फरार अभियुक्त धमाधम पक्राउ पर्दै

रामचन्द्र रायमाझी   POSTED ON : श्रावण २२, २०७८ (५:१५ PM)

फरार अभियुक्त धमाधम पक्राउ पर्दै

पाल्पा । वर्तमान सरकारका गृहमन्त्री बालकृष्ण खाँणले शान्ति सु–व्यवस्थालाई थप चुस्त र प्रभावकारी बनाउन प्रहरी संगठनलाई निर्देशन दिए लगत्तै पाल्पामा आपराधिक घटनामा संलग्न फरार प्रतिवादी धमाधम पक्राउ पर्न थालेका छन् ।  जिल्ला प्रहरी कार्यालयले चार दिनको अन्तरालमा विभिन्न आपराधिक मुद्दामा फरार रहेका ५ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । 

चोरी, बहुविवाह, जवरर्जस्तीकरणी, सार्वजनिक अपराध लगायतका अभियोगमा अदालतबाट दोषी सावित भए पनि सजाय भुक्तान नगरी फरार सूचीमा रहेका ५ जना अभियुक्तहरुलाई प्रहरीले चार दिनको अन्तरालमा पक्राउ गरी अदालतको जिम्मा लगाएको हो । 

जिल्ला अदालतको आदेशले केही सार्वजनिक अपराध मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका ती अभियुक्तलाई प्रहरीले पक्राउ  आएको छ । प्रहरीले विभिन्न मितिमा अदालतले फैसला गरी दोषी ठहर भई फरार रहेका रामपुर नगरपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका, निस्दी गाउँपालिकाका पाँच जना अभियुक्तलाई पक्राउ गरी  जिल्ला अदालतमा बुझाएको छ । (गोरु मारेको) पशुपक्षी सम्बन्धी कसुर ठहर भई फरार भएका रामपुर नगरपालिका–१०, का १९ वर्षीय नारन सुनार र सवारी ज्यान मुद्दामा दोषी ठहर भई फरार भएका बगनासकाली गाउँपालिका–२, का २८ वर्षीय नारायण बगालेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सुनारलाई अदालतले ३ महिना ७ दिन र बगालेलाई १ महिना ६ दिन कैद सजाय तोकेको थियो । प्रहरीले गत आइतबार पनि फरार सूचीमा रहेका तीन जनालाई पक्राउ गरी जिल्ला अदालत बुझाएको छ ।

त्यस्तै पाल्पा प्रहरीले  बैकिङ्ग कसुर सम्बन्धी मुद्दामा दोषी ठहर भई फरार भएका रामपुर नगरपालिका–३, का ५० वर्षीय खगनाथ न्यौपाने, बहुविवाह मुद्दामा दोषी ठहर भई फरार भएका रम्भा गाउँपालिका–१, का ४९ वर्षीय कृष्णप्रसाद पाठक र जवरर्जस्तीकरणी मुद्दामा दोषी ठहर भएका निस्दी गाउँपालिका–१, का ६० वर्षीय वीरबहादुर पुलामीलाई पक्राउ गरेको छ । अदालतले पक्राउ परेका न्यौपानेलाई ७ लाख ३० हजार नगद, बहुविवाह मुद्दामा दोषी ठहर भई फरार भएका पाठकलाई १ वर्ष तीन महिना कैद र जबर्जस्तीकरणी मुद्दामा दोषी ठहर भएका पुलामीलाई ६ वर्ष कैद सजाय फैसला गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अरू बेला अन्यत्रै लुकीछिपी बस्ने गरेका अभियुक्तहरु कोरोना महामारीका बेला आफ्नै घरमा बस्दै आएका थिए । प्रहरीले विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । 

अभियान नै सञ्चालन गरी फरार अभियुक्तहरु पक्राउ गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताउनुभयो । उहाँले फरार अभियुक्त खोजी गर्न जिल्लाका विभिन्न स्थानमा विशेष प्रहरी टोली खटाइएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा अदालतले कैद तथा जरिवाना सुनाएका सयौं अभियुक्तहरु फरार सूचीमा रहेका छन् । तत्कालका लागि फरार सूचीमा रहेका १५ जनाको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक त्वातीले बताउनुभयो । ‘जिल्ला प्रहरीकै अनुगमनमा खोजी कार्यलाई तीव्रता दिएका छौं,’ उपरीक्षक त्वातीले भन्नुभयो, ‘यो हाम्रो नियमित काम हो, अहिले अभियान नै सञ्चालन गरी पक्राउ गर्न थालिएको छ ।’ ‘फरार अभियुक्त पक्राउलाई तीव्र बनाइएपछि अपराधीमा डर पैदा भएको छ,’ त्वातीले भन्नुभयो, ‘जति वर्ष अगाडिदेखि अभियुक्तहरु भागे पनि पक्राउ परिहाल्छन्, उनीहरुलाई जहाँ गए पनि उन्मुक्ति मिल्दैन ।’ प्रहरीले गत आइतबार तीन जना प्रतिवादीहरुलाई पक्राउ गरेको थियो भने, बुधबार दुई जनालाई पक्राउ गर्न सफल भएको हो ।


Top