महन्थ ठाकुर समुह प्रतिगमनको मतियार : उपेन्द्र यादव

दीपक घिमिरे   POSTED ON : भदौ १३, २०७८ (६:१४ PM)

महन्थ ठाकुर समुह प्रतिगमनको मतियार : उपेन्द्र यादव

भैरहवा । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूलाई मधेशको नेता भन्ने महन्थ ठाकुर समूह प्रतिगमनको मतियार बनेको आरोप लगाउनु भएको छ । उहाँले महन्थ ठाकुर एण्ड कम्पनी संसद विघटन गर्ने केपी ओलीको मतियार बनेको बताउनु भयो ।

जसपा नेपाल केन्द्रीय समितिले आइतबार भैरहवामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता  यादवले दुई पटक संसद विघटन गरेर ओलीले एकै व्यक्तिलाई दुईपटक मृत्युदण्डको सजाय दिएको बताउनु भयो । उहाँले प्रतिगमनकारी सपना जसपाले चकनाचुर पारेको बताउनु भयो । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता यादवले संसद विघटन गर्ने ओलीको कदमविरुद्ध जसपा सडकमा आन्दोलनमा उत्रिएको बताउनुभयो । ‘सुरुमा आफूहरुले आन्दोलन गरे पनि ओलीको कदमप्रति कांग्रेस भने दोधारमा थियो, कांग्रेसका केही नेता चुनावमा जान पाए ठीक हुन्थ्यो भन्ने सोचमा थिए, ’उहाँले भन्नुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र बचाउने काम जसपाले गरेको बताउनु भयो । लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायतका महत्वपूर्ण उपलब्धी अधिकार संस्थागत गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । प्राप्त उपलब्धी रक्षा गर्दै बाँकी रहेका अधिकारका लागि लड्नुपर्ने उहाँले बताउनुभयो । २००७ सालमा प्राप्त उपलब्धी संस्थागत गर्न नसकेकै कारण लामो संघर्ष गर्नुपरेकाले अहिले प्राप्त उपलब्धी संस्थागत गर्नुपर्ने बताउनु भयो । ‘त्रुटीपूर्ण र विभेदकारी संविधान संशोधन गर्नुपर्छ, सात प्रदेशको संरचना बदल्नुपर्छ, ’नेता यादवले भन्नुभयो ।

नेता यादवले निर्वाचन प्रणाली खर्चिलो भएका कारण किसान मजदूरले निर्वाचन लड्न नसकेकाले समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको बताउनु भयो । उहाँले सबै भाषाको सम्मान गर्दै विभेद र असमानताको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । मधेशी नागरिकलाई विदेशी सरहको नागरिकको रुपमा हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्ने उहाँले बताउनु भयो । राज्यले विपन्न वर्गको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी गर्नुपर्ने बताउनु भयो ।

पार्टीका वरिष्ठ नेता अशोक राईले पहिचानको संघीयता र प्रदेशलाई स्वायत्त बनाउनुपर्ने जसपाको माग रहेको बताउनु भयो । उहाँले न्यायपूर्ण समाजको परिकल्पनाको साथ जसपाको निर्माण भएको बताउनु भयो । पुराना पार्टीले पुराना विचार त्याग्न नसकेको र यथास्थितिमा बस्न खोजेकाले जसपा स्थापना गरेर अगाडी बढाएको बताउनु भयो । अग्रगामी यात्रा तय गर्न गठबन्धन गरेर अगाडी बढेका छौं, ’उहाँले भन्नुभयो ।

पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री महेन्द्र राय यादव, नवराज सुवेदी, नर्सिङ चौधरी, अमृता अग्रहरी, सहसराम यादव, अशोक कुमार यादव, लगायत नेताहरुले महन्थ ठाकुर समूहले प्रतिगमनलाई साथ दिएको बताउनु भयो । उनीहरुले खोक्रो नाराले उत्पीडित नागरिकको माग पुरा हुन नसक्ने दावी गर्नुभयो । जसपा लुम्बिनी प्रदेश समितिको व्यवस्थापनमा भएको कार्यक्रमको सञ्चालन प्रदेश मुख्य सचिव यज्ञ पोखरेलले गर्नु भएको थियो ।


Top