युद्धमा अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा निकालियो भगवती रथयात्रा

रामचन्द्र रायमाझी   POSTED ON : भदौ १७, २०७८ (६:४२ AM)

युद्धमा अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा निकालियो भगवती रथयात्रा

पाल्पा । कोरोना महामारी जोखिमबीच पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिएको छ । नेपालको वीरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि मात्र मन्दिर परिसरमा भगवतीको प्रतिमूर्ति घुमाएर रथयात्रा निकालिएको हो ।

तत्कालीन नेपाली सेनाले अंग्रेजलाई युद्धमा पराजित गरेको सम्झनामा हरेक वर्ष विजयोत्सव मनाउने गरिन्छ । गत वर्षदेखि भने कोरोनाका कारण औपचारिकतामा मात्र भगवती जात्रा निकाल्ने गरिएको छ । नेपालको वीरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको दुई सय तीन औं पाल्पाको ऐतिहासिक भगवती जात्रा मन्दिर परिसरमै मनाइएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी भगवती मन्दिर गुठी व्यवस्थापन समितिले परम्परा र इतिहास नटुटोस् भनी मंगलबार मन्दिर परिसरमै विजयोत्सव भगवती जात्रा निकालेको हो । गत वर्षदेखि कोभिड–१९ का कारण सीमित व्यक्तिहरूको सहभागितामा परम्परा, इतिहास जोगाउन मन्दिर परिसरभित्रै भगवतीको विजयोत्सव गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले बताउनुभयो । 

विसं १८७१ देखि १८७२ सम्मको अंग्रेजसँंगको युद्धमा नेपाली सेनाले जितगढी क्षेत्रमा विजय प्राप्त गरेको सम्झनास्वरूप विसं १८७६ देखि यो विजयोत्सव मनाउन थालिएको हो । तत्कालीन कर्णेल उजिरसिंह थापाको कमान्डमा रहेका नेपाली सेनाले जितगढी नुवाकोट युद्धमा विजय प्राप्त गरेको थियो । लडाइँमा जानुअघि कर्णेल सिंहले युद्ध जितेमा भव्यताका साथ भगवतीको सिन्दुरजात्रा गर्ने भाकलअनुसार प्रत्येक भाद्र कृष्णपक्षको नवमीका दिन विजयोत्सव मनाउने परम्परा रहँदै आएको संस्कृतिविद् निर्मल श्रेष्ठले बताउनुभयो ।

गत वर्ष पनि कोभिड-१९ संक्रमणका कारण रथजात्रा नगरी भगवतीको मूर्तिमात्र मन्दिरवरिपरि घुमाइएको थियो । पाल्पालीहरूले भगवती जात्रालाई ठूलो उत्सवका रूपमा मनाउँदै आएका छन् । राष्ट्रिय महत्वको ऐतिहासिक भगवती जात्राका दिन लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदा दिएको छ । यसपटक नेपाली सेनाले दरबार परिसरमा हालै निर्माण गरेको निशान भगवती मन्दिरमा भगवतीको विजयोत्सव मूर्ति तीनपटक परिक्रमा गराइएको थियो । साढे १२ बजेको साइतमा विजयोत्सवको मूर्ति मन्दिरबाहिर निकाली तीनपटक भगवती मन्दिरको परिक्रमा गरी निशान, नेपाली सेना, प्रहरीबाट सलामी दिएर निशान भगवती मन्दिरमा परिक्रमा गराइएको थियो । 

कोभिडभन्दा पहिले भगवतीको विजय रथ तानसेन नगर परिक्रमा गरी साँझ ६ बजेसम्म विसर्जन गर्ने परम्परा रहेको थियो । गत वर्षदेखि पाल्पामा मनाइने सबै किसिमका जात्राहरू मन्दिर तथा घर–घरमा सीमित रहे । कोभिडका कारण कला, संस्कृति लोप हुने हो कि भन्ने चिन्ता पाल्पालीहरूमा परेको शिक्षाविद् बुद्धिप्रसाद शर्माले बताउनुभयो । पाल्पामा श्रावण महिनादेखि भाद्र महिनासम्म विभिन्न किसिमका जात्रा निकाल्ने परम्परा रहेको छ ।


Top