‘गाउँका सिंहदरबार’ बेथितिका अखडा, अख्तियारमा उजुरीका चाङ

शुभाकर विश्वकर्मा   POSTED ON : श्रावण ३०, २०७८ (५:३० AM)

‘गाउँका सिंहदरबार’ बेथितिका अखडा, अख्तियारमा उजुरीका चाङ

नेपालगञ्ज । आर्थिक वर्ष २०७७/०७८ मा बाँकेका स्थानीय तहमा भएका बेथितिमा विषयमा पाँच दर्जन बढी उजुरी दर्ता भएका छन् । चार जिल्ला कार्यक्षेत्र रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा बाँकेका स्थानीय तहका मात्रै पाँच दर्जनभन्दा बढी उजुरी दर्ता भएका हुन् । बाँकेसहित बर्दिया, दाङ र रोल्पा जिल्लामा कार्य क्षेत्र रहेको सम्पर्क कार्यालय नेपालगञ्जले बाँके जिल्लामा रहेका आठ स्थानीय तहका मात्रै कुल ५१ वटा उजुरी दर्ता भएको जनाएको छ । 

कार्यालयले दिएको जानकारी अनुसार चार जिल्लामध्ये बाँकेका मात्रै सबैभन्दा धेरै ३४४ वटा उजुरी परेका छन् । यस्तै दोस्रोमा दाङका २४५ र बर्दियाका १८० उजुरी परेका थिए । गत वैशाख महिनाबाट नयाँ कार्य क्षेत्रका रूपमा थप भएको रोल्पा जिल्लाबाट मात्रै सातवटा उजुरी परेको कार्यालय प्रमुख कृष्णकुमार निरौलाले बताउनुभयो । उहाँका अनुसार कुल उजुरीमध्ये क्रमशः बाँकेका २२४, दाङका १५१, बर्दियाका १२४ र रोल्पा जिल्लाका चारवटा उजुरीमाथि छानविन सम्पन्न भएको छ ।

सम्पर्क कार्यालयमा बाँकेका आठ स्थानीय तहमध्ये सबैभन्दा धेरै कोहलपुर नगरपालिकाका १६, राप्तीसोनारी गाउँपालिकाका ११ र नेपालगञ्ज उपमहानगरपालिका १० वटा उजुरी दर्ता भएका छन् । यस्तै खजुरा र जानकी गाउँपालिकाका समान सात÷सातवटा उजुरी परेको कार्यालय प्रमुख निरौलाले जानकारी दिनुभयो । यस्तै डुडुवा गाउँपालिकाका पाँच, बैजनाथका तीन र नरैनापुरका दुईवटा उजुरी फस्र्योट हुन बाँकी छ । स्थानीय तहमा परेका उजुरीमध्ये शिक्षा क्षेत्रका उजुरी धेरै रहेको सम्पर्क कार्यालय नेपालगञ्जले जनाएको छ ।

स्थानीय तहअन्तर्गत शिक्षाका १२१ उजुरी परेकोमा ८२ वटा फस्र्योट भएको छ । आर्थिक वर्ष २०७७/७८ मा चारवटा जिल्लाबाट ७७६ उजुरी परका थिए । ती मध्ये ५०३ फस्र्योट भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले गत आ.व.मा तीनवटा स्ट्रिङ अप्रेशन गरेको थियो । 


Top