लुम्बिनी प्रदेशका दुई मन्त्रीको विषयलाई लिएर प्रदेश प्रमुख र एमालेबीच आरोप-प्रत्यारोप

विवेक खड्का   POSTED ON : श्रावण ३१, २०७८ (५:३७ AM)

लुम्बिनी प्रदेशका दुई मन्त्रीको विषयलाई लिएर प्रदेश प्रमुख र एमालेबीच आरोप-प्रत्यारोप

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारमा सहभागी दुई मन्त्रीहरूको विषयलाई लिएर एमाले र प्रदेश प्रमुखबीच आरोप–प्रत्यारोप चलेको छ । प्रदेश प्रमुख अमिक शेरचनको सचिवालयले केही दिनअघि मिडियामा ‘माओवादी कोटाबाट प्रदेश प्रमुख बनेका प्रदेश प्रमुख’ भन्ने समाचारको खण्डन र एमालेका लुम्बिनी अध्यक्ष लीला गिरीको विज्ञप्तिमा खण्डन सार्वजनिक भएपछि प्रदेश प्रमुख कार्यालय र नेकपा एमालेबीच आरोप–प्रत्यारोप सुरु भएको हो ।

शुक्रबार कानुनविपरीत आफ्ना सांसदलाई मन्त्रीको शपथ ग्रहण गराएको भन्दै नेकपा एमाले लुम्बिनी प्रदेशले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै प्रदेश प्रमुखको निजी सचिवलयका तर्फबाट नारायणप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा एमाले अध्यक्ष लीला गिरीको नामै तोकेर प्रतिप्रश्न गरिएको छ । जारी विज्ञप्तिमा एउटा पार्टीका सदस्यलाई अर्को पार्टीमा सामेल गर्ने र पार्टी परिवर्तन गर्ने गरिएका धेरै उदाहरण रहेको भन्दै त्यसतर्फ ध्यान पु¥याउन गिरीलाई आग्रह गरिएको छ । पार्टी परिवर्तन गर्ने र नगर्ने विषय नितान्त राजनीतिक र व्यक्तिहरूको सरोकारको विषयसँग प्रदेश प्रमुखलाई आरोपित गर्नु पूर्वाग्रहको तुच्छ मनोवृत्ति र अति निन्दनीय कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

बिहीबार साँझ गठन गरिएको नयाँ सरकारको मन्त्रीमा आफ्ना सांसद अजय शाहीलाई शपथ ग्रहण गराएको भन्दै एमालेले प्रदेश प्रमुखको भूमिकाप्रति प्रश्न उठाउँदै विज्ञप्ति जारी गरेको थियो । एमालेले नवलपरासीका सांसद शाही सूर्य चिहृनबाट निर्वाचित भएकाले उनलाई चार दलीय गठबन्धनमा सहभागी गराई मन्त्रीको शपथ ग्रहण गराएर प्रदेश प्रमुखले गैरसंवैधानिक र गैरसंसदीय भूमिका निर्वाह गरेको आरोप लगाएको थियो । त्यस्तै, सूर्य चिहृनबाट तत्कालीन नेकपाबाट दाङको उपनिर्वाचनमा निर्वाचित सांसद विमला वलीलाई पनि गठबन्धनमा सहभागी गराइएकोप्रति आपत्ति जनाएको थियो । साउन २७ गते कपिलवस्तुमा माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रदेश प्रमुख शेरचन सहभागी भएपछि एमाले असन्तुष्टि पोख्दै आएको छ ।


Top