कोरोनापछि तंग्रिदै शिक्षा, कहाँ–कहाँ सञ्चालन छन् विद्यालय

  POSTED ON : भदौ २३, २०७८ (१:०९ PM)

कोरोनापछि तंग्रिदै शिक्षा, कहाँ–कहाँ सञ्चालन छन् विद्यालय

दाङ । कोरोनाको संक्रमणदर निरन्तर ओरालो लाग्दै गएपछि धमाधम विद्यालय सञ्चालन हुन थालेका छन् । कोरोनाको दोस्रो लहरमा ठप्प भएका विद्यालय पछिल्लो समय पालिकाको निर्णयले सञ्चालन थालेका छन् । केही पालिका सञ्चालनको तयारीमा छन् । दाङमा शान्तिनगर, राप्ती र बबई गाउँपालिकाले विद्यालय भौतिक रूपमा सञ्चालन गरेका छन् भने सात वटा पालिका आउँदो सातादेखि विद्यालय सञ्चालनको तयारीमा रहेका छन् । बबई गाउँपालिकाले ग्रामीण क्षेत्रमा करिब दुई साता अघिदेखि विद्यालय सञ्चालन गरिरहेको भएपनि बजार क्षेत्रमा सोमबाबाट सञ्चालन गरेको गाउँपालिका अध्यक्ष भूवनेश्वर पौडेलले बताउनुभयो । ‘गाउँपालिकाले गाउँतिरका विद्यालयमा करिब दुई साता अघिदेखि विद्यालय सञ्चालन गरिसकेको छ’ उहाँले भन्नुभयोे– ‘बजार क्षेत्रमा सोमबारदेखि सञ्चालन गरेका छौँ ।’ तुलसीपुर उपमहानगर–पालिकाले तीजपछिको आइतबार भदौ २७ गतेबाट भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने तयारी गरेको नगरका शिक्षा शाखा अधिकृत चक्रबहादुर भण्डारीले जानकारी दिनुभयो । ‘केही दिनअघि नगरभित्रका शिक्षा सरोकारवालासँगको छलफलले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्नसक्ने निष्कर्ष निकालेको छ ।’ उहाँले भन्नुभयोे– ‘अब हामीले सबै कुरा जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) लाई जानकारी दिने छौँ, उहाँले अनुमति दिएपछि विद्यालय नियमितरूपमा सञ्चालनमा आउने छन् ।’

हरितालिका तीज पर्वपछि विद्यालय सञ्चालनमा आउने भएकाले विद्यालय सञ्चालनको तयारी गर्न उहाँले सबैलाई आग्रह समेत गरेका छन् । कोरोना संक्रमणदर कम भएपछि सभा, सम्मेलन, यातायात, बजार खुलिसकेको अवस्थामा विद्यालय सुरक्षित क्षेत्र हुँदा पनि कतिपय पालिका विद्यालय सञ्चालन गर्न आनाकानी गरिरहेका छन् । 

घोराही उपमहानगरपालिकाले विद्यालय सञ्चालन गर्ने तयारी गरेपनि ठोस निर्णय लिन सकेको छैन् । नगरप्रमुख नरूलाल चौधरीले कोरोना संक्रमणदर कम भइसकेको अवस्थामा विद्यालय भौतिकरूपमा सञ्चालनको तयारीमा रहेको बताउन्ुभयो । ‘विद्यालय भौतिक रूपमा सञ्चालन गर्ने विषयमा हामी गम्भीर छौँ’ उहाँले भन्नुभयो– ‘हामी डिसीसी–एमसीसँग समन्वय गरी अनुमति पाइसकेपछि विद्यालय सञ्चालन गर्नेछौँ ।’

घोराही उपमहानगरपालिका कोरोना संक्रमणको जोखिममा बढी भएका कारण पनि विद्यालय भौतिक सञ्चालन गर्नेबारे ढिलाइ भएको उहाँले वताउनुभयो । लमही नगरपालिकाले पनि तीज पर्वपछि सञ्चालन गर्ने तयारीमा रहेको छ । नगरका शिक्षा शाखा प्रमुख रविन्द्र क्षेत्रीले नगरका विद्यालय भौतिकरूपमै सञ्चालन गर्नेबारे छलफलमै रहेको बताउनुभयो । ‘कहिलेबाट सञ्चालन गर्नेबारे अहिले नै भन्न सकिदैन्, तर सकेसम्म हामीले तीजपछि सञ्चालन गर्ने गरी योजना बनाएका छौँ ।’ गढवा गाउँपालिकाले पनि विद्यालय भौतिकरूपमा सञ्चालन गर्नका लागि अझै टुंगोमा नरहेको जनाएको छ ।

गाउँपालिका अध्यक्ष सहजराम यादवले विद्यालय सञ्चालन गर्नेबारे आफूहरू तयारी अवस्थामा भएपनि अझै मिति टुंगो नभएको बताउनुभयो । बंगलाचुली, राजपुर, राप्ती र दंगीशरण गाउँपालिकाले आइतबार भदौ २७ गतेदेखि सञ्चालन गर्ने तयारी गरेका छन् । पालिकाले सिफ्ट–सिफ्टमा गरेर भएपनि विद्यालय भौतिरूपमै सञ्चालन गर्ने जनाएका छन् ।

विद्यालय सञ्चालनको अनुमति दिनसक्ने अधिकार सरकारले जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसीसीएमी) दिइसकेको छ । कोरोना संक्रमणदर, स्वास्थ्य उपचारको भौतिक अवस्था, स्वास्थ्य सुरक्षाको सावधानीको अवस्था हेरेर डिसीसीएमसीले पालिकालाई विद्यालय सञ्चालनको अनुमति दिनसक्छ । दाङमा पनि पालिकाले अवस्थालाई हेरेर विद्यालय सञ्चालन गर्नसक्ने डिसीसीएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङले बताउनुभयो । ‘सबै क्षेत्र सहज बनिसकेको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालन गर्नुपर्ने व्यापक आवाज उठ्न थालेको छ’ उहाँले भन्नुभयो भन्नुभयोे– ‘हामीले तोकिएको मापदण्ड–अनुसार विद्यालयले भौतिक कक्षा सञ्चालन गर्न सक्छन् ।’

रोल्पाको रूण्टीगढी गाउँपालिकामा आइतबारदेखि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गरेको छ । कोरोनाको दोस्रो लहरपछि करिब चार महिनापछि रूण्टीगढीले भौतिक कक्षाहरू सञ्चालन गरेको गाउँपालिका अध्यक्ष बालाराम बुढाले बताउनुभयो । ‘गाउँपालिकामा संक्रमणदर शुन्यमा झरेपछि विद्यालयमा भौतिक कक्षा सञ्चालन गरेका हौँ’ उहाँले भन्नुभयोे– ‘स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालयको भौतिक कक्षा सञ्चालन भएको छ ।’ गाउँपालिकाले बढी जनघनत्व भएका ठाउँमा विद्यालय सिफ्ट–सिफ्ट गरेर सञ्चालन गर्न थालेको छ । विद्यार्थी कम भएका विद्यालयमा नियमित कक्षा भएको अध्यक्ष बुढाले बताउनुभयो ।

प्यूठानको प्यूठान नगरपालिकामा पनि एक साता अघिदेखि नै भौतिक उपस्थितिमै विद्यालय सञ्चालनमा आइसकेका छन् । कोरोना महामारीका कारण बन्द विद्यालय बन्द हुँदा लामो समयसम्म विद्यार्थीको सिकाइ हुन नसकेपछि नगरपालिकाले सिफ्ट–सिफ्टमा विद्यालय सञ्चालन गर्न थालेको नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद पोखरेलले बताउनुभयो । कोरोना संक्रमणदर मत्थर बन्दै गएपछि अन्य जिल्लामा पनि धमाधम विद्यालय सञ्चालन हुन थालेका छन् ।


Top