पाल्पा पनि ‘रेड जोन’ मा, लापरबाहीले बढ्यो कोरोना

रामचन्द्र रायमाझी   POSTED ON : श्रावण २८, २०७८ (४:१६ PM)

पाल्पा पनि ‘रेड जोन’ मा, लापरबाहीले बढ्यो कोरोना

पाल्पा ।  पाल्पा सहित लुम्बिनी प्रदेशका पाँच जिल्ला ‘रेड जोन’ मा परेका छन् । पाल्पा, गूल्मी ,कपिलवस्तु, प्यूठान र अर्घाखाँचीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खतराको सूचीमा राखेको छ । स्वास्थ्य मन्त्रालयले पाल्पालाई ‘रेड जोन’को सूचीमा राखे पनि सतर्कता भने अपनाइएको छैन । निषेधाज्ञा खुकुलो पारिएसँगै यहाँ हेलचेक्र्याइँका कारण कोरोना संक्रमण दिनप्रति दिन बढ्दै गएको छ । खोप अभियान जारी रहेकै बेला संक्रमण तीव्र गतिमा देखिन थालेको हो । निषेधाज्ञा खुकुलो भएसँगै यहाँ स्वास्थ्य सुरक्षा सतर्कता घटेको छ । मास्क नलगाउने बढेका छन् । बजार खुलेपछि किनमेल गर्नेको भीड लाग्न थालेको छ । बढ्दो संक्रमणलाई मध्यनजर गरेर पाल्पामा स्थानीय प्रशासनले निषेधाज्ञा लम्ब्याएको छ । प्रशासनले साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरे पनि उच्च सतर्कता अपनाउने विषयमा भने चासो दिइएको छैनन् । 

 समुदायस्तरमा स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिँदा  संक्रमितको संख्या दिनहुँ थपिँदै गएको छ । सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा संक्रमको दर बढ्दै गएको पाइन्छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा संक्रमण बढ्दै गएको हो । 

जिल्लामा अहिले दैनिक २० देखि सय जनाको हराहारीमा संक्रमित थपिन थालेका छन् । यहाँ अहिले सार्वजनिक यातायात सञ्चालनमा ल्याइएको छ भने समयसीमा तोकेर लगभग सबै क्षेत्र खुला गरिएको छ । निषेधाज्ञा खुकुलो बनेसँगै सर्वसाधारणको दैनिकी सहज बन्दै गएको त छ तर स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा लापरबाही गरिँदा संक्रमित थपिँदै गएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनुभयो । ‘जनस्तरबाट बढी नै लापरबाही भएको देखिन्छ,’ प्रजिअ पाण्डेले भन्नुभयो । मास्क लगाउन, स्वास्थ्य सुरक्षाका अन्य मापदण्ड तथा सरकारद्वारा जारी निर्देशन पालना भएको छैन । पछिल्लो समय कोरोनालाई सामान्य तरिकाले पनि लिइँदा संक्रमितको संख्या बढ्दै गएको छ । निषेधाज्ञा खुकुलो भएपछि अहिले तानसेन बजारमा सामान किन्नेको भीडले बाटो छिचोल्न समेत हम्मेहम्मे हुने गरेको छ  । बसपार्कमा गाडी चढ्न लाइन लाग्नेको भीड उस्तै  देखिने गर्दछ । भीडभाडमा अधिकांशले सुरक्षा मापदण्ड पालना गरेको देखिँदैन । अधिकांशले मास्क प्रयोग गरे पनि कमैले नाकमुख मात्र छोपिने गरी र कसैले चिउडोमुनि लगाएर हिड्ने गरेका छन् । तानसेनमा कपडा पसल गर्दै आउनुभएका मनिष शाक्यले कोरोना नै भनेर सधैं डराएर बस्न सबैलाई सम्भव नहुने बताउनुभयो । चिउँडोमुनि मास्क सारेर बस्नुभएका उहाँले भन्नुभयो, ‘सधैं कोरोना भनेर डराएर बसियो भने सटर भाँडा समेत तिर्न पुग्दैन ।’ पछिल्लो समय परीक्षण गरिएकामा संक्रमण बढ्दै जाँदा जिल्लाका अस्पताल संक्रमित बिरामीले भरिन थालेको स्वास्थ्यकर्मी बताउँछन्  ।

जिल्लामा पाँच सयको हाराहारीमा  सक्रिय संक्रमित रहेका छन् । कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्डविपरीत भीडभाड, धर्ना, जुलुस नगर्न आग्रह गर्दै आएको छ तर त्यसको पालना भने फितलोदेखिन्छ । निको हुने दरभन्दा संक्रमित हुनेको दर बढ्दै जाँदा पुनः कडा निषेधाज्ञा लगाउनुपर्ने अवस्था आउने हो कि भन्ने देखिएको छ ।

संक्रमण बढ्दै गएपछि अहिले यहाँका अस्पतालका बेड बिरामीले भरिन थालेका छन् । निषेधाज्ञा नाम मात्रैको भएको र जिल्ला प्रशासन कार्यालयसहित स्थानीय तहले जिम्मेवारीबोध नगर्दा संक्रमण दर बढ्दै गएको स्थानीयले बताएका छन् । जोखिममा देखिएको क्षेत्रहरूको पहिचान र त्यस क्षेत्रलाई सिल गरी आवत–जावतमा कडाई नगर्दा कोरोनाको जोखिम बढिरहेको तानसेनका दीपक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो ‘प्रशासनले निर्णय मात्रै गर्छ तर कार्यान्वयन गर्ने पाटोमा ध्यानै दिँदैन’, उहाँले भन्नुभयो, ‘नियमनकारी निकायहरूले नागरिकको स्वास्थ्यप्रति जिम्मेवारबोध गरेनन् ।’ ‘कोरोना संक्रमितको संख्या बढ्दै गएको छ,’ स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख नारायणप्रसाद चौधरीले भन्नुभयो ‘लकडाउन खुकुलो भएसँगै लापरबाही पनि बढेको छ, परीक्षण बढेको कारण पनि संक्रमितको संख्या बढेको हो ।’ संक्रमितहरू परीक्षणमा नआउने, लापरवाही र अटेरीपनले गर्दा पनि सक्रमणको दर घट्न नसकेको उहाँको भनाई छ ।


Top