अधिकांश योजना पूरा गर्न सफल भएपनि गर्व गर्न लायक प्रदेश बनाउने योजना अधुरै रह्यो : शंकर पोखरेल

विवेक खड्का   POSTED ON : श्रावण २७, २०७८ (६:२७ PM)

अधिकांश योजना पूरा गर्न सफल भएपनि गर्व गर्न लायक प्रदेश बनाउने योजना अधुरै रह्यो : शंकर पोखरेल

दाङ । बुधबार मात्रै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको शंकर पोखरेलले  गर्व गर्न लायक प्रदेश राजधानी बनाउने आफ्नो सोच अधुरै रहेको बताउनुभएको छ ।

राजीनामा पछि प्रदेश मन्त्रालयका सचिवसँग आफ्नो कार्यकालमा गरेका कामबारे जानकारी गराउँदै पोखरेलले अगाडि सारिएका योजना पूरा गर्न नयाँ बन्ने सरकारलाई सघाउन आग्रह गर्नुभयो ।

‘मुख्यमन्त्रीका रूपमा प्रदेशमा अगाडि सारिएका अधिकांश योजना पूरा गर्न सफल भए पनि नमूना र गर्व गर्न लायक प्रदेश बनाउने योजना बिचमै रह्यो’ उहाँले भन्नू भयो।

पोखरेलले प्रदेश विश्वविद्यालय बनाउन बाँकेको खजुरामा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको र त्यसलाई पनि पूरा गर्न नसकेको बताउनु भयो ‘प्रदेशमा लगानी सम्मेलन गर्ने योजना थियो कोभिडका कारण गर्न सकिएन, आगामी असोज कात्तिकमा गरौंला भनेका थियौं त्यो पनि अधुरै रह्यो,ञ उहाले भन्नू भयो।

आफ्नो कार्यकालमा कर्मचारी प्रशासनबाट सकारात्मक सहयोग पाएको उल्लेख गर्दै नयाँ बन्ने सरकारलाई पनि सघाउन आग्रह गर्नुभयो।


Top