पहिरोले घर पुर्दा दूई जनाको मृत्यु

विवेक खड्का   POSTED ON : भदौ २१, २०७८ (११:३४ AM)

पहिरोले घर पुर्दा दूई जनाको मृत्यु

दाङ । रोल्पामा पहिरोले घर पुर्दा दूई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका वडा नम्बर १० बाम्ला भन्ने ठाउँमा गएराति पहिराले घर पुर्दा पाँच बर्षीय बालक र ७० बर्षीय महिलाको मृत्यु भएको छ । रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीले करिब दूई सय मिटर माथिबाट पहिरो घरमा खसेपछि पाँच बर्षीय बालक र ७० बर्षीया महिलाको मृत्यु भएको जानकारी दिनुभयो । घर भत्किएर पुरिएकी महिलाको शब पहिरो पञ्छाएर प्रहरीले सोमबार बिहान मात्रै निकालेको थियो । बालकको शव भने राति नै फेला परेको थियो । पहिरोका कारण एउटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ । अन्य दूई वटा घरमा सामान्ने क्षति पुगेको पनि प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै गएराति नै अबिरल बर्षापछि आएको बाढीले रोल्पामै एउटा स्कूल बस बगाएको छ । सुनिल स्मृति गाउँपालिका वडा नं. ४ सुलिचौर बजारमा मर्मतका लागि ग्यारेजमा राखिएको रा १ प २०६८ नम्बरको बस बगाएको डिएसपी सुबेदीले जानकारी दिनुभयो ।  स्थानीय फगाम खोलामा आएको बाढीले सनलाईट बोर्डिङ स्कूलको बस बगाएर बेपत्ता पारेको हुँदा खोजी भइरहेको डिएसपी सुबेदीले बताउनुभयो । 

बाढीका कारण एउटा जलबिद्युत आयोजनाको बिद्युत उत्पादन तथा बितरणको काम पनि बन्द भएको छ । सुनछहरी गाउँपालिका वडा नं. ७ जेलबाङस्थित नौंबाङ खोलाको लघु जलबिद्युत आयोजना बन्द भएको छ । गएराति लघु जलबिद्युत आयोजनाको ५० मिटर नहर बाढीले पुरेपछि बिद्युत उत्पादन तथा बितरण कार्य बन्द हुन पुगेको हो । जिल्ला प्रहरी प्रमुख डिएसपी सुबेदीले बाढीले जल बिद्युतको ५० मिटर नहर पुरै पुरेको हुँदा बिद्युत उत्पादन र वितरण बन्द हुन पुगेको बताउनुभयो ।


Top