पाल्पा काँग्रेसको कान्छा वडा सभापति ज्ञवाली !

रामचन्द्र रायमाझी   POSTED ON : भदौ २५, २०७८ (४:०५ PM)

  पाल्पा काँग्रेसको कान्छा वडा सभापति ज्ञवाली !

पाल्पा । काँग्रेसको १४ औं महाधिवेशनमा पुस्तान्तरणको बहस चलिरहेका बेला पाल्पामा प्रकाश ज्ञवाली कान्छा वडा सभापति बन्नु भएको छ । रामपुर नगरपालिका –३ मा २८ वर्षीय  ज्ञवाली वडा सभापति बन्नुभएको हो । उहाँलाई वडाका क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा निर्वाचित गरेका हुन् ।

जिल्लाका ८१ वटै वडामा सम्पन्न भएको अधिवेशन मध्येबाट सबै भन्दा कम उमेरका ज्ञवाली वडा सभापतिमा निर्वाचित नेपाली काँग्रेसका जिल्ला सचिव झपेन्द्र गहिरेले बताउनुभयो ।  ज्ञावली विद्यार्थी राजनीतिदेखि तरुण दल हुँदै सक्रिय राजनीतिमा लाग्दै आउनुभएको छ । नेपाल तरुण दल रामपुरका सह–सचिव समेत रहनुभएका ज्ञावलीले सानै उमेरदेखि नेपाली काँग्रेसको राजनीतिलाई नियाल्दै आउनुभएको  छ । वडा सभापतिमा निर्वाचित ज्ञावालीले आफु नामका लागि नभई कामका लागि नेतृत्वमा आएको बताउनुहुन्छ । गाउँदेखि केन्द्रसम्म राजनीतिमा बूढापुस्ता हाबी छ । महाधिवेशनमा युवापुस्ताको सहभागिता कस्तो होला ? भन्ने बहस चलिरहेकै बेला ज्ञवाली सभापति बनेपछि जिल्लाका युवाहरु उत्साहित बनेका छन् । बुढा नेताहरुको पार्टी भनेर बेला–बेला आरोप खेप्ने नेपाली काँग्रेसमा जगबाटै युवाले हस्तक्षेप गर्न थालेको भन्दै युवाहरु उत्साहित बनेका हुन् । युवा ऊर्जालाई राजनीतिको असल अभ्यासमा खर्च गर्ने वडा सभापति ज्ञवाली बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘पुराना पुस्ताका नेताबाट सिकेर नयाँ सोंचअनुसार राजनीतिलाई जनतासँग जोड्ने हो,।’ राजनीतिलाई फोहोरी खेल भनेर युवाहरु तर्किने होइन, सफा गर्नें हिम्मत गर्ने हो र त्यो पार्टीभित्रैको संघर्षबाट गर्ने हो भन्ने सन्देश दिनकै लागि पनि आफु वडाको नेतृत्वमा आएको ज्ञवालीको भनाई छ । 



Top