उद्योगी अनिल जाटियाको निधन

दीपक घिमिरे   POSTED ON : भदौ १७, २०७८ (५:५८ AM)

उद्योगी अनिल जाटियाको निधन

भैरहवा । रुपन्देहीका प्रतिष्ठित उद्यागी अनिल जाटियाको मंगलबार राति १२ बजे निधन भएको छ । उहाँको काठमाडौंस्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको हो । 

काठमाडौंको होटल याक एण्ड यतीमा मंगलबार आयोजित एसियन कंक्रिटोको कार्यक्रम सक्काएर घरमा पुगेर गाडीबाट झर्ने बेलामा एक्कासि उहाँलाई हृदयाघात भएको थियो । एसियन कंक्रिटोेले नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेको अवसरमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा आएका अतिथिहरूलाई बिदाइ गरी घर पुगेर गाडीबाट झर्नै लाग्दा उहाँलाई हृदयाघात भएको र तत्काल शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको एसियन कंक्रिटोका सञ्चालक मनीष रुङगाटाले जानकारी दिनुभयो । 

सिद्धार्थ उद्योग वाणिज्य संघका एसोसिएट उपाध्यक्ष अरुण गोयनकाले जाटियाको निधनले नेपालकै औद्योगिक क्षेत्रमा ठूलो क्षति पुगेको बताउनुभएको छ । नेपालकै प्रतिष्ठित उद्योग सञ्चालन गर्दै आउनुभएका जाटिया निकै शालीन र सरल व्यत्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो ।  

५९ वर्षीय जाटिया एसियन कंक्रिटो, जगदम्बा सेन्थेटिकका सञ्चालक हुनुहुन्थ्यो भने शंकर ग्रुपअन्तर्गतका उद्योगहरूमा पाटनरको रूपमा रहनुभएको थियो । उहाँको बुधबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । जाटियाका श्रीमती र एक छोरा हुनुहुन्छ ।


Top