान्छेलाई जबर्जस्ती रूपमा बुटवल ल्याएको बताउनुभयो । 

प्रदेशसभा सदस्य वलीका अनुसार २० गते उहाँ मुख्यमन्त्री निवासबाट भाग्न सफल हुनुभएको थियो । मध्याहृनतिर सबै आराम गरिरहेको बेला शौचालयको चप्पल लगाएर भागेको र माओवादी केन्द्रको संसदीय दलमा पुगेको भन्दै उहाँले भन्नुभयो, ‘भाग्ने त पहिल्यै प्लान गरेको थिए । कमला विक माननीयले घर जान्छु भन्नुभयो, मैले हुन्छ भने । त्यहीँ बेला कसैलाई नदेखेपछि आएँ ।’ आफ्नो चप्पल लगाउँदा आवाज आउने भएपछि शौचालयको चप्पल लगाएर माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आएको उहाँले बताउनुभयो ।

विपक्षी गठबन्धन भन्छ : मुख्यमन्त्री र प्रमुख सचेतक नै सांसद बन्दक र किनबेचमा 

लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्रीकै निर्देशनमा सांसद विमला वलीलाई बन्धक बनाएको घटनाको निन्दा गरेका छन् । माओवादी केन्द्रकी सांसद विमलाकुमारी खत्री वलीलाई साउन १५ गते मुख्यमन्त्री शंकर पोखरेलको निर्देशन र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा घरबाटै अपहरणको शैलीमा मुख्यमन्त्री निवास बुटवल ल्याएर पाँच दिनसम्म बन्धक बनाएर राखेको भन्दै गठबन्धनले विज्ञप्ति निकालेर कानुनी उपचारको माग गरेको छ । 

कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खान, माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगर, जसपाका उपनेता सुमन शर्मा रायमाझी र राष्ट्रिय जनमोर्चाकी नेतृ तारा जिसीले संयुक्त रूपमा विज्ञप्ति निकालेर सरकारकै नेतृत्वले अपहरण जस्ता आपराधिक घटनामा संलग्न हुनुले लोकतन्त्र नै धरापमा पर्दै गएको बताउनुभएको छ । 

‘मुख्यमन्त्रीले अविश्वासको प्रस्तावको सामना नगर्ने, बजेट पेश नै नगर्ने, संसद बहिष्कार गर्ने अन्य पार्टी तोडफोड गर्नेजस्ता घटना त गरिनै रहेका छन्, अब केन्द्रीय संसदमा जस्तै मुख्यमन्त्री स्वयं सांसद अपहरण, धम्की र किनबेचको आपराधिक तरिका अपनाउँदै सांसदलाई शरीर बन्धक अपहरणमा संलग्न हुँदै गइरहरेको त होइन भनी गम्भीर आशंका जन्माएको छ’ विज्ञप्तिमा भनिएको छ ।

गठबन्धनले घटनामा संलग्नलाई तत्काल कानुनी कठघरामा उपस्थित गराउन माग गर्दै कानुनी दायरामा ल्याउन माग गरेको छ । लुम्बिनी प्रदेश सरकारलाई यस्ता आपराधिक घटनामा प्रत्यक्ष संलग्न अपराधीलाई तत्काल कानुनको कठघरामा उपस्थित गराउन माग गर्दै अपराधको बलमा सरकारमा टिकिरहने दुस्वप्न नदेख्न चेतावनी दिन चाहन्छौं, विज्ञप्तिमा भनिएको छ । 

एमालेको खण्डन : हामीले सांसद वलीलाई बन्धक बनाएका होइनौ 

नेकपा एमालेले प्रदेश सांसद विमला खत्री वलीलाई बन्धक बनाइएको कुरामा कुनै सत्यता नभएको नेकपा एमालेले बताएको छ । एमालेले बिहीबारै पत्रकार सम्मेलन गरेर खत्रीको कुराको खण्डन गरेको हो ।

पत्रकार सम्मेलनमा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले विमला खत्रीलाई राजीखुशी अनुसार नै व्यवहार गरेको बताउनुभयो । उहाँले एमालेलाई बद्नाम गराउनका लागि बन्धक बनाएको भनेर चर्चा भएको उल्लेख गर्नुभयो । ढकालले वली एमालेमा आउन राजीभएको बताउँदै भन्नुभयो ‘मुख्यमन्त्रीसँग धेरै कुरा भएपछि उहाँले म अब एमालेमा फर्किन्छु भन्नुभएको थियो ।’ उहाँले भन्नुभयो ‘मुख्यमन्त्रीलाई उहाँले मेरा मुद्दाको विषय उठाउनुभयो । तपाईं मेरो अभिभावक हो भन्नुभएको थियो ।’ 

ढकालले प्रदेश सांसद खत्रीलाई राजीखुशी नै दाङबाट बुटवल ल्याएको जिकिर गर्नुभयो । ‘ लामो बाटो थियो । उहाँसँग मोबाइल थियो । दिदीसँग आनन्दले एउटै सिटमा बसेर आउनुभएको थियो’, उहाँले भन्नुभयो । बुटवलमा विमलालाई अन्तै बस्ने व्यवस्था गरे पनि उहाँकै इच्छानुसार मुख्यमन्त्री निवासमा राखिएको ढकालले दाबी गर्नुभयो । 

लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन साउन २७ गतेका लागि आह्वान

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ दिनको १ बजे प्रदेश प्रमुखबाट प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिनुभयो । 

नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश प्रमुखबाट अधिवेशन आह्वान भएको पुनद्वारा जारी सूचनामा उल्लेख छ । लुम्बिनी प्रदेशका विपक्षी दलहरूले तेस्रो पटक मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्तावमाथि छलफल गर्न उनीहरूले विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष समावेदन दिएका थिए । 

प्रदेश सभामा नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि विपक्षीहरूले मुख्यमन्त्रीलाई राजीनामा गर्न दबाब दिँदै आएका थिए । अल्पमतमा रहनुभएका मुख्यमन्त्रीले राजीनामा वा विश्वासको मत लिनुको सट्टा संसद बन्धक तथा किनबेचमा लागेको भन्दै विपक्षी गठबनधनले सरकारको आलोचना गरेको छ । 

मुख्यमन्त्रीले राजीनामा तथा विश्वासको मत लिन आनाकानी गरेपछि विपक्षी गठबन्धनले विशेष अधिवेशन आह्वानको माग गर्दै प्रदेश प्रमुखसमक्ष समावेदन दर्ता गराएका थिए । प्रदेश सभामा हाल कायम ८० सदस्यीय सदस्यमा सत्ता पक्षमा ३८ मत छ भने विपक्षमा सभामुखसहित ४२ मत छ । 


Top