प्रविधिले चिठी लेखनी घट्यो–टिकट बिक्रिबाट ४६ लाख आम्दानी

विवेक खड्का   POSTED ON : भदौ ३०, २०७८ (३:१७ PM)

प्रविधिले चिठी लेखनी घट्यो–टिकट बिक्रिबाट ४६ लाख आम्दानी

दाङ । पछिल्लो समय प्रबिधिको विकाससंगै हुलाक कार्यालय मार्फत आदान–प्रदान हुने व्यक्तिगत चिठीपत्रमा कमी आएको छ । एक ठाउँको सन्देश अर्को ठाउँमा पठाउँनको लागि इन्टरनेट र मोबाइल फोन सजिलो माध्यम भएकाले व्यक्तिलाई पठाउने चिठीमा कमी आएको हो । व्यक्तिको नाममा दैनिक करिव १० प्रतिशत मात्र चिठीपत्र आउने गरेको जिल्ला हुलाक कार्यालय दाङका प्रमुख सोभाराम बस्नेतले जानकारी दिनुभयो । धेरै जसो सरकारी कार्यालयका चिठीपत्रहरु आदान–प्रदानको काम हुने उहाँकोे भनाई छ । ९० प्रतिशत विभिन्न पत्र संघसंस्था तथा सरकारी कार्यालयका आउने गरेको उहाँको भनाई रहेको छ ।

हाल दैनिक सरदर दुईसय चिठी आउने गर्दछन् । दाङका उपमहानगर, नगर, गाउँपालिका तथा वडाका पत्रहरु आउने उहाँले वताउनुभयो । अन्य चिठी आउन छोडेपनि हुलाकको काम भने घटेको छैन् । प्रबिधिको विकाससंगै नयाँ काम तथा क्षेत्राधिकार बढेको प्रमुख बस्नेतको भनाई छ । हाल केही बर्ष यता सूचनाको हक कार्यान्वयन सम्बन्धि अनुगमन तथा रिर्पोटिङ, प्रेस प्रतिनिधि प्रमाण पत्र र अनलाइन सञ्चारमाध्यम, छापा माध्यमहरुको लोक कल्याणकारी विज्ञापनको पैसा भुक्तानीको काम हुलाक कार्यालयले गर्ने जिम्मेवारी बढेको बस्नेतले जानकारी दिनुभयो ।

यि कार्यक्रमका लागि हुलाक कार्यालयले काम सुरु गरेको छ । योभन्दा अगाडी भने चिठीपत्र आदान प्रदान, बचत बैंक सेवा, पाँच सयबाटसम्मको रेडियोको नविकरण सेवालगायतका सेवा संचालन गर्दे आएको थियो । जिल्ला हुलाक कार्यालयले बचत बैंक सेवा संचालन गर्दे आएको छ । जसमा तीन करोड, ३५ लाख पाँच हजार एक सय ९८ रुपैँया नगद जम्मा भएको छ, भने दुई करोड ४६ लाख, ३५ हजार ९ सय ४५ रुपैँया भुक्तानी गरिएको छ ।

चिठी इन्क्वायरी सिष्टम

जिल्ला हुलाक कार्यालयले चिठी इन्क्वायरी सिष्टम लागू गरेको छ । यसले पठाएका चिठी हराउने समस्याको समाधान गर्नेछ । विगतमा पठाएका चिठी हराएको गुनासो धेरै आएकोले यस्तो सुविधा सुरु गरिएको हो । आर्थिक बर्ष २०७६ साउन महिनाबाट चिठी इन्क्वायरी सेवा सुरु गरिएको जिल्ला हुलाक कार्यालय दाङले जनाएको छ ।

यो सिष्टम अन्तर्रगत हुलाकमार्फत चिठी पठाएका व्यक्तिहरुले आफुले पठाएको पत्र कहाँ गयो कस्तो अवस्थामा छ भनेर घरमै बसेर जानकारी पाउन सक्नेछन् । कार्यालय प्रमुख बस्नेतले पोष्टल इन्टरनल टे«किङ सिष्टमवाट चिठीको अवस्थाको बारेमा थाहाँ पाउन सकिने जानकारी दिनुभयो ।

५७ लाख बढी राजश्व

जिल्ला हुलाक कार्यालय दाङमा ५७ लाख ७७ हजार पाँच सय १२ रुपैँया राजश्व संकलन भएको छ । गत आर्थिक बर्ष २०७७÷०७८ मा उक्त राजस्व संकलन भएको कार्यालयले जनाएको छ । हुलाक टिकट विक्रीबाट ४५ लाख ९९ हजार चार सय ५५ रुपैँया, पार्सल भुक्तानी आम्दानीवाट ४८ हजार आठ सय ६ रुपैँया, रेडियो रोयल्टीवाट ७१ हजार एक सय ३८ रुपैँया संकलन भएको कार्यालय प्रमुख शोभाराम बस्नेतले जानकारी दिनुभयो ।

यस्तै पत्रिका नविकरणवाट एक हजार १०, पोष्टबक्स नविकरण तीन हजार, केवुल नविकरण २५ हजार रुपैँया, काउन्टर अटोमेसिन आम्दानी एक लाख ९९ हजार पाँच सय ८५, केबूल रोयल्टी वाट ६ लाख ७८ हजार दुई सय ८५, एफएम रेडियो इजाजत नविकरणबाट चारहजार रुपैँया राजश्व संकलन भएको हो । यस्तै घरबहाल आम्दानी एक लाख ४५ हजार दुई सय ३४ रुपैँया, एफएम रेडियो लाइसेन्स नविकरणबाट दुई हजार राजश्व संकलन भएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिनुभयो ।


Top