पाल्पामा नेकपा (एस) को जिल्ला कमिटी घोषणा

रामचन्द्र रायमाझी   POSTED ON : भदौ २६, २०७८ (७:३१ PM)

पाल्पामा नेकपा (एस) को जिल्ला कमिटी घोषणा

पाल्पा ।  पाल्पामा पनि नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी) गठन भएको छ ।  नेकपा (एस) ले शनिबार तानसेनमा भेला गरी जिल्ला कमिटी घोषणा गरेको हो । 

भेलाले नेकपा एसको जिल्ला अध्यक्षमा खिमानन्द पाण्डे (कमल) लाई चयन गरेको छ । पाण्डेको अध्यक्षमा १ सय २५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ । केन्द्रिय सदस्य एवं संघीय सांसद सोमप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा समाजवादीले जिल्ला कमिटी घोषणा गरेको हो ।

जिल्ला कमिटीको उपाध्यक्ष रमा घर्ती, सचिवमा मोहन लाल गैरे, उपसचिवमा कमल सेन चयन भएका छन् । कार्यक्रममा नेकपा एसका केन्द्रिय सदस्य सोम प्रसाद पाण्डेले पार्टी फुटबाट बचाउन अन्तिम प्रयासमा जुटेको भएपनि केपी ओलीको दम्भ घमण्ड र व्यक्तिवादी सोचका कारण असफल भएको बताउनुभयो । भदौ ८ गते राती १२ बजे सम्म केपी ओलीसँंग बालकोटमा वार्ता गरी तत्काल माधव नेपाल लगायतलाई गरिएको कारवाही फिर्ता भएको भए पार्टीमा विद्रोह गर्ने अवस्था आउने थिएन र भदौ ९ गते एकिकृत समाजवादी गठन हुने थिएन, यसको लागि आफुले अन्तिमसम्म प्रयास गरेको सांसद पाण्डेले बताउनुभयो । एकिकृत समाजवादीलाई देशको ठूलो पाटी बनाएर जाने सांसद पाण्डेले दावी गर्नुभयो ।

घोषणा सभामा सल्लाहकार  समितिका संयोजक लेखनाथ पोखरेल, प्रदेश सांसद रमा घर्ती,  नेकपा एसका रुपन्देही सचिव सिद्धिचरण भट्टराई, दैनिक पत्रका प्रधान सम्पादक बालकृष्ण चापागाई, त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्यम्पस प्रमुख कृष्ण कार्की, प्राध्यापक भेषराज सुवेदी, प्याव्सनका पूर्व जिल्ला अध्यक्ष मिन प्रसाद बञ्जाडे लगायतले नेकपा एमालेबाट विद्रोह गरी एकिकृत समाजवादीमा लाग्नु परेको बारे आ–आफ्ना धारणा राख्नुभएको थियो ।


Top