दानबाट प्राप्त अस्पताल निर्माणको जग्गामा जनप्रतिनिधिको रजाइँ

दीपककुमार शर्मा   POSTED ON : भदौ २२, २०७८ (६:३१ AM)

दानबाट प्राप्त अस्पताल निर्माणको जग्गामा जनप्रतिनिधिको रजाइँ

बर्दिया । स्थानीय तहका जनप्रतिनिधिले नसोचेको तरिकाले कसरी भ्रष्टाचार गर्दछन् भन्ने उदाहरण बर्दियाको बारबर्दिया नगरपालिकामा देखिएको छ । नगर कार्यपालिका सदस्य एवं वन वातावरण तथा विपत् व्यवस्थापन समिति संयोजक टेकबहादुर विश्वकर्माले नसोचेको जग्गा लिँदै घरसमेत निर्र्माण गरेको पाइएको हो । 

बारबर्दिया नगरपालिकाले सिकेल सेल अस्पताल निर्माणको लागि जग्गा दाता भेटाएपछि पूर्व-पश्चिम राजमार्गसँग जोडिएको रम्भापुरदेखि नगरपालिका भएको कार्यालय जयनगर बजारको बाटोदेखि करिब दुई सय मिटर उत्तर पश्चिममा जग्गादाताले अस्पताल निर्माणको लागि दिएको जग्गाबाहेक सो खेतमा बाटो निकासी गराइदिएबापत जग्गाधनीले सो इच्छाले जति दिए पनि हुने हिसाबले करिब दुई कठ्ठा जमिन टेकबहादुर विश्वकर्माको नाममा नामसारी गरिदिएको पाइएको हो । 

सो दुई कठ्ठा घडेरीमध्ये अहिले एक कठ्ठा जमिनमा टेकबहादुर विश्वकर्माले घर निर्माण गरेका छन् भने बाँकी जग्गा नगर प्रमुख दुर्गाबहादुर थारू कवीरको श्रीमती रेखा थारूको नाममा नामसारी गरिएको पाइएको हो । साथै टेकबहादुर विश्वकर्माले सो घर निर्माणका लाग्गि चाहिने सामग्री कुमार जेभी अर्थात् रम्भापुर गुलरिया हुँदै रजनहवासम्म सडक निर्माण गरिरहेको कम्पनीले ढुंगा, बालुवा, गिट्टी तथा सिमेन्ट सहयोग गरेको स्थानीयवासीहरूको भनाइ छ । साथै विश्वकर्माले घरको लागि चाहिने झ्याल ढोका पनि जयनगरमा रहेको पुरानो स्वास्थ्य कार्यालयको भवन भत्काउँदा राखिएका सामग्री लगाएका हुन् । यसरी सरकारी सम्पत्ति लिलाम प्रक्रियामा जाने सिष्टम भए पनि विश्कर्माले आफैँले लगेको बुझिएको छ । 

अस्पताल निर्माण हुने भएपछि जग्गा दाताले सो क्षेत्रमा करिब एक बिघा जमिन नगरपालिकालाई उपलब्ध गराएका हुन सो कार्यको भूमिका निभाएका टेकबहादुर विश्वकर्माले अस्पताल जाने बाटोमै अस्पताल नजिकै बक्सिसमा सो जमिन पाएको बताइएको भए पनि जग्गा दाता तुलाराम शर्मा रिजालले भने सहुलियत दरमा बिक्री गरेको बताउनुभयो । 

स्थानीय तहका रहेका जनप्रतिनिधिहरूबाट यो खालको अपेक्षा नगरिएको अवस्थामा बार्गेनिङ गरेर जग्गापास गरिएको हुँदा यो विषयमा आफूहरू पनि बोल्न बाध्य भएको नेकपा एमालेका जिल्ला सचिव पदम ढकालले बताउनुभयो । साथै उहाँले यो जनप्रतिनिधिको लुट भएको हुँदा तत्काल छानबिन हुनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका नगरसभापति हरिप्रसाद गिरीले जन प्रतिनिधिले मनोमानी गरिरहेको जग जाहेर भएको विषय भएको हुँदा यस विषयमा छानबिन हुनुपर्ने बताउँदै अस्पतालको निर्माणको नाममा बक्सिस अर्थात् उपहारमा पाएको जमिन भ्रष्टाचार हुने भएको हुँदा भ्रष्टाचार मौलाउँदै गएको बताउनुभयो । 

इता, नगर कार्यपालिका सदस्य एंव वन वातावरण तथा विपत व्यवस्थापन समिति संयोजक टेकबहादुर विश्वकर्माले भने आफूलाई राजनीतिक पूर्वाग्रही सोचका साथ उक्त आरोप लगाइएको बताउनुभयो । 


Top