प्रशासन कार्यालयको अगुवाईमा रिडि बजारको अनुगमन

रमेश विश्वकर्मा   POSTED ON : श्रावण २२, २०७८ (५:२५ PM)

प्रशासन कार्यालयको अगुवाईमा रिडि बजारको अनुगमन

गुल्मी । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको मुख्य बजार समेत रहेको रिडि बजारको अनुगमन गरिएको छ । शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीको नेतृत्वमा रिडि बजारको अनुगमन गरिएको हो ।

घरेलु तथा साना उद्योग विकास जिल्ला कार्यालय प्रमुख लक्ष्मण घिमिरे, ईलाका प्रहरी कार्यालय रिडिका प्रहरी निरीक्षक सोभराम बम, रुरुक्षेत्र गाउँपालिकाका सव-इन्जिनियर रोमाकान्त पाण्डे र पत्रकार कृष्ण अन्जान ज्ञवाली लगायतले बजारको अनुगमन गर्नुभएको थियो ।

अनुगमनको क्रममा पसलहरुमा मुल्य सुची नराखिएको, खरिद तथा बिक्री बिल नदेखिएको, सुर्तीजन्य पदार्थहरु दर्ता नगरी बिक्री वितरण गरिएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो । उहाँले रिडि बजारबाट दर्ता नगरिएको २७ हजार बराबरको सुर्तीजन्य पदार्थ बरामद गरिएको बताउनुभयो । अन्त:शुल्कको कार्यालयमा दर्ता गरेपछी मात्र उक्त सुर्तीजन्य पदार्थहरु फिर्ता गरिने भण्डारीले उल्लेख गर्नुभयो ।

अनुगमन गर्न गएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारी सहितको टोलिले सबै पसलहरुमा मुल्य सुची राख्न, लकडाउन अलि खुकुलो भएको ७ दिनभित्र पसलहरु दर्ता एवम् नविकरण गर्न आग्रह गरेको छ । अनुगमनको क्रममा म्याद नाघेको खाद्यान्न सामानहरु नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो ।


Top